क्षेत्र नम्बर ६ मा सुरक्ष्ाँकर्मीको ओइरो
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ०१ । आगामी मंसिर ४ गते हुने संविधान सभा निर्वाचनका लागि जिल्लाकै अति संवेदनशिल मानिएको क्षेत्र नं. ६ मा जिल्ला स्थित सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट जिल्लामा तीनहजार पाँचसय भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन भएकामा क्षेत्र नं. ६ मा मात्रै त्यसको आधा हाराहारी रहेका छन् । अन्य क्षेत्रमा प्रहरी हबल्दारको समेत ‘कमाण्ड’ रहने भएपनि जिल्ला प्रहरी कार्यालयले क्षेत्र नं. ६ अन्तर्गतका मतदान केन्द्रहरु रहने सम्पूर्ण मतदान स्थलको ‘कमाण्डर’ जुनियर प्रहरी अधिकृतलाई नै तोकेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले संवेदनशिलताका आधारमा क्षेत्र नं. ६ को सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको बताए । ‘‘जिल्लामै अति संवेदनशिल क्षेत्र रहेकाले ६ नं. मा बढी ध्यान दिएका छौं ।’’ प्रजिअ घिमिरेले भने–‘‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट अन्य क्षेत्र भन्दा ६ नं. मा बढी सुरक्षाकर्मीहरु परिचालन भएको छ ।’’
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले जिल्लाकै सुरक्षा व्यवस्था कडा बनाईएको उल्लेख गर्दै क्षेत्र नं. ६ मा थप सजगता एवं बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘‘सुरक्षा व्यवस्था कडाईमा कुनै कञ्जुस्याँई गरिएको छैन ।’’ उनले भने ।
नेपाल प्रहरीले डिएसपी कृष्ण पंगेनीको नेतृत्वमा क्षेत्र नं. ६ को सुरक्षा व्यवस्था मिलाएको छ । उक्त क्षेत्रमा हरेक मतदान केन्द्रमा जुनियर प्रहरी अधिकृत (प्रहरी नायव निरिक्षक र प्रहरी सहायक निरिक्षक) लाई नै सुरक्षा इन्चार्ज राखेको छ । अन्य क्षेत्रमा प्रहरी हबल्दारकै कमाण्डमा सुरक्षाकर्मीहरु परिचालन हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयले क्षेत्र नं. ६ अन्तर्गत ८३ वटा मतदान केन्द्र रहेका ५५ मतदान स्थलमा नै जुनियर अधिकृतको कमाण्डमा सुरक्षाकर्मी खटाएको छ । उक्त क्षेत्रमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) नै एक दर्जन हाराहारीमा खटिएका छन् । निर्वाचन अघि इलाका प्रहरी कार्यालय गढैयामा मात्र इन्स्पेक्टर रहने गरेका थिए । ‘‘अधिकृत तहका सुरक्षाकर्मी नै एकदर्जन हाराहारीमा खटाएका छौं ।’’ प्रहरी उपरीक्षक धानुकले भने ।
अति संवेदनशिलतालाई ध्यानमा राख्दै नेपाली सेनाले समेत क्षेत्र नं. ६ मा थप एउटा क्याम्प स्थापना गरेको छ । गत विहिबार वेल्वाजब्दीमा एक क्याम्प स्थापना गरिएको रिपुमर्दन गण नवलपुरका गणपति मनोज वैदवारले बताए । यसअघि खैर्वामा मात्र सेनाको क्याम्प रहेको थियो । नेपाली सेनाको अन्य क्षेत्रमा भने एक–एकवटा मात्र इकाई रहेको छ ।
सशस्त्र प्रहरीले पनि मधुवनी, सिसौटमा बेसक्याम्प राखेको छ भने बाराउद्योरण र मनुष्मारा क्याम्पले समेत ६ नं. क्षेत्रमा सुरक्षा व्यवस्था हेर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक भरत बस्नेतले बताए ।
सुरक्षा व्यवस्था हेर्ने मुलुककै महाअभियानको रुपमा रहेको निर्वाचन असफल पार्न हुने क्रियाकलाप विरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रजिअ घिमिरेले बताए । नेपाल प्रहरीको पहिलो घेरा, सशस्त्र प्रहरीको दोस्रो घेरा र नेपाली सेनाको तेस्रो घेरामा जिल्लाभर गस्ती भईरहेको र संवेदनशिल स्थानहरुलाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ राखिएको समेत प्रअिज घिमिरेको कथन छ ।
गत संविधान सभा निर्वाचनमा १३ वटा मतदान केन्द्रको निर्वाचन रद्ध हुनु, एक उम्मेद्वारको विष्फोटबाट मृत्यु हुनु, विभिन्न राजनैतिक दलका नेता–कार्यकर्ताहरुबीच पटक–पटक झडप हुनु र भारतीय सिमाक्षेत्र नजिक भएकाले घातक हतियारकै चलखेल हुन सक्ने भएकाले क्षेत्र नं. ६ लाई अति संवेदनशिल मान्दै सुरक्षाकर्मीको संख्या अन्य क्षेत्रको तुलनामा बढाएको हो । क्षेत्र नं. ६ मा ‘बुथ क्याप्चर’ हुने, धाक धम्की दिएर भोट खसाल्न लाउने, हतियार देखाएर तर्साउने लगायतका कारण स्वच्छ, भयरहित र निश्पक्ष चुनावप्रति विभिन्न संघसंस्था एवं व्यक्तिहरु सहित मतदाता स्वयंले पनि आशंका व्यक्त गरिरहेकाले जिल्ला स्थित सुरक्षा निकायहरुले उक्त क्षेत्रको सुरक्षा व्यवस्थामा बढी ध्यान दिएको एक सुरक्षा अधिकारीले बताए ।
नागरिक समाजका अगूवा उग्रकान्त झा क्षेत्र नं. ६ अति संवेदनशिल क्षेत्र रहेकाले जिल्लाको अन्य क्षेत्रको तुलनामा सुरक्षा निकायले बढी सजग हुनुपर्ने बताउँछन् । उनले पर्यवेक्षणमा खटिएका टोली, संचारकर्मी लगायत स्वतन्त्र संघ संस्था लगायत व्यक्तित्वहरुको टोलीले समेत क्षेत्र नं. ६ लाई बढी ‘वाच’ गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
No comments:
Post a Comment