‘गोली हान्ने’ टोली परिचालन
सर्लाही समाचारदाता
मलंगवा, मङसिर १ । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले आगामी संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्था अन्तर्गत जिल्लाभर अधिकार सम्पन्न १८ वटा टोली परिचालन गरिने बताएका छन् ।
६ वटै निर्वाचन क्षेत्रमा ३–३ वटाको दरले आईपरे गोली हान्ने सम्मको अधिकारप्राप्त टोली आइतबारबाट परिचालन गरिने बताएका छन् । निजामति सेवाका अधिकृतको नेतृत्व रहने सो टोलीमा सुरक्षाकर्मीहरु रहनेछन् । ‘‘उक्त टोली अधिकार सम्पन्न हुनेछ ।’’ प्रजिअ घिमिरेले सर्लाही दैनिकसँग शनिबार भने–‘‘शान्ति सुरक्षा कायम गर्न मलाई भएजति सबै अधिकार प्रत्यायोजन गरिनेछ ।’’ सो टोली आफू खटिएको क्षेत्रमा आईतबारदेखि मंगलबारसम्म सकृय रहनेछ ।
प्रजिअ घिमिरेका अनुसार सो टोलीले आफू खटिएको क्षेत्रमा शान्ति सुरक्षाको अनुगमन, समन्वय, तत्काल कार्वाही, कमाण्ड पोष्टलाई जानकारी गराउने लगायत कामहरु गर्नेछ । निर्वाचन नै भाँड्ने खालका गतिविधी भएमा उक्त टोलीमा रहेका अधिकृतले सुरक्षाकर्मीलाई गोली समेत चलाउन आदेश दिन सक्नेछन् । स्थानीय प्रशासन ऐन अनुसार गोली चलाउने आदेश प्रमुख जिल्ला अधिकारीले मात्र दिन सक्ने व्यवस्था रहेको छ ।
No comments:
Post a Comment