Sunday, November 17, 2013

नामावलीमा गम्भिर त्रुटी ः मतदानबाट हजारौं वञ्चित

नामावलीमा गम्भिर त्रुटी ः मतदानबाट हजारौं वञ्चित
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २ । निर्वाचन आयोगबाट आएको मतदाता नामावली एवं मतदाता परिचय पत्रमा गम्भिर त्रुटी देखिएको छ । आगामी संविधान सभा निर्वाचनमा मतदाता बन्नका लागि फोटो सहित विवरण संकलन गराए पनि मतदाता नामावलीमा नाम नपरेको गुनासो सर्वसाधारणले गरेका छन् । कतिपय सर्वसाधारणको त आÇनो गाउँ भन्दा धेरै टाढाको गाविसमा रहेको मतदान केन्द्रमा नामावली परेको छ । जिल्ला स्थित धेरै सर्वसाधारणहरुको त्यस्तो भएको बताईएको छ । फोटो सहितको मतदाता नामावलीका लागि फोटो खिचाएका धेरैको मतदाता परिचय पत्र नआउँदा उनीहरु मुलुककै भाग्य कोर्ने संविधान सभामा आÇनो प्रतिनिधि छान्ने अवसरबाट बञ्चित हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले आइतबार दिनभर फोटो खिचाएको अर्धकट्टी बोकेर धेरै मतदाता मतदाता नामावलीमा नाम नभएको भन्दै गुनासो गर्न आएको बताए । ‘‘आज दिनभर धेरैजना अर्धकट्टी लिएरै मलाई गुनासो गर्न आउनुभएको थियो ।’’ आइतबार सर्लाही दैनिकसँग अधिकारीले भने–‘‘के गरी त्यस्तो भयो, ठूलै समस्या देखियो ।’’ नाम दर्ता गराएका सर्वसाधारणको मतदाता नामावलीमा नाम नभएपछि जिल्ला स्थित निर्वाचन सम्बद्ध अधिकारीहरुको टाउको दुःखाई बनेको छ । जिल्लाका विभिन्न गाउँहरुबाट नाम नपरेको गुनासो आईरहेकाले विवरण लेखाएर फोटो खिचाएपनि मतदाता नामावलीमा नाम नपर्नेहरुको संख्या हजारौं रहेको अनुमान गरिएको छ ।
हेमपुर गाविस–२ पचगछियाका रामदिनेश रायले आफूले फोटो खिचाएर विवरण टिपाएको भएपनि मतदाता नामावलीमा नाम नपरेको गुनासो गरे । ‘‘गाउँमै आएको टोलीमा २०६८ सालमै फोटो खिचाएको थिएँ ।’’ अर्धकट्टी हातमा बोकेर मलंगवामा भेटिएका रायले गुनासो गरे–‘‘तर अहिले मतदाता नामावलीमा नाम छैन र परिचय पत्र पनि छैन ।’’ रायका अनुसार उनकी आमा दुःखीया देवी रायको नाम पनि मतदाता नामावलीमा छैन । रायले फोटो खिचाएका गाउँका धेरैको नाम मतदाता नामावलीमा नरहेको बताए ।
त्यस्तै लालबन्दी गाविस–१ का चित्रबहादुर बुढाथोकीले आÇनो परिवारका ६ जना सबैले फोटो खिचाएको भएपनि ५ जनाको नाम नामावलीमा नआएको दावी गरे । लालबन्दी–१ का उद्यव कृष्ण वैद्यको परिवारका ७ जनाले फोटो खिचाएपनि ५ जनाको छुटेको बताईएको छ । लालबन्दी–१ कै ठेसबहादुर कार्कीका ६ जनामा ५ जनाको नाम परेको छैन । शेखर भण्डारीको परिवारका ८ जनाले खिचाएपनि ७ जनाको नाम नामावलीमा नपरेको उनले बताए । त्यस्तै नेत्रगंज गाविस–२ का पुण्डरी पोखरेलको परिवारका ६ जनाले फोटो खिचाएपनि ३ जनाको मात्र नामावलीमा नाम परेको बताईएको छ । हरिवन, मलंगवा, इश्वरपुर, हरिपुर, नेत्रगंज लगायत जिल्लाका विभिन्न गाविसका बासिन्दाको फोटो खिचाएर पनि मतदाता नामावलीमा नाम नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
निर्वाचन कार्यालय प्रमुख अधिकारीले नामावलीमा नाम छुटेको बारे माथिल्लो निकायमा जानकारी गराएको र केहीको हकमा प्mयाक्स समेत आएको बताए । ‘‘माथिल्लो निकायमा जानकारी गराएको छु ।’’ आइतबार राती उनले भने–‘‘नामावलीमा छुट भएका ९३ जनाको नाम थप भएको प्mयाक्स आजै आएको छ ।’’ छोटो समय भएकाले व्यवस्थापनमा कठिनाई आईपरेको समेत उनले बताए । जिल्ला वा केन्द्र कहाँबाट त्रुटी भएको हो भन्ने बारे थाहा पाउन नसकिएको समेत अधिकारीले जनाए । ‘‘सर्वसाधारणबाटै पनि त्रुटी भएको हुन सक्छ ।’’ उनले भने–‘‘फारम भरेर अर्धकट्टी लिएर मात्र फोटो नखिचाएको भएपनि नामावलीमा नाम नपर्न सक्छ ।’’ कतिपय सर्वसाधारणको नाम निर्वाचन आयोगको सर्भरमा देखिएपनि मतदाता नामावलीमा भने नरहेको समेत भेटिएको बताईएको छ । फोटो सहितको मतदाता नामावली विवरण संकलनका खटिएका कर्मचारीबाटै गल्ती भयो कि कार्यालयबाट भन्ने कुरा अलमल्लमा परिएको अधिकारीले बताए ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले पनि धेरै सर्वसाधारणबाट मतदाता नामावलीमा नाम छुटेको बारे गुनासो आएको बताए । ‘‘कसरी त्यस्तो भएछ, अन्तिम समयमा थाहा हुँदा समस्या देखिएको छ ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारीले भने–‘‘यदि फोटो खिचाएर विवरण संकलन समेत गराएको भए त्यस्ता सर्वसाधारणले संविधान सभाको निर्वाचनमा मत हाल्नबाट वञ्चित हुनु साह्रै दुःख लाग्दो कुरा हो ।’’
प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले पनि फोटो खिचाएका मतदाताको नामावलीमा नाम छुटेको गुनासो सर्वत्र आईरहेको बताए । नाम छुटेको बारेमा सम्बन्धित निकायमा जानकारी गराउने काम भईरहेको उल्लेख गर्दै प्रजिअ घिमिरेले छोटो समय भएकाले समस्या भईरहेको जनाए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ३ लाख २० हजार ६ सय ४९ जना मतदाताको परिचय पत्र आएको छ ।

No comments:

Post a Comment