Friday, November 15, 2013

निर्वाचनमा खट्ने कर्मचारी प्रशासन घेराउमा

निर्वाचनमा खट्ने कर्मचारी प्रशासन घेराउमा
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २९ । तालिम बापतको भत्ता कम भएको भन्दै आगामी संविधान सभा निर्वाचनका लागि तोकिएका मतदान अधिकृत एवं सहायक अधिकृतले शुक्रबार सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
निर्वाचन आयोग अन्तर्गतको जिल्ला स्थित निकायले निर्वाचनमा खटेका कर्मचारीको सुविधा र भत्तामा अनियमितता गरेको बिरोधमा कर्मचारीहरुले आज बिहानै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन । आफुहरुले पाउनु पर्ने सुविधाहरु पारदर्शी गर्नु पर्ने माग गर्दै कर्मचारीहरुले नाराबाजीका साथ जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । छिमेकि जिल्ला रौतहट र महोत्तरीमा तालिम भत्ता र निर्वाचन गराउन उपलब्ध गराइने रकमको तुल्नामा सर्लाहीमा कम रहेको कर्मचारीहरुले दावी गरेका छन् ।
ती कर्मचारीहरुका अनुसार छिमेकी जिल्लामा दुई दिने तालिमको ४९ सय ५० रुपैया उपलब्ध गराइएको छ भने सर्लाहीमा २८ यस ५० मात्र उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले निर्वाचनमा खटिए बापत पाउने सेवा सुविधा पारदर्शी गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको थियो । प्रजिअ घिमिरेले पारदर्शीता लगायत विषयमा तत्काल सहमति गरेर समस्या समाधान गरिएको बताए ।
नागरिक समाजका अगुवा उग्रकान्त झाले सम्बन्धित निकायले पारदर्शी ढंगले काम नगर्दा समस्या आएको बताए । ‘‘काममा पारदर्शीता अपनाएको भए यस्तो हुदैनथ्यो ।’’ उनले भने । सबै कर्मचारीहरुलाई समान ढंगले ‘टिएडिए’ सहित भत्ता लगाएतका सुविधा दिन खोज्दा केही कमि जस्तो देखिए पनि कुनै अनियमितता नभएको निर्वाचन कार्यालय स्रोतले दावी ग¥यो ।
मतदान केन्द्रमा खटिने कर्मचारीहरु आन्दोलनमा उत्रदा निर्वाचन तयारी प्रभावित भएको छ ।

No comments:

Post a Comment