जब्दीका मतदाताको नाम कविलासीमा
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २ । निर्वाचन आयोगको मतदाता परिचय पत्रमा भएको त्रुटीका कारण जब्दी गाविसका १४ जनाले आगामी संविधान सभा निर्वाचनका लागि कविलासी गाविस जानुपर्ने भएको छ ।
जब्दी गाविस–५, हरिभवनका १४ जना मतदाताको नाम कविलासी गाविस–५ ठेगाना भनेर मतदाता परिचय पत्र आएको छ । जब्दी गाविसका एमाले नेता मानबहादुर खड्काका अनुसार जब्दी गाविस–५ का सन्तोषी बुढाथोकी, शम्भु गौतम, भवानी थापा, टिकामाया कार्की, पशुपति दाहाल, समबहादुर मगर लगायत १४ जनाको नाम कविलासी गाविस–५ ठेगाना एवं अस्थायी प्रहरी चौकी कविलासी मतदान केन्द्रको नामावलीमा परेको छ ।
जिल्ला स्थित अन्य धेरै गाउँका मतदाताको पनि टाढाको गाविसमा भोट हाल्ने गरी नाम परेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले पनि कतिपय मतदाताको नाम फरक गाविसमा परेको भनेर आफूलाई गुनासो आएको बताए । ‘‘गम्हरियाका एकजना युवाको गडहिया गाविसमा भोट हाल्ने गरी मतदाता परिचय पत्रमा उल्लेख भएको रहेछ ।’’ उनले आइतबार सर्लाही दैनिकसँग भने–‘‘विचरा उ मकहाँ गडहिया कसरी जानु भन्दै गुनासो गर्न आएको थियो ।’’
मतदानको दिन अनुमति बाहेकका सवारी साधन नचल्ने भएका कारण उनीहरु भोट हाल्नका लागि कि त ३ गते सोमबार देखि नै कविलासी जानुपर्ने हुन्छ, कि त भोट हाल्नबाट वञ्चित हुनु पर्नेछ । मतदानकै दिन जाँदा र फर्किदा जब्दी निवासी उनीहरुले २० किलोमिटर भन्दा बढी दुरी पैदल तय गर्नुपर्ने हुन्छ । भोट हाल्नैका लागि गडहिया पुग्नुपर्ने गम्हरियाका ती यूवाले त झन बढी नै सकस बेहोर्नु पर्ने हुन्छ ।
No comments:
Post a Comment