Thursday, November 28, 2013

‘एक नहुँदा मधेशवादीको पराजय’

‘एक नहुँदा मधेशवादीको पराजय’
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १३ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले चुनावी तालमेल हुन नसक्दा संविधान सभाको दोस्रो निर्वाचनमा मधेशवादी शक्तिहरु नराम्रोसँग पराजीत हुनुपरेको बताएका छन् ।
क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई पराजीत गर्न सफल तमसपा नेपालका अध्यक्ष यादवले मधेशवादी दलहरुबीच एकता हुन नसक्दा संघीयतावादी शक्ति हरुसमेत कमजोर भएको स्वीकार गरे । ‘‘मधेशवादी शक्तिहरु एकआपसमा मिल्न नसक्दा स्वभाविक रुपमा हामी कमजोर भएका छौं ।’’ विजयी भएपछि मलंगवा नगरपालिकामा घरदैलौ गर्दै गरेको यादवले सर्लाही दैनिकसँग विहिबार भने–‘‘तर हाँमी मधेशको मुद्धाप्रति संवेदनशिल छौं ।’’
जनताले चाहे अनुसारको निश्पक्ष रुपमा निर्वाचन नभएको समेत अध्यक्ष यादवले दावी गरे ।  ‘‘निर्वाचनमा जनताले चाहे अनुसारको निश्पक्षता अनुभुती गर्न सकेनन् ।’’ उनले भने–‘‘कतिपय ठाउँमा धाँधली भएको प्रमाण समेत भेटिएको छ, निश्पक्ष रुपमा छानवीन हुनुपर्छ ।’’ सर्लाहीको क्षेत्र नं. ३, ६  लगायतमा पनि धाँधली भएको उनको दावी थियो ।
सम्पन्न निर्वाचनबाट संघीयता पक्षधर शक्तिहरुको पराजयले केही अन्यौलता समेत छाएको अध्यक्ष यादवले बताए । ‘‘जातीय अग्राधिकार हैन, जातिय पहिचान मुख्य कुरा हो ।’’ एकल जातीय आधारमा आफूहरुले संघीयता नमागेको दावी गर्दै अध्यक्ष यादवले भने–‘‘जातीय पहिचानको मुद्धा हामी कहिल्यै पनि छाड्दैनौं ।’’ ठूला दलहरुले पनि जातीय मोर्चा खोलेर जातीय पहिचानको मुद्धालाई आत्मसाथ गरिसकेको उनले प्रश्ट्याए ।
जुनसुकै शक्तिको बहुमत वा दुईतिहाई पुगेपनि सहमतिको आधारमा नयाँ संविधान जारी हुनुपर्ने अध्यक्ष यादवको तर्क थियो । ‘‘सहमतिको आधारमा नयाँ संविधान बन्नुपर्छ ।’’ उनले भने–‘‘संघीयताको विषयमा समेत व्यापक छलफल हुनुपर्छ, आवश्यक परे संविधानको धार उपधार परिवर्तन गरेर पनि सहमतिय वातावरण तयार गर्नुपर्छ ।’’
आफूलाई विजयी बनाउने क्षेत्र नं. ४ का मतदातालाई धन्यवाद दिदै तमसपा अध्यक्ष यादवले समग्र मधेश र मधेशमा बसोबास गरिरहेका जनताको हक अधिकार सुनिश्चितताका लागि अनवरत लडिरहने बताए ।
उनले समग्र सर्लाही सहित क्षेत्र नं. ४ को विकास निर्माणमा समेत उचित ध्यान दिने प्रतिबद्धता जनाए ।

No comments:

Post a Comment