Tuesday, November 26, 2013

संविधान सभा निर्वाचन सम्पन्न, ७० प्रतिशत मतदान

संविधान सभा निर्वाचन सम्पन्न, ७० प्रतिशत मतदान
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ४ । संविधानसभाको दोस्रो निर्वाचन अन्तर्गत मतदान कार्य सर्लाहीमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको सम्बन्धित अधिकारीहरुले जनाएका छन् । केही छिटफुट घटना बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले बताए । ‘‘मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारीले सर्लाही दैनिकसँग भने–‘‘केही छिटफुट घटना बाहेक जिल्लाभर शान्तिपूर्ण मतदान भएको छ ।’’ विगतमा जस्तो ‘वुथ क्याप्चर’ का घटना पनि यसवर्ष नभएको र कुनै पनि मतदान केन्द्र भित्र अप्रिय घटना नभएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । कतिपय मतदान केन्द्रहरुमा ‘बुथ क्याप्चर’ भएको विभिन्न राजनैतिक दलहरु एवं तिनका नेताहरुबाट दावी आएपनि त्यसको आधिकारिक रुपले पुष्टि हुन सकेको छैन । नेकपा–माओवादीको बहिष्कार र चक्काजामका बाबजुद शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरले बताए । धनकौल (प.) गाविस स्थित पशु सेवा भवन मतदान केन्द्र नजिक गोली चलेर केही स्थानीय बासिन्दा घाईते भएका, बलराका मदरसा र जब्दी मतदान केन्द्रमा होहल्लाका कारण तनाव भई केहीबेर मतदान कार्य स्थगित बाहेक जिल्ला स्थित ५ सय ५ वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ । क्षेत्र नं. ६ मा विगतका निर्वाचनहरुमा मतदानको दिन हुने हिंसात्मक कार्य एवं ‘बुथ क्याप्चर’ जस्ता घटनाहरु यसपटक भने नभएको स्थानीय प्रशासनले दावी गरेको छ । कुनैपनि मतदान केन्द्रमा स्थगित भई पूनः मतदान कार्य गराउनुपर्ने अवस्था नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न गर्न जिल्लाभर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३ हजार ५ सय भन्दा बढी सुरक्षाकर्मीहर परिचालन भएका थिए भने ६ हजार हाराहारीमा कर्मचारीहरु परिचालन भएका थिए । सर्लाहीमा ७० प्रतिशत भन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको र एकिन तथ्यांक भने बुधबार मात्र आउने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।

No comments:

Post a Comment