Sunday, November 17, 2013

१८ टोली खटियो

१८ टोली खटियो
सर्लाही समाचारदाता
मलंगवा, मङसिर १ । आगामी संविधान सभा निर्वाचनको तयारी एवं सुरक्षाको अवस्थाबारेमा प्रभावकारी अनुगमन गर्ने गरी जिल्ला प्रशासन कार्यालयलबाट खटिएको १८ वटा टोलीले आइतबारबाट काम सुरु गरेको छ ।
क्षेत्र नं. १ अन्तर्गत वरिष्ठ बागवानी विकास अधिकृत राकेश कुमार ओझा, जिल्ला वन अधिकृत रामपृत मौर्य र सागरनाथ वन विकास परियोजना प्रमुख हेमलाल अर्याल खटिएका छन् भने क्षेत्र नं. २ मा प्रशासकिय अधिकृत प्रकाशप्रसाद पोखरेल, प्रशासकिय अधिकृत छविलाल विक, घरेलु  उद्योग अधिकृत मधुकर साह खटिएका छन् ।
त्यस्तै क्षेत्र नं. ३ मा वागमति सिचाई आयोजना प्रमुख रामानन्दप्रसाद यादव, उपसचिव मदन पराजुली र वागमति सिचाई आयोजनाका लेखा उपसचिव शिव प्रसाद अधिकारी छन् भने क्षेत्र नं. ४ मा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, प्रशासकिय अधिकृत पवन सुवेदी, प्रशासकिय अधिकृत चुडामणि आपागाँईलाई खटाईएको छ ।
त्यस्तै क्षेत्र नं. ५ मा जिल्ला शिक्षा अधिकारी राजकुमार विक, वरिष्ठ पशु चिकित्सक जगवीर यादव र प्रमुख मालपोत अधिकृत दिर्घनारायण पौडेल तथा क्षेत्र नं. ६ मा भन्सार अधिकृत टिकाराम भुसाल, स्थानीय विकास अधिकारी उमेश बस्नेत र कोलेनिका प्रमुख केशवराज सुवेदी खटिएका छन् । उनीहरुलाई क्षेत्र अन्तर्गतका विभिन्न गाविसलाई तीन भागमा छुट्ट्याएर अनुगमन एवं समन्वय गर्ने जिम्मा दिईएको प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले बताए ।
प्रजिअ घिमिरेका अनुसार सो टोलीले आफू खटिएको क्षेत्रमा शान्ति सुरक्षाको अनुगमन, समन्वय, तत्काल कार्वाही, कमाण्ड पोष्टलाई जानकारी गराउने लगायत कामहरु गर्नेछ । निर्वाचन नै भाँड्ने खालका गतिविधी भएमा उक्त टोलीमा रहेका अधिकृतले सुरक्षाकर्मीलाई गोली समेत चलाउन आदेश दिन सक्नेछन् । प्रजिअ घिमिरेले उक्त टोलीलाई गोली चलाउन आदेश दिने सहितको अधिकार प्रत्यायोजन गरेर खटाईएको बताए । स्थानीय प्रशासन ऐन अनुसार गोली चलाउने आदेश प्रमुख जिल्ला अधिकारीले मात्र दिन सक्ने व्यवस्था रहेको छ ।
आइतबार अपरान्ह टोलीमा खटिने अधिकारीहरुलाई प्रमुख जिल्ला अधिकारी घिमिरेले जिम्मेवारी एवं आवश्यक निर्देशन दिएका थिए । सोमबार र मंगलबार थप प्रभावकारी ढंगले अनुगमन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।

No comments:

Post a Comment