Wednesday, November 27, 2013

एक पूर्व प्रधानमन्त्री सहित नौ पूर्व मन्त्रीले हारे

एक पूर्व प्रधानमन्त्री सहित नौ पूर्व मन्त्रीले हारे


टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १२ । भर्खरै सम्पन्न भएको संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीका विभिन्न क्षेत्रमा पत्यक्षतर्फ उम्मेद्वारी दिएका एक पूर्व प्रधानमन्त्री सहित ९ जना पूर्व मन्त्री (राज्य मन्त्री÷सहायक मन्त्री समेत भएका) व्यक्तित्वहरुले हारेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले क्षेत्र नं. १ मा तथा विभिन्न समयमा मन्त्री भएका राजनैतिक व्यक्तित्वहरु महन्थ ठाकुर, राजेन्द्र महतो, बद्री न्यौपाने, मोहम्मद् रिजवान अन्सारी, मिना पाण्डे, रामचन्द्र राय यादव, रामेश्वर राय यादव, नागेन्द्र कुमार राय, खोभारी रायले आ–आÇनो क्षेत्रमा पराजीत व्यहोरेका हुन् । कतिपयको हार सम्मानजनक रहेको छ भने कतिपयले लाजमर्नु हार व्यहोरेका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले क्षेत्र नं. १ मा मुख्य प्रतिस्पर्धीको रुपमा हार व्यहोरे । ३६ जना उम्मेद्वार रहेको उक्त क्षेत्रमा एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठले ९ हजार ४ सय ७६ मत ल्याउँदै विजयी हाँसिल गरे भने मुख्य प्रतिस्पर्धी एमाले अध्यक्ष खनालले ८ हजार ७ सय ९१ मत ल्याए ।
त्यस्तै क्षेत्र नं. २ मा यसअघिको संविधान सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी एवं पूर्व मन्त्री मोहम्मद् रिजवान अन्सारीले यसपटकको निर्वाचनमा जमानत समेत बचाउन सकेनन् । नेपाली कांग्रेसका रामचन्द्र चौधरीले ६ हजार ७ सय ४ मत ल्याएर विजयी भएको उक्त क्षेत्रमा संघीय समाजवादी पार्टीको तर्फबाट उम्मेद्वारी दिएका अन्सारीले २ हजार २ सय ८२ मत मात्र ल्याएर सातौं स्थान हाँसिल गरे । ४२ जनाले उम्मेद्वारी दिएको सोही क्षेत्रमा खडा भएका चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष समेत रहेका पूर्व मन्त्री बद्री प्रसाद न्यौपाने १ हजार ३ सय ६५ मत प्राप्त गरी ११औं स्थानमा आए ।
त्यस्तै क्षेत्र नं. ३ मा नेपाली कांग्रेसकी नेतृ एवं पूर्व मन्त्री मिना पाण्डेले ४ हजार २ सय ८८ मत ल्याएर चौथो स्थान हाँसिल गरिन् । ४६ जनाले उम्मेद्वारी दिएको उक्त क्षेत्रमा नेकपा एमालेका हरि उप्रेतीले १२ हजार ८ सय ८ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी दुई मधेशवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्व मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका कारण मुलुकमै चर्चित बनेको क्षेत्र नं. ४ मा सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री राजेन्द्र महतो पराजीत भए । यसअघिको संविधान सभा निर्वाचनमा मुख्य प्रतिस्पर्धी उम्मेद्वार भन्दा झण्डै दोब्बर हाराहारी बढी मत ल्याएर जीत हाँसिल गरेका महतो यसपटकको निर्वाचनमा भने तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्र यादवसँग मुख्य प्रतिस्पर्धीको रुपमा चित्त बुझाउन बाध्य बने । ३८ जनाले उम्मेद्वारी दिएको उक्त क्षेत्रमा तमसपा अध्यक्ष यादवले ११ हजार ५ सय ३४ मत ल्याए भने सद्भावना अध्यक्ष महतोले ८ हजार ७ सय ९० मत मात्र प्राप्त गरे ।
त्यस्तै सोही क्षेत्रमा मधेशी जन अधिकार फोरम नेपालबाट उम्मेद्वारी दिएका पूर्व मन्त्री रामचन्द्र राय यादवले ५ हजार २० मत मात्र ल्याएर चौथो स्थान हाँसिल गरे । यसअघिको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दिँदा उनी ८ हजार ७ सय ५२ मत प्राप्त गर्दै मुख्य प्रतिस्पर्धीको रुपमा रहेका थिए । त्यस्तै सोही क्षेत्रमा समेत उम्मेद्वारी दिएका संघीय समाजवादी पार्टीका उपाध्यक्ष एवं पूर्व मन्त्री मोहम्मद रिजवान अन्सारीले १ सय ४९ मत मात्र ल्याएर आÇनो जमानत समेत बचाउन सकेनन् । उनको १५ औं स्थान रह्यो ।
त्यसैगरी क्षेत्र नं. ५ मा मधेशी जन अधिकार फोरम नेपाल   (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव ७ हजार ४ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा सिमित रहे । ४४ जनाले उम्मेद्वारी दिएको उक्त क्षेत्रमा तराई मधेश लोकतान्त्रिक पार्टीका जंगीलाल रायले ९ हजार ७ सय ६७ मत प्राप्त गरी विजय हाँसिल गरेका छन् । त्यस्तै सोही क्षेत्रमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका पूर्व मन्त्री नागेन्द्र कुमार रायले ४ हजार ६ सय ३८ मत मात्र प्राप्त गरी पाँचौ स्थान हाँसिल गरेका छन् । त्यस्तै यसअघिको निर्वाचनमा सद्भावना पार्टीबाट विजयी तथा हाल तराई मधेश सद्भावना पार्टी नेपालतर्फबाट उम्मेद्वारी दिएका पूर्व मन्त्री खोभारी रायले ३ हजार ८ सय ७५ मत मात्र ल्याएर आÇनो जमानत बचाउँन सकेनन् ।
त्यस्तै क्षेत्र नं. ६ मा मधेशवादी दल तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर पराजीत भएका छन् । नेपाली कांग्रेसका अमरेश कुमार सिंहले १७ हजार ४ सय मत प्राप्त गरी विजयी सो क्षेत्रमा तमलोपा अध्यक्ष ठाकुर ७ हजार ३२ मतका साथ तेस्रो स्थानमा रहे । यसअघिको संविधान सभा निर्वाचनमा मधेशी जन अधिकार फोरम नेपालको तर्फबाट खडा भएका शिवपुजन रायसँग पनि मुख्य प्रतिस्पर्धीको रुपमा पराजीत भएका तमलोपा अध्यक्ष ठाकुर यसपटकको निर्वाचनमा भने तेस्रो स्थानमा पुगे । उक्त क्षेत्रमा यसपटक ४९ जनाले उम्मेद्वारी दिएका थिए ।

No comments:

Post a Comment