Tuesday, November 26, 2013

सुनसान मलंगवा बुधबारबाट बन्यो भरिभराउ

सुनसान मलंगवा बुधबारबाट बन्यो भरिभराउ
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ५ । संविधान सभाको दोस्रो निर्वाचनको उम्मेद्वारी दर्ता प्रकृया सम्पन्न भएसँगै सुनसान बनेको सदरमुकाम मलंगवामा बुधबार विहानैदेखि चहलपहल बढेको छ।
निर्वाचन प्रचार प्रसारका क्रममा स्थानीय नेता कार्यकर्ताहरु सहितका सर्वसाधारण गाउँ–गाउँ निस्केका कारण सदरमुकाम मलंगवा सुनसान बनेको थियो । निर्वाचन सम्पन्न भएसँगै जिल्लाका ६ वटै क्षेत्रबाट मतपत्रले भरिएका मतपेटिका सदरमुकाम मलंगवा ल्याईएपछि मंगलबार राती ११ बजेदेखि नै कार्यकर्ताको लर्को सुरु हुन थालेको थियो । बुधबार विहानबाट सदरमुकाम मलंगवामा नेता कार्यकर्ताहरुको भिड चर्को भएको छ । निर्वाचनमा खटिएका तीनहजार भन्दा बढी सुरक्षाकर्मी एवं सम्पूर्ण कर्मचारी सदरमुकाम मलंगवा केन्द्रित भएकाले समेत भिड बढेको बताईएको छ ।
लामो समयपछि बुधबार मात्र सदरमुकाम मलंगवा आएको नेकपा एमालेका क्षेत्र नं. २ का उम्मेद्वार सुरेन्द्र लामाले बताए । “मनोनयन दर्ता गराएपछि गाउँ गाउँ घुम्नु प¥यो ।” उनले भने–“निर्वाचन सकिएपछि मात्र एक्कैचोटी बुधबार सदरमुकाम मलंगवा आएँ ।” उनको भनाईले पनि सबै उम्मेद्वार एवं नेता कार्यकर्ताहरु उम्मेद्वारको मनोनयन पत्र दर्ता गरेसँगै गाउँ–गाउँ घुमेर निर्वाचन सम्पन्न भएपछि मतपेटिकासँगै गणनाका लागि एवं परिणाम सुन्नका लागि मलंगवा झुम्मिएका हुन् ।
बुधबार विहानबाट सदरमुकाम मलंगवाका हरेक चोक चौराहा अनि होटल भरिभराउ देखिन्छन् । खाना एवं खाजा खाने र राती सुत्ने भिडका कारण होटल सञ्चालक सहित मजदुरहरुलाई भ्याई नभ्याई छ । खाना खानका लागि विहानै होटलमा अर्डर गर्नुपर्छ । हरेक समूहमा कसले जित्ला ? कसको स्थिती कस्तो होला ? आदि–आदि बारेमा लख काटिएको पर्याप्त सुन्न पाईन्छ । लामो समयपछि मलंगवामा भिड बढेको सदरमुकाम मलंगवा स्थित जानकी फैमिली होटल एण्ड लजका सञ्चालक राजेश शर्माले बताए । “होटलका सबै कोठाहरु आजबाट बुक भएका छन् ।” उनले भने–“अझै पनि कोठा खोज्नेको लर्को छ ।”
त्यसमा पनि मतगणनाको काम जिविस सभा हल, जनस्वास्थ्य कार्यालय र पूरानो जिल्ला अदालतमा हुने तयारी सुरु भएकाले विहानैदेखि सम्बन्धित क्षेत्रका नेता कार्यकर्ताहरुको ध्यान एवं उपस्थिती सोही कार्यालय आसपास रहेको छ । जिविस सभा हलमा क्षेत्र नंंं. ५ र ६, जन स्वास्थ्यमा क्षेत्र नं. १ र २ तथा पूरानो जिल्ला अदालत भवनमा क्षेत्र नं. ३ र ४ को मतगणना हुने व्यवस्था मिलाईएको छ । जसअनुसार क्षेत्रको मतगणना  सुरु भईसकेको छ ।

No comments:

Post a Comment