गाँजाले बेरिएका तीनजना महिला पक्राउ
सर्लाही समाचारदाता
धरहरा, मङ्सिर १० । शरिरभरि गाँजा प्याक गरेर तथा झोलामा बोकेको अवस्थामा सोमबार सशस्त्र प्रहरीले तीनजना महिलालाई पक्राउ गरेको छ । नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत धरहरामा चेकजाँचका क्रममा करिब १० केजी गाँजा सहित तीनजना महिला पक्राउ परेका हुन् । गाँजा बोकेर भारततर्फ गईरहेको अवस्थामा तीनजना महिला पक्राउ परेपछि नयाँरोड–बरहथवा सडकखण्ड हुँदै मधुवनी नाकाबाट भारततर्फ नियमित गाँजा तस्करी हुनेगरेको प्रहरीले अनुमान गरेको छ । पछिल्लो पटक गाँजा ओसार्ने महिलाहरुमात्र पक्राउ परेको र गाँजा कारोबारमा संलग्नहरुको पहिचान गरि आवश्यक कार्वाही प्रकृया अगाडी बढाउनका लागि घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ना. १ ज २६४४ नम्बरको म्याजिक भ्यानमा नयारोडबाट बरहथवातर्फ गईरहेको अवस्थामा सक्रौल गाविस–९ निवासी करिब ३५ वर्षिया निर्मली सहनी, करिब ४० वर्षिया मनिता सहनी र करिब ४५ वर्षिया जक्तारण सहनी पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार विहान साँढे ९ बजेतिर सशस्त्र प्रहरी वेस क्याम्प धरहराको टोलीले चेकजाँचका क्रममा धरहराबाट पक्राउ गरेको हो । झण्डै १४–१५ जना यात्रुहरु रहेको उक्त यात्रुबाहक म्याजिकमा यात्रा गरिरहेका ती महिलाहरुप्रति शंका लागेका कारण चेकजाँच गर्दा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
निर्मलीले भित्रबाट गाँजा राखेर बनाईएको कपडाको भोटो लगाएकी थिइन् भने मनिता गाँजा प्याक गरेर बनाईएको पोटुका पेटमा बाँधेको अवस्थामा फेला परेकी थिईन् । जक्तारणको शरिरबाट भने गाँजा फेला परेको थिएन । उनीहरु तीनैजनाले छुट्टाछुट्टै झोलामा समेत गाँजा बोकेका थिए । शरिरमा प्याक गरिएको गाँजा अरुले नदेखुन् भनेर पक्राउ परेका महिलाहरुले ठूला–ठूला ओड्ने समेत ओडेका थिए ।
सशस्त्र प्रहरीले पक्राउ परेका महिलाहरुलाई इलाका प्रहरी कार्यालय हरिवनको जिम्मा लगाएको छ । उनीहरुले प्रति व्यक्ति १ हजार रुपैया दिन्छु भनेर आफुलाई गाँजा बोकाईएको दावी गरे । ‘‘भारतको सिमा क्षेत्रसम्म लगिदिनु १ हजार दिन्छु भनेर पठाए ।’’ निर्मलीले भनिन्–‘‘पैसाको लोभमा मनहरीबाट गाँजा बोकेर बरहथवा हुँदै भारतको सिमा क्षेत्रतर्फ जाँदै थियौं ।’’ मकवानपुरको मनहरी क्षेत्रबाट मुलुकभरका विभिन्न शहर एवं भारततर्फ समेत गाँजा तस्करी हुने गरेको यसअघि पनि पटक–पटक पक्राउ परेका गाँजा सहित अभियुक्तहरुको बयानबाट खुलिसकेको छ । यसअघि पनि सर्लाहीका विभिन्न स्थानमा रहेका प्रहरी इकाईहरुले मकवानपुरको मनहरीबाट पूर्वतर्फ जाँदै गरेको ठूलो परिमाणको गाँजा सहितको ट्रक समेत बरामद् गरिसकेका छन् ।
पक्राउ परेका महिलाहरुले कसले गाँजा बोकेर पठाएको भने खुलाएनन् । ‘‘गाउँमा बोलाउने नाम अर्कै छ, उसको वास्तवीक नाम के हो के ?’’ मनिताले भनिन्–‘‘हाँमी त पैसा पाहिन्छ भनेपछि गाँजा बोकेर हिडेका हौं ।’’ पक्राउ परेका महिलाहरु हाल इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेका छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुको अवस्था हेर्दा उनीहरु स्वयं गाँजा तस्करी गर्ने नभई उनीहरुलाई गाँजा ओसारपसारमा संलग्न गराएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका महिलाहरुको वयानबाट गाँजा तस्करीमा संलग्न मुख्य गिरोह नियन्त्रण गर्ने गरी कार्वाही प्रकृया अगाडी बढाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment