सवारी साधनमा धमाधम आगलगी
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २४ । आगामी संविधान सभा निर्वाचनमा सहभागि हुन सकृय भईरहेका विभिन्न राजनैतिक दलसम्बद्ध नेता कार्यकर्ताको सवारी साधनमा श्रृंखलाबद्ध ढंगले आगलागी सुरु भएको छ ।
आगो लगाउने समूहको पहिचान हुन नसकेपनि निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन विरोधी शक्तिहरुले नै त्यस्ता घटना गराएको हुन सक्ने अनुमान सम्बन्धित सरकारी निकाय एवं सरोकारवालाले गरेका छन् । श्रृंखलाबद्ध रुपले भईरहेको आगलागीका घटनाले निर्वाचन जसरी पनि सफल पार्ने उद्घोष गरिरहेका सरकारी संयन्त्रलाई चुनौति दिएको छ ।
यसैक्रममा आईतबार राती ९ बजे नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका जनकपुर अञ्चल कमिटी सदस्य शम्भु मैनालीको मोटरसाईकलमा एक समूहले आगो लगाएको छ । ना. १४ प ८३६५ नम्बरको मोटरसाईकल आगोबाट पूर्ण रुपले क्षति पुगेको मैनालीले बताए ।
हरिवन गाविस–६, ताइवान टोलमा मोबाईलमा कुरा गरिरहेको समयमा ४–५ जनाको समूहले ढुंगामुढा गर्दै मोटररसाईकलमा आगो लगाएको मैनालीले जानकारी दिए । ‘‘मोबाईलमा घण्टी बजेपछि मोटरसाईकल रोकेर कुरा गर्दै थिएँ ।’’ मैनालीले भने–‘‘४–५ जनाको नकावधारी समूह आएर ढुंगामुढा गर्न थाले र के गर्न खोजेको भन्दा ‘तेरो मोटरसाईकलमा आगो लगाउने हो’ भनेर खुकुरी लगायतका हतियार समेत देखाएपछि भागेँ र मोटरसाईकलमा आगो लगाईयो ।’’ प्रहरीले भने रिसईबीका कारण आगो लगाएको हुन सक्ने अनुमान गरेको छ । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरिसकिएको र सोधपुछ भईरहेको प्रहरी स्रोतले जनायो । घटनामा संलग्न हुन सक्ने आशंका रहेका व्यक्तिहरुको राती नै खोजवीन गर्दा घरमा फेला नपरेकाले थप आशंका बढेको प्रहरीले जनाएको छ ।
त्यसैगरी एकिकृत नेकपा माओवादीका उम्मेद्वार राजकुमार राय यादवको चुनाव प्रचारमा प्रयोग भएको जिपमा आगजनी भएको छ । क्षेत्र नं. २ का उम्मेद्वार रायले प्रयोग गरेको वि.आर. ३०–०२२१ नम्बरको भारतीय गाडीमा आइतबार राती अज्ञात समूहले आगजनी गरेको थियो । रायको निर्वाचन सम्पर्क कार्यलय हरिवनमा राखिएको जिपमा आगजनी भएको बताइएको छ । इलाका प्रहरी कार्यालय हरिवनका अनुसार निर्वाच्नमा रायले प्रयोग गरेको जिपको चारवटै जक्कामा पेट्रोल छर्केर आगो लगाइएको र आगो लागेको थापा पाएपछि स्थानिय बासिन्दा एवं एमाओवादी कार्यकर्ताको सहयोगमा नियन्त्रणमा लिइएको थियो । उम्मेद्वार रायले भने –‘पार्टीको निर्वाचन कार्यालय बाहिर राखिएको जिपमा आगलागिका क्रममा टायरको गन्ध आएपछि तुरुन्त आगो नियन्त्रणमा लिइएको र एउटा चक्का मात्र आगोले खराब भएको बताए । निर्वाचनको विरोध गर्ने तत्वले आगो लगाएको हुन सक्ने रायले बताए । यसअघि शनिबार राती मलंगवा–१० स्थित जिविस चोकमा एमाले क्षेत्र नं. ४ का उम्मेद्वार राजनारायण साहको चुनाव प्रचार प्रसारमा प्रयोग भएको गाडीमा आगजनी भएको थियो ।
No comments:
Post a Comment