भोट माग्दै हिडेका अध्यक्ष खनाललाई जग्गा
सर्लाही समाचारदाता
लालबन्दी, कात्तिक २३ । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष एवं आगामी संविधान सभा निर्वाचनका लागि सर्लाही क्षेत्र नं. १ का उम्मेद्वार झलनाथ खनाललाई एमालेकै एक कार्यकर्ताले घर बनाउन जग्गा सहयोग गर्ने भएका छन् । शनिबार अपरान्ह जनज्योती क्याम्पस लालबन्दी नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा भएको कोणसभामा एमाले सर्लाहीका सल्लाहकार सदस्य बेचुराज तिमल्सिनाले घर बनाउनका लागि १ कठ्ठा जग्गा दिने घोषणा गरेका हुन् । निर्वाचन क्षेत्रमा भोट माग्दै हिडेका एमाले अध्यक्ष खनालले आÇनै पार्टीका कार्यकर्ताबाट जग्गा समेत पाएका छन् ।
पथ्थरकोट गाविस–९, जियाजोरमा अध्यक्ष खनाललाई घर बनाउनका लागि आफूले १ कठ्ठा जग्गा उपलब्ध गराएको तिमल्सिनाले बताए । अध्यक्ष खनाल सहभागि कोणसभामा तिमल्सिनाले खनाललाई यथाशिघ्र घर बनाउन अनुरोध गरेका थिए। ‘‘मेरो अंशमा आएको दुईकठ्ठा जग्गा मध्ये अध्यक्ष कमरेडलाई एककठ्ठा दिएको हुँ ।’’ तिमल्सिनाले सर्लाही दैनिकसँग शनिबार भने–‘‘उहाँले जहिले चाहनुहुन्छ, उसैबेला
रजिष्ट्रेशन पास समेत गरिदिने छु ।’’
एमाले कार्यकर्ता समेत रहेका इट्टा व्यवसायी माधव सुवेदीले कोणसभामा बोल्दै अध्यक्ष खनालको घर बनाउन चाहिने इट्टा उपलब्ध गराउने घोषणा गरेका थिए । अध्यक्ष खनालले जग्गा दिने घोषणाबाट आफू खुसी भएको बताएका थिए । ‘‘सोच्दै नसोचेको कुरा आयो म धेरै खुसी भएको छु ।’’ अध्यक्ष खनालले सभामा भने–‘‘धन्यवाद व्यक्त गर्दछु ।’’
कार्यक्रममा एमाले सर्लाही अध्यक्ष मनोज देवकोटा लगायत नेताहरुको समेत उपस्थिती रहेको थियो । जिल्ला बाहिरको ‘टुरिष्ट’ उम्मेद्वार भनेर विपक्षी राजनैतिक दल एवं उम्मेद्वारहरुले प्रचारप्रसार गरेपछि त्यस क्षेत्रका एमाले कार्यकर्ताले आÇना उम्मेद्वार एवं राष्ट्रिय अध्यक्ष खनाललाई सर्लाहीबासी बनाउने प्रयास थालेका हुन् । खनालसँगै तिब्र प्रतिष्पर्धामा रहेका भनिएका एमाओवादी उम्मेद्वार शम्भुलाल श्रेष्ठकै गाउँ पत्थरकोटमा अध्यक्ष खनालको घर बनाएर त्यस्तो प्रचारको जवाफ दिन लागिएको एक एमाले कार्यकर्ताले बताए ।
विपक्षी दलहरुले एमाले अध्यक्ष खनालको घर इलाम हो । उनी इलाम र सर्लाही दुवै स्थानबाट उम्मेद्वार बनेका छन् । दुवै स्थानबाट जिते एमाले अध्यक्ष खनालले सर्लाहीलाई छाड्ने र इलाम नै रोज्ने विपक्षी राजनैतिक दल एवं उम्मेद्वारहरुले प्रचार गरिरहेको जानकारहरु बताउँछन् । दुवै स्थानबाट जिते सर्लाही की इलाम रोज्ने भन्ने बारेमा एमाले अध्यक्ष खनालले हालसम्म खुलाएका छैनन् । अध्यक्ष खनाल गत विहीबारदेखि क्षेत्र नं. १ मा घरदैलो गरिरहेका छन् । कोणसभामा सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष सीपी पौडेल एमाले प्रवेश गरेका छन् । उनी नेकपा–माओवादीमा आवद्ध थिए ।
No comments:
Post a Comment