सर्लाही भित्रिदै गरेको हतियार बरामद्
सर्लाही समाचारदाता
बलरा, कात्तिक १५ । भारतीय भूमिबाट सर्लाहीतर्फ भित्रिदै गरेका ११ थान हतियार सिमा सुरक्षार्थ खटिएका भारतीय सुरक्षाकर्मी (एसएसबी) ले बरामद गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
शुक्रबारको भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित समाचार अनुसार ना. ५ प ७५४४ नम्बरको कालो होण्डा साइन मोटरसाईकल र सोसँगै कालो झोलामा राखिएको ९ थान नलकटुवा पेस्तोल, २ थान राइफल, ८ एमएमको ४४ राउण्ड गोली र ७.५ एमएमको १२ वटा खोका बरामद भएको छ । बलरा नाकाभन्दा १ किलोमिटर उतै भारतीय क्षेत्रमा ती हतियारहरु बरामद् भएका हुन् । बुधबार राती १० बजे नेपाल–भारत सीमामा पर्ने मेजरगंज प्रखनडको विशभरपुर पंजायतको नन्हकारमा पिलर नं. ३१५÷१३ नजिकै हतियार ल्याउने समूह र भारतीय सुरक्षाकर्मीहरुबीच गोली हानाहान समेत भएको बताईएको छ ।
सर्लाहीतर्फ आउन लागेको नेपाली नम्बर प्लेटको मोटरसाईकल चेकजाँचका लागि भारतीय सुरक्षाकर्मीले रोक्न खोज्दा मोटरसाईकमा सवारबाट फायर भएको भारतीय सुरक्षाकर्मीको हवाला दिदै उक्त पत्रिकाले लेखेको छ । भारतीय सुरक्षाकर्मीबाट जवाफी फायर भएपछि उनीहरु भागेका थिए । फायरिङकै क्रममा उनीहरुको मोटर साइकल पल्टेपछि राती अन्ध्याँरोको फाइदा उठाउदै दुवै जना पैदल भागेको भारतीय सुरक्षाकर्मीको हबाला दिदै दैनिक जागरणले उल्लेख गरेको छ । भाग्ने क्रममा उनीहरुले मोटर साइकल र कालो झोला घटना स्थलमा नै छोडेर गएका थिए ।
मोटरसाईकलमा नेपाली कांग्रेसको पर्चा एवं झण्डा बरामद् भएको र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको हत्या गर्ने म्यासेज समेत भारतीय सिमा क्षेत्र हेर्ने सुरक्षा अधिकृतको मोबाइलमा आएको भनेर समाचारमा उल्लेख छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सर्लाहीतर्फ हतियार भित्र्याउँदै गरेको समाचार भारतीय सञ्चारमाध्यममा प्रकाशित भएपछि जिल्लाबासी भयभित बनेका छन् । भारतबाट जिल्लातर्फ आउँदै गरेको हतियार भारतीय सुरक्षाकर्मीबाट बरामद् हुनुले निर्वाचनका क्रममा हतियारको समेत चलखेल हुनसक्ने सम्भावना बढेको जानकारहरु बताउँछन् । जिल्ला स्थित अन्य क्षेत्रहरुको तुलनामा क्षेत्र नं. ६ निर्वाचनको समयमा बढी संवेदनशिल मानिन्छ । सुरक्षानिकायले पनि उक्त क्षेत्रलाई अतिसंवेदनशिल क्षेत्रको रुपमा विश्लेषण गरिसकेको छ ।
प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले भारतीय सुरक्षाकर्मीले हतियार बरामद् गरेको खबर अनौपचारिक रुपमा थाहा पाएको र विस्तृतमा आफूलाई केही थाहा नभएको बताए । जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको उल्लेख गर्दै प्रहरी उपरीक्षक धानुकले कानून विपरित क्रियाक्लाप गर्ने जो कसैलाई कार्वाही गरिने प्रतिबद्धता जनाए ।
No comments:
Post a Comment