पाँच मृतकको शव आफन्तलाई
सर्लाही समाचारदाता
क्यानेश्वर, कात्तिक १५ । हरिवन–क्यानेश्वर सडकखण्ड अन्तर्गत क्यानेश्वर गाविसमा विहिबार राती ट्रयाक्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव संकलन गरी शुक्रबार आफन्तलाई बुझाइएको छ ।
लालबन्दी बजारबाट खाद्यान्न सामग्री सहित यात्रुहरु बोकेर सिन्धुलीको क्यानेश्वर जाँदै गरेको ट्रयाक्टर राती १० बजेतिर धिमिलेडाँडा भन्दा केही तलपुगेपछि क्यानेश्वर गाविस स्थित सडकबाट झण्डै ४० मिटर तल खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको थियो । कठिनाईका कारण राती उठाउन नसकिएका शब शुक्रबार विहान संकलन गरी घटनास्थलमै घाउजाँच गरिएको थियो । क्यानेश्वर गाविस स्थित हेल्थपोष्टका प्रमुख हेल्थ असिस्टेन्ट श्याम कुशवाहले घाउ जाँच गरेका थिए । सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको नेतृत्वमा सिन्धुलीका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु समेत शुक्रबार विहान ११ बजेतिर घटनास्थल आएका थिए । दुर्घटनामा परी सर्लाहीकै पत्थरकोट गाविस–४, बाहुनीका २५ वर्षिय विशाल ब्लोन, क्यानेश्वर गाविस–१ का ७४ वर्षिय काजीमान थिङ, ४४ वर्षिया फूलमाया थिङ, २० वर्षिया माईली थिङ (अनिता) र सोही गाविस वडा नं. ९ का ३२ वर्षिय प्रतिक स्याङतानको मृत्यु भएको छ । मृतक विशाल सोही ट्रयाक्टरको चालक रहेको बताईएको छ । दुर्घटनाको समयमा पत्थरकोट बाहुनी टोलाका ट्रयाक्टर धनी संग्रामसिंह वाईबाको छोरा संजीव वाईबा चालक रहेका थिए ।
त्यस्तै दुर्घटनामा परि क्यानेश्वर गाविस–१ की १८ वर्षिया विना मोक्तान तथा सर्लाहीको नारायणखोला गाविस–२ का १८ वर्षिय दलबहादुर रुम्बा गम्भिर घाईते भएका छन् । उनीहरुको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । रुम्बाको अवस्था अझै गम्भिर रहेको बताईएको छ । त्यस्तै अन्य घाईतेमा क्यानेश्वर गाविस–१ का ३७ वर्षिय ज्ञानबहादुर थिङ, ३६ वर्षिय भिमबहादुर तामाङ र २० वर्षिय धनबहादुर घिसिङ रहेका छन् । दुर्घटनामा परेर मृत्यु भएकी माइली घिसिङ घाईते धनबहादुरकी श्रीमती हुन् ।
घाईते भिमबहादुरका अनुसार साँझ ६ बजे लालबन्दीबाट सामान बोकेर हिडेको ट्रयाक्टर राती साँढे ८ बजेतिर सर्लाही र सिन्धुलीको सिमा क्षेत्र धिमिले डाँडा पुगेर खानाखाएपछि पूनः क्यानेश्वरतर्फ बढेको थियो । घटनास्थल सिन्धुली जिल्लामा भएपनि राती हरिवनका ट्राफिक र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार गरेको थियो । दुर्घटनामा सामान्य घाईते भएका घाईतेद्वय भिमबहादुर र धनबहादुर पुनः उकालो चढेर डेढ घण्टामा धिमिलेडाँडा आईपुगेर दुर्घटनाको जानकारी दिएपछि स्थानीय बासिन्दाले हरिवन स्थित एम्बुलेन्स र प्रहरीलाई खबर गरेका थिए ।
दुर्घटनाबाट लु. १ त ७३०९ नम्बर ट्रयाक्टरको इन्जिन र टेलर समेत क्षतविक्षत भएको छ । दुर्घटनाबाट दुईलाख भन्दा बढीको सामानहरु नष्ट भएको बताईएको छ । ढुंगामा बजारिएर र ट्रयाक्टरको इन्जिन एवं टेलरले चेपेको र कार्टुनमा प्याक वियरका बोतल लगायत फुटेर काटेका कारण मृतकको संख्या बढेको सिन्धुली प्रहरीले जनाएको छ । न्यूट्रलमा राखेर चलाईएका कारण ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको घाईतेहरुले बताएका छन् । धिमिलेडाँडा यता सर्लाहीतर्फ क्षतविक्षत रहेको सडकखण्ड सकुशल पार गरेको ट्रयाक्टर ढुंगा विछ्याएर मर्मत गरिएको सडकखण्डमा अनियन्त्रित भई तल खसेको थियो । स–साना ढुंगा विछ्याएर यातायात सहज बनाईएको ओरालो बाटो स्थित मोडमा ब्रेकर नराखिदा दुर्घटना बढेको सुरक्षा अधिकारीहरुले अनुमान गरेको हेल्थ असिस्टेण्ट कुशवाहले बताए । माथिल्लो सडकखण्डबाट खसेको ट्रयाक्टर तल्लो भागको सडकमा बजारिएको थियो भने खस्ने क्रममा ढुंगामा ठोक्किएर र बजारिएर यात्रारत सर्वसाधारणको मृत्यु भएको थियो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको नारायण मार्गबाट १३ किलोमिटर दुरीमा रहेको क्यानेश्वरको क्वाटर बजारसम्मको सडकखण्ड केहीवर्षअघि ‘ट्रयाक’ खोली सामान्य मर्मत संभारमा सुचारु हुँदै आएको छ । उक्त सडकखण्डमा कोचाकोच यात्रु एवं टनाटन सामग्री बोकेर त्यसमाथि पनि रातको समयमा समेत सवारी साधन गुड्ने गरेको छ ।
No comments:
Post a Comment