आचारसंहिता उल्लंघनमा सद्भावनालाई स्पष्टिकरण
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १५ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको विषयमा सद्भावना पार्टीलाई स्पष्टीकरण सोधेको छ ।
गत मंगलबार क्षेत्र नं. ४ अन्तर्गत बबरगंजमा स्कुले विद्यार्थीलाई पार्टीको झण्डा बोकाएर निर्वाचन प्रचारप्रसार गर्न लगाएको बारेमा स्पष्टिकरण सोधिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिकृत रामचरित्र मेहताले बताए । यस सर्लाही दैनिकले गत बुधबार ‘के यहि हो आचार संहिताको पालना ?’ शिर्षक राखेर मुख्य समाचारको रुपमा सद्भावनाको झण्डा बोकेर प्रचारप्रसार गरिहेका विद्यार्थीहरुको तस्वीर सार्वजनिक गरेको थियो । सर्लाही दैनिकमा प्रकाशित तस्बीरलाई आधार मानेर उक्त विषयमा के कस्तो भएको हो ? अविलम्ब जवाफ पेश गर्न सद्भावना पार्टीलाई स्पष्टिकरण सोधिएको अनुगमन अधिकृत मेहताले बताए ।
सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा स्पष्टिकरण सोधेको यो तेस्रो हो । यसअघि नेपाल विद्युत प्राधिकरण सर्लाही र नेपाली कांग्रेस क्षेत्र नं. ६ का उम्मेद्वार अमरेश सिंहलाई स्पष्टिकरण सोधिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । चित्तबुझ्दो स्पष्टिकरण नआएमा सम्बन्धित पार्टी र उम्मेद्वारलाई कार्वाही गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय श्रोतले जनाएको छ ।
जिल्लामा क्रियाशिल प्रायसः राजनैतिक दल एवं उम्मेद्वारहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गरिरहेका छन् । सार्वजनिक स्थानमा पोष्टर,पम्प्लेट टाँस्ने, झण्डा टाँग्ने, तुल व्यानर प्रयोग गर्न नपाईने भएपनि त्यसको प्रयोग गर्ने लगायत कामहरु निर्धक्कसँग भईरहेको छ ।
No comments:
Post a Comment