Friday, November 1, 2013

छोरीमात्र जन्माएको बहानामा घरबाट निकाला

छोरीमात्र जन्माएको बहानामा घरबाट निकाला
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १५ । जिल्लाको दक्षिणी क्षेत्रको अर्नाहा गाविसमा श्रीमान् सहित परिवारका सदस्यले लगातार तीनवटा छोरी जन्माएको भन्दै आफूलाई घर निकाला गरेको दावी सहित एक महिलाले जिल्ला अदालतमा मुद्धा दायर गरेकी छिन् । २१औं शताब्दीको आधुनिक समयमा समेत जिल्लाका कतिपय स्थानमा १८औं शताब्दीमा व्याप्त सामाजिक कु–संस्कारहरुको अन्त्य हुन नसकेको स्पष्ट उदाहरण बनेको छ यो घटना । विभिन्न सरकारी तथा गैर सरकारी निकायले घरेलु हिंसा न्यूनिकरणका लागि भन्दै करोडौं बजेट सिध्याउने गरेका छन् । त्यसका बाबजुद् समाजमा घरेलु हिंसा नियन्त्रण भन्दा बढ्ने क्रम जारी रहेको जानकारहरु बताउँछन् । हाल सिसौट स्थित माईती पक्षको घरमा बस्दै आएकी पीडित महिलाले जिल्ला अदालत सर्लाहीमा घरेलु हिंसा विरुद्ध मुद्धा समेत दायर गरेकी हुन । उक्त मुद्धा सर्लाही जिल्ला अदालतकै इतिहाँसमा पहिलो भएको अदालतको मुद्धा फाँटले जनाएको छ ।
दुईवर्ष अघि एक छोरी जन्माएकी रिंकुदेवीले पूनः जुम्ल्याहा छोरी जन्माएकोले पति र सासुले कुटपिट गरी घरबाट निकाला गरेका बताइएको छ । पहिलो पटक छोरी भएकाले छोरा जन्माउन पति गौरीशंकर साह र सासु सुनैना देवीले दवाव दिइरहेको भएपनि दोश्रो पटक झन जुम्ल्याहा छोरी जन्माएकाले कुटपिट गरी घरबाट निकाला गरेको पीडित पक्षले जनाएको छ । घर निकाला  भएपछि सर्लाही अदालतमा अधिवक्ता वालकृष्ण कर्णको सहयोगमा घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।
अदालतमा दर्ता भएको घरेलु हिंसा सम्बन्धि मुद्धाको म्यादजारी समेत भइसकेको र पीडक पक्षलाई अदालतमा उपस्थितीको आदेश जारी भएको अदालतका श्रेस्तेदार नारायणप्रसाद रेग्मीले बताए ।
घरबाट निकालिएका दुई वर्षिय एक र एकवर्षिय दुई नाबालिका सहित पीडित महिला यतिखेर सिसौट स्थित माइती पक्षका
हजुरबुवाको घरमा बस्दै आएका छन् । उचित पौष्टिक आहारको अभावमा तीन वटै बच्चाहरु दुब्ला रहेकाले जो कोहिले देख्दा समेत करुणा जाग्ने जिल्ला अदालतका नायब सुब्बा भरतप्रसाद घिमिरेले जानकारी दिए ।
तराई मधेश क्षेत्रमा उचित दाइजो नल्याएको, छोरा नजन्माएको बहानामा पटक–पटक महिलाहरु दुव्र्यवहार एवं यातना झेल्न बाध्य हुने गरेको पाइएको छ ।
दर्जनौ घरेलु हिंसा अदालतमा आइनपुगि प्रहरी कार्यालय वा मध्यस्थताबाट मेलमिलाप हुने भएता पनि अर्नाहको घटना भने अदालतमा मुद्धा दायर भएको छ । दायर भएको मुद्धाको पहिलो पेसी कात्तिक २८ गते रहेको अदालत श्रोतले जनाएको छ ।

No comments:

Post a Comment