लागुऔषध सहित दुई यूवा समातिए
सर्लाही समाचारदाता
हरिवन, कात्तिक १६ । सरकारद्वारा प्रतिबन्धित औषधि (लागुऔषध) ‘कोरेक्स’ सहित दुईजनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
भारतीय बजारबाट लुकाई छिपाई नेपाल ल्याइएको सो लागुऔषध इलाका प्रहरी कार्यालय हरिवनको टोलिले ढुंग्रेखोला–९ बाट पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा ६५ बोतल कोरेक्स सहित मोटरसाइकलमा सवार दुईजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख शंकर सिंह रावलले बताए ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका–२ का १७ वर्षिय मुना कुमार साह र हरिपुर–९ का ३० वर्षिय मनोज यादव रहेका छन् ।
ज.२ प २०२७ नम्बरको पल्सर र बा. ८ प ४०५० नम्बरको बजाज मोटरसाईकलको डिकीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त सहितका सामग्रीहरु शनिबार नै इलाका प्रहरी कार्यालय हरिपुर पठाइ लागुऔषध ओसार–पोसार ऐन अन्तर्गतको कारवाही प्रकृयामा अगाडी बढाइएको प्रहरी निरीक्षक रावलले जानकारी दिए ।
जिल्लाका राजमार्ग क्षेत्र र आसपासका क्षेत्रमा लागुऔषध दुव्र्यसनी बढेर विभिन्न सामाजिक अपराध बढेकाले लागुऔषध नियन्त्रणका लागि सदैव अग्रसर हुने गरेको प्रहरी श्रोतले बतायो । प्रहरीका अनुसार खासगरी १५–३५ वर्ष उमेर समुहका व्यक्तिहरु लागुऔषधको दुव्र्यसनीमा फसेका र पत्याउनै नसक्ने समाजका प्रतिष्ठित व्यक्तिहरु समेत कुलतमा परेका बताइएको छ ।
‘कोरेक्स’, ‘फेन्सिडिल’ लगायतका औषधि खोकी निको पार्न उत्पादन भएको भएपनि नेपालमा लागुऔषधका रुपमा प्रयोग गर्न थालेपछि नेपाल सरकारले यस्ता प्रकारका औषधि आयातमा प्रतिबन्ध लगाएको थियो । जिल्लामा बढ्दो लागु औषध दुव्र्यसनीका कारण विभिन्न विकृतीका साथै वंश नै समाप्त हुने खतरा बढेको बताइएको छ ।
No comments:
Post a Comment