Thursday, November 14, 2013

‘महाअभियान’ सफल पार्न कर्मचारीलाई ‘मारामार’

‘महाअभियान’ सफल पार्न कर्मचारीलाई ‘मारामार’
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक २८ । आगामी मंसिर ४ गते हुने संविधान सभा निर्वाचनको तयारीका लागि जिल्ला स्थित राजनैतिक दल र तीनका नेता कार्यकर्तालाई मात्र हैन सम्बन्धित निकायका अधिकारी एवं कर्मचारीलाई समेत मारामारको स्थिती भएको छ । मुलुककै महाअभियानको रुपमा रहेको निर्वाचनको तयारीका लागि सम्बन्धित कार्यालयमा अत्यन्त भिड बढेको छ भने कामको चापले गर्दा भ्याई–नभ्याई अनि मारामारको स्थिती उत्पन्न भएको छ । अन्य बेलामा ‘झिंगा मारेर’ बस्ने निर्वाचन कार्यालयका कर्मचारीहरु समेत ओठमुख सुकाएर निरन्तर खटिरहेका देखिन्छन् । लागिरहेको काममाबाहेक अन्यत्र ध्यान दिने र कसैसँग बोल्ने समेत फुर्सद छैन, खटिएका कर्मचारीसँग ।
विहिबार दिउँसो जिल्ला निर्वाचन कार्यालय पुग्दा सो कार्यालयका प्रमुख प्रकाश अधिकारीलाई भ्याई–नभ्याई थियो । ल्यापटपमा निर्वाचन आयोगको वेभसाईटबाट तथ्यांक डाउनलोड गर्ने, पर्यवेक्षकको परिचयपत्र बनाइदिने, माग्न आउनेलाई वुथ प्रतिनिधिको फारम उपलब्ध गराउने गरिरहेका उनलाई मोबाईलमा निरन्तर फोन समेत आईरहेको थियो र विभिन्न जानकारीहरु गराईरहेका थिए । एकजनासँग कुरा गरेर राख्न नपाउँदै उनको मोबाईलमा पूनः घण्टी बजिहाल्थ्यो ।
‘‘निर्वाचनको मतगणना नसकिएसम्म यस्तै हालत हो सर ।’’ उनले यस पंक्तिकारसँग भने–‘‘विहानैदेखि राती १२ बजेसम्म मारामार छ ।’’ सोधपुछ गर्न आएका सेवाग्राहीलाई जानकारी गराउने र अस्पष्ट कुराहरु माथिल्लो निकायमा सोध्ने गरिरहेका थिए उनी । निर्वाचन कार्यालय परिसरमा मतदाताको अस्थायी परिचय–पत्र, मतदान अधिकृतहरुलाई दिईने व्याग, कागजात मिलाउने काममा पनि एकदर्जन हाराहारीमा सुरक्षाकर्मी सहितका कर्मचारीहरु निरन्तर खटिरहेका थिए ।
निर्वाचन सम्पन्न गर्नका लागि सामग्री जुटाउने अनि व्यवस्थापनको काम गर्ने जिल्ला निर्वाचन कार्यालयमा भन्दा चर्को भिडभाड अनि मारामारको स्थिती थियो निर्वाचनका लागि मुख्य जिम्मेवारी बोकेको निर्वाचन अधिकृतको कार्यालय परिसरमा । नाम प्रकाशित भएका मतदान अधिकृत एवं सहायक मतदान अधिकृतहरुको भिडका कारण उक्त कार्यालयमा खुट्टा हाल्ने ठाउँ थिएन । मतदान अधिकृत एवं सहायक मतदान अधिकृतको रुपमा कुन मतदान केन्द्रमा परियो भनेर हेर्ने र नियुक्ति पत्र लिने लाईनका लागि निर्वाचन अधिकृतको कार्यालयमा दिनभर भिड लागेको थियो । मतदान अधिकृत एवं सहायक मतदान अधिकृतको रुपमा खटिने कर्मचारीहरुको भिडका कारण पुरानो अदालत भवन अगाडी सडकमा दिनभर यातायात संचालनमा समेत कठिनाई भएको थियो । नियुक्तिपत्र दिने लगायत कामका कारण निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीलाई त झन बोल्ने समेत फुर्सद थिएन । साँझ ५ बजेसम्म वितरण गर्दा पनि उनीहरुको नियुक्ति पत्र दिन नभ्याईएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयमा पनि सुरक्षाकर्मीहरुलाई मतदान केन्द्रहरुमा खटाउन, म्यादी प्रहरीलाई आएका ड्रेस सहितका सामग्री गन्ती गरेर पठाउने लगायतका लागि प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक, प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीलाई भ्याई–नभ्याई थियो । ‘‘केटाहरुलाई सम्झाएर फिल्डमा पठाउने लगायत कामले गर्दा भ्याई–नभ्याई भाको छ ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘तीन–चार दिनदेखि खटान बढेको छ ।’’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओलीले मतदान केन्द्रहरुमा खटाउनुपर्ने सुरक्षाकर्मीलाई पठाईसकिएको बताउँदै विहिबार साँझ भने–‘‘बल्ल आजबाट मतदान केन्द्रहरुमा तोकेर पठाउने काम सकियो, म्यादी प्रहरीको कपडा सहितका सामग्री पनि भोलीसम्ममा सबै ठाउँमा गईसक्छ ।’’
निर्वाचन व्यवस्थापन समितिका संयोजक नै रहने प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेलाई पनि कमता बोझ छैन । दिनदिनै सुरक्षा समितिको बैठक राखेर समिक्षा गर्ने अनि भावि रणनीति तय गर्ने र सेवाग्राहीबाट आएका गुनासा सुनेर त्यस उपर उचित कदम चाल्ने उनको दैनिकी नै बनेको छ । निर्वाचनको व्यवस्थापनमा निर्वाचन अधिकृतको कार्यालय तथा जिल्ला निर्वाचन कार्यालय सहित राजनैतिक दल अनि उम्मेद्वारहरुबीचमा समन्वय गरिदिनु, निर्वाचनका लागि कर्मचारीहरुको व्यवस्था गरिदिनुका साथै माथिल्लो निकायका अधिकारीहरुलाई जानकारी दिनुपर्ने जस्ता व्यस्तता पनि उनको दैनिकी भित्र समेटिएको छ । ‘‘अचेल दिनदिनै सुरक्षा समितिको बैठक बसेर शान्ति सुरक्षाको स्थिती बारेमा समिक्षा गर्ने गरेका छौं ।’’ उनले विहिबार भने–‘‘मुलुककै महाअभियानको रुपमा रहेकाले मंसिर ४ को निर्वाचन सफल पार्न कुनै कसर बाँकी राखेका छैनौं ।’
नागरिक समाजका अगूवा उग्रकान्त झा पनि निर्वाचनको तयारीका क्रममा सम्बन्धित निकायका कर्मचारीलाई भ्याई–नभ्याईको स्थिती रहेको बताउँछन् । ‘‘म पनि जानकारी लिन जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयतिर जाँदा सबैको भ्याई–नभ्याई थियो ।’’ निर्वाचन प्रयोजनको लागि चाहिने सामग्रीहरु केन्द्रबाट अन्तिम समयमा आएकाले पनि सो व्यवस्थापनका लागि कर्मचारीहरुलाई मारामार भएको बताइएको छ । राजनैतिक दलहरुको सकृयता अनि निर्वाचन आयोग सहित राज्यको तयारी र सम्बन्धित कर्मचारीहरुको व्यस्तता लगायत वातावरण देख्दा केही दिनअघिसम्म पनि हुन्छ की हुदैन भन्ने चर्चा बीच रुमल्लिरहेको महाअभियानको रुपमा रहेको दोस्रो संविधान सभा निर्वाचन अब भने प्रायः निश्चित रहेको कसैबाट नछिप्ने देखिएको छ ।

No comments:

Post a Comment