सदरमुकाम मलंगवा दिनभर तनावग्रस्त
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ५ । क्षेत्र नं. ६ मा धाँधली भएको भन्दै पूनः मतदानको माग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टी तथा तराई मधेश सद्भावना पार्टी नेपाल सहित विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु प्रदर्शनमा उत्रेपछि सदरमुकाम मलंगवा बुधबार दिनभर तनावग्रस्त बनेको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा नेपालका शिवपुजन राय, सद्भावनाका फकिरा महतो सहित १० जना उम्मेद्वारहरुले क्षेत्र नं. ६ का ४ मतदान स्थलका ६ मतदान केन्द्रमा धाँधली भएको दावी गर्दै पूनः मतदानको माग राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार अमरेश सिंहले बलरा गाविस–५ स्थित मदरसा मतदान केन्द्र क र ख एवं वडा नं. ९ मा रहेको प्रावि जब्दी मतदान केन्द्र तथा धनकौल (प.) गाविस–३ स्थित पशुसेवा भवन मतदान केन्द्र क र ख मा बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
तमलोपा अध्यक्ष एवं क्षेत्र ६ का उम्मेद्वार ठाकुरले कांग्रेसका उमेदवारलाई जिताउन राज्य शक्तिको चरम दुरुपयोग भएको आरोप लगाए । बुधबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सुरक्षाकर्मीको उपस्थितिमै कांग्रेस उम्म्देवार सिंहले बुथ क्याप्चर गरेको दावी गरे । आफ्नो पार्टीका पोलिङ एजेन्टलाई बस्न नदिइएको र मतदातालाई भयरहित ढंगले मतदान गर्नबाट वञ्चित गरिएको अध्यक्ष ठाकुरले दावी गरे । “सुरक्षाकर्मीको उपस्थितिमै बुथ क्याप्चर भयो ।” बुधवार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले भने–“हाम्रा पार्टी प्रतिनिधिलाई मतदान स्थलमा बस्न दिइएन, महिला मतदाता माथी समेत हातपात भयो” । मतदातामाथि गोली चलाउने र कुटपीट गर्ने जस्तो निच काम हुँदा समेत स्थानीय प्रहरी प्रशासन चुप बसेको अध्यक्ष ठाकुरको आरोप थियो ।
तत्काल सम्बन्धित निकायलाई जानकारी गराउँदा कुनै सुनवाई नभएको अध्यक्ष ठाकुरले गुनासो गरे । मतदान सुरु हुनु अघि नै र घटना भए लगतै पनि तत्काल मन्त्रीपरिषद अध्यक्ष, निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायको प्रमुखलाई घट्नावारे तत्काल जानकारी गराउँदा समेत कुनै सुनुवाई नहुनुले राज्य नै कांग्रेस उम्मेद्वार सिंहलाई जिताउन पुरा शक्ति लगाएको स्पष्ट भएको बताए ।
पत्रकारहरुसँग कुरा गर्दै तमसपा नेपालका अध्यक्ष महेन्द्र राय यादवले ६ नम्बरको निर्वाचनमा भएका गतिविधिले लोकतन्त्रको मूल्य मान्यताको धज्जी उडाएको वताए । राज्यले समयमै जनताको आक्रोसलाई सम्बोधन नगरे शान्ति सुरक्षा खल्बलिने उनले चेतावनी दिए । तमसपा नेपालका उक्त क्षेत्रका उम्मेद्वार शिवपुजन रायले कांग्रेस उम्मेद्वारले मतदानको दिन आतंक सृजना गरेर मतदातालाई मतदानबाट वञ्चित गरिएको बताए । रायले सुरक्षा ब्यबस्था अत्यन्त फितलो भएको उल्लेख गर्दै पुनः मतदान नभए मतगणना गर्न नदिने बताए । “यस्तो पनि चुनाव हुन्छ ?” उनले प्रतिप्रश्न गर्दै भने–“उम्मेद्वारमाथि नै आक्रमण भएको छ, त्रासपूर्ण वातावरणमा एकतर्फी मत छाप्ने काम भयो ।”
सद्भावना पार्टीका उम्मेद्वार फकिरा महतोले बलरा गाविसमा बुथ क्याप्चर भएको सुनेर त्यस क्षेत्रतर्फ जाने क्रममा आफुमाथि काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको दावी गरे । “बलरा क्षेत्रमा बुथ कब्जा भएको छ भन्ने खबर आएपछि म त्यसतर्फ जाँदै गरेको थिएँ ।” सद्भावना उम्मेद्वार महतोले भने–“तर बाटैमा घेरेर म माथि कुटपिट भयो र मैले प्रयोग गर्ने गरेको जीप तोडफोड गरिएको छ ।” उनले बलरा र धनकौल गाविसमा मतदान काय पूनः हुनुपर्ने माग गरे ।
राप्रपा नेपालका उमेदवार चन्दन सिंह, एमाले उमेदवार ममतादेवी सिंहका प्रतिनिधि संजिव सिंह लगायतले चुनावका नाममा कांग्रेसले गुण्डागर्दी गरेको र मतदातालाई तर्साएर एकतर्फी बुथ छापेको आरोप लगाए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेर बसेका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेपछि ३ जना घाईते भएका छन् । प्रहरीको बल प्रयोग पछि प्रदर्शनकारीहरु थप आक्रोशित भएका थिए । लगतै तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय प्रतिनिधि केदारनन्दन चौधरी, तमसपा नेपालका उम्मेद्वार शिवपुजन राय लगायतको नेतृत्वमा प्रदर्शकारीहरुको समूह जिविस चोकतर्फ आएको थियो । केहीबेर जिविस चौरमा बसेपछि प्रदर्शनकारीहरुले जिविस चोकमा सवारी साधन एवं स्थानीय पसलहरुमा ढुंगामुढा गरेका थिए ।
जिविस चोकमा गुडिरहेका एसके ०२–७२७१ नम्बरको भारतीय जीपमा तोडफोड गर्दै अगाडी बढेको प्रदर्शनकारीहरुको समूहले मलंगवा नगरपालिका–८ स्थित कांग्रेस नेता सुरेन्द्र सिंहको घरमा ढुंगामुढा गरेपछि गोली समेत चलेको स्थानीय बासिन्दाले बताएका छन् । प्रदर्शनकारीहरुले सिंहले घरबाटै गोली चलाएको आरोप लगाएका छन् भने सिंहले प्रदर्शनकारीहरुले गोली प्रहार गरेको दावी गरेका छन् । गोलीबाट केही प्रदर्शनकारीहरु घाईते समेत भएको दावी गरिएको छ ।
प्रदर्शनकारीहरुले दिनभर नेपाली कांग्रेस एवं उम्मेद्वार अमरेश सिंह विरुद्ध आक्रामक नाराबाजी गरेका थिए । प्रदर्शनकारीहरुले स्थानीय प्रहरी प्रशासन विरुद्ध समेत आक्रोशित नाराबाजी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारिएको उल्लेख गर्दै गोली फायर लगायत घटनाबारे छानवीन भईरहेको बताए ।
No comments:
Post a Comment