पराजीत उम्मेद्वार लामाको ‘जितेको संस्कार’
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
जुटपानी, मङसिर १० । गत मङ्सिर ४ गते मंगलबार सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनका क्रममा खसेको मतदानका आधारमा प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र मध्ये हरेक क्षेत्रबाट १ उम्मेद्वारले जिते भने धेरैजसो उम्मेद्वाहरुले पराजीत व्यहोरे । सर्लाहीमा पनि ६ वटा क्षेत्रमा खडा भएका स्वतन्त्र सहित २ सय ५५ जना उम्मेद्वारहरु मध्ये ६ जनाले मात्र जीत हाँसिल गरेका छन् । बाँकी २ सय ४९ जनाले हार व्यहोरे । संविधान सभा सदस्यमा निर्वाचित उम्मेद्वारलाई विजयोत्सव ¥याली मनाउँदैमा फुर्सद छैन भने पराजीत उम्मेद्वारहरु कुना पसेका छन् । अधिकांश पराजीत उम्मेद्वारहरुको हालको अवस्था भनेको, खोज्दा पनि नभेटिने गरी कता हो कता ?
तर सर्लाहीकै क्षेत्र नं. २ मा विजयी भएका नेपाली कांग्रेसका रामचन्द्र चौधरीसँग मख्य प्रतिस्पर्धी रहेका नेकपा एमालेका सुरेन्द्र लामा भने त्यसको अपवाद हुन् । हार व्यहोरेपनि उनी निर्वाचनको मतगणनाको परिणाम घोषणा भएको भोलीपल्टदेखि क्षेत्रमै सकृय देखिन्छन् । उनले सोमबार विहान आफूसँगै प्रतिस्पर्धी अनि विजयी भएका नेपाली कांग्रेसका चौधरीलाई दोसल्ला ओढाएर फुलमालाले स्वागत गर्दै बधाई समेत दिन भ्याए ।
नेत्रगंज गाविसको जुटपानी स्थित पदम् भुवनेश्वरी वृद्धसेवाआश्रममा आयोजित अनौपचारिक कार्यक्रमका बीच संविधान सभा निर्वाचनमा पराजीत उम्मेद्वार लामाले विजयी भएका चौधरीलाई थप सफलताको कामना दिए । ‘‘जनमतको कदर गर्दै म हार स्वीकार गर्दछु ।’’ विजयी भएका चौधरीलाई दोसल्ला सहित सम्मान गरेपछि उनले भने–‘‘विजयी हुनुभएका संविधान सभा सदस्य माननीय रामचन्द्र चौधरीलाई मुलुक, जनता अनि सर्लाही र त्यसमा पनि क्षेत्र नं. २ को जनमतको कदर गर्दै अगाडी बढ्न आग्रह गर्दछु ।’’
निर्वाचनका क्रममा नराम्रोसँग हार व्यहोरेपछि एकिकृत नेकपा माओवादी लगायत विभिन्न दल अनि तिनका उम्मेद्वारहरुले सम्पन्न भएको संविधान सभाको दोस्रो निर्वाचनमा व्यापक धाँधली भएको र षडयन्त्र पूर्वक हराईएको दावी गरिरहेका छन् । यस्ताखाले चर्चासँगै पराजित एमाले उम्मेद्वार लामाले भने जनमतको उचित कदर गर्दै निर्वाचनका क्रममा कुनै धाँधली र षडयन्त्र नभएको दावी गरे । ‘‘लोकतन्त्रमा जनमत सबैभन्दा ठूलो कुरा हो, त्यसैले मैले पनि जनमतको कदर गर्नै पर्दछ ।’’ उनले अगाडी थपे–‘‘हार्ने वितिकै हतास मनस्थिती बनाउँदै अनेकखाले आरोप लगाउने र जित्ने वितिकै विजयोन्माद् प्रदर्शन गर्नु अलोकतान्त्रिक संस्कार हो ।’’
पछिल्लो समय जातिय र क्षेत्रीय खालका नारा दिएर मुलुकमा जातिय भड्काव् ल्याउने, सद्भाव विगार्ने लगायत षडयन्त्र भईरहेको उल्लेख गर्दै लामाले त्यस्ता खतरातर्फ सजग भएर समग्र मुलुक र जनताको हित हुनेगरी नयाँ संविधान निर्माणमा एक कदम अगाडी बढेर पहलकदमी गर्न समेत निर्वाचित सभासद् चौधरीलाई आग्रह गरे । उनले २ नं. क्षेत्रमा मुलुक र जनताको हित अनुकुल काम गर्ने क्रममा आईपर्ने जुनसुकै सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता समेत चौधरीसमक्ष व्यक्त गरे ।
संविधान सभा सदस्यमा निर्वाचत चौधरीले पनि जातिय, क्षेत्रिय जस्ता नाराको पछि नलागी समग्र मुलुक र जनताको हितमा लागिपर्ने र सोही अनुसार पार्टीको नीतिको परिधि भित्र रही संविधान निर्माणमा सकृय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । ‘‘यो पार्टी, उ पार्टी अथवा यो जात, उ जात भन्दा पनि अब हाँमी सबै नेपाली भएर समग्र मुलुक र जनताको हित हुनेगरी नयाँ संविधान जारी गर्नेतर्फ अगाडी बढ्नुपर्छ ।’’ निर्वाचित सभासद् चौधरीले लामाप्रति इंगित गर्दै भने–‘‘म र तपाईमा कुनै फरक छैन, विकास निर्माण अनि संविधान निर्माणमा आपसी सहयोगका साथ सँगै हातेमालो गरेर अगाडी बढ्न तयार छु र त्यसै गर्छु ।’’
अनौपचारिक कार्यक्रम भएपनि उपस्थित संचारकर्मी अनि दुवै पार्टी नेता कार्यकर्ता लगायत सबैले संविधान सभा सदस्यमा निर्वाचित चौधरी र मुख्य प्रतिस्पर्धी पराजीत लामाको भनाई प्रति ताली बजाएर समर्थन र खुसी व्यक्त गरेको आभास देखिन्थ्यो । हारेर पनि अपराजीत अनि उत्साहपूर्ण देखिने उनको व्यवहार देख्दा जो कसैले भन्न सक्छ–‘पराजीत लामाको जितेको संस्कार’ । ‘‘निर्वाचनमा हारेर पनि सुरेन्द्रजीले व्यवहारमा आफुले नै जितेको आभास गराए ।’’ नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष रोशन न्यौपानेले भने–‘‘प्रतिस्पर्धामा उत्रेपछि हारजीत त भईहाल्छ, जे भएपनि स्वीकार गर्नु नै सबैभन्दा ठूलो कुरा हो र लोकतान्त्रिक संस्कारको अनुपम नमूना हो ।’’ कार्यक्रममै एमालेकी जिल्ला सदस्य वेचि लुंगेलीले पनि निर्वाचित सभासद् चौधरीलाई खादा ओढाएर सम्मान गरिन् ।
गत मङ्सिर ४ गते मंगलबार सम्पन्न संविधान सभा सदस्यको दोस्रो निर्वाचन अन्तर्गत क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामचन्द्र चौधरीले ६ हजार ४ सय ७ मत प्राप्त गरी विजयी हाँसिल गरे भने बाँकी ४१ जना उम्मेद्वारहरुबीच नेकपा एमालेका सुरेन्द्र लामा ६ हजार ३ सय ५९ मत ल्याएर मुख्य प्रतिस्पर्धीको रुपमा रहेका थिए । निर्वाचनमा विजयी भएका कांग्रेसका चौधरी हाल विजयोत्सव ¥याली गर्दै क्षेत्र अन्तर्गत गाउँ–गाउँ घुमिरहेका छन् भने लामाले आफूलाई मत दिने क्षेत्रका सबै जनता एवं नेता कार्यकर्तालाई धन्यवाद् दिन र आगामी दिनमा पनि उल्लेख्य सहयोग गर्न आग्रह सहित क्षेत्र भ्रमण जारी रहेको बताए ।
No comments:
Post a Comment