समानुपातिकको मतगणना जारी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १० । संविधान सभाको दोस्रो निर्वाचन अन्तगर्त गत मङ्सिर ४ गते मंगलबार सम्पन्न मतदानको समानुपातिक मतगणना जारी छ । सर्लाहीका ६ वटै क्षेत्रको मतगणना अनुसार प्रत्यक्षतर्फ जुन पार्टीको उम्मेद्वारले जितेको छ सोही पार्टीलाई बढी मत परेको देखिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्णकमल अधिकारीले बताए । ‘‘अहिलेसम्मको मतगणना अनुसार प्रत्यक्षतर्फ जुन पार्टीको उम्मेद्वार विजयी भएका छन्, समग्रमा सोही पार्टीले नै बढी मत पाएको भेटिएको छ ।’’ उनले सोमबार राती सर्लाही दैनिकसँग भने–‘‘सबै मतगणना भईसक्दा केही तलमाथि पनि पर्न सक्ला ।’’
क्षेत्र नं. १ र २ को जिल्ला जनस्वास्थ्य कार्यालयमा, ३ र ४ का मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ५ र ६ को जिल्ला विकास समितिको सभाहलमा मतगणना भईरहेको छ । क्षेत्र नं. १ का निर्वाचन अधिकृत विदुर काÇलेले सोमबार रातीसम्म ४० वटा मतपेटिकाको मतगणना भईसकेको बताए । उनका अनुसार १ सय २० दललाई मत परेको छ ।
त्यस्तै क्षेत्र नं. २ का निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले ३३ वटा मतपेटिकाको गणना सकिएको र ५३ वटाको बाँकी रहेको बताए । त्यसैगरी क्षेत्र नं. ३ को ४८ वटा मतपेटिकाको गणना सकिएको र ३६ वटा मतपेटिकाको गणना हुन बाँकी रहेको निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले बताए ।
त्यस्तै क्षेत्र नं. ४ मा सोमबार रातीसम्म ४२ वटा मतपेटिकाको गणना जारी रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण कमल अधिकारीले बताए । उक्त क्षेत्रमा ८८ वटा मतदान केन्द्रका ८८ मतपेटिका तथा १ अस्थायी (मलंगवा स्थित कर्मचारीले कर्मचारीले मात्र मत खसालेको मतपेटिका) मतदान केन्द्रको मतपेटिका रहेका छन् । त्यहाँ हालसम्मको गणनामा तराई मधेश सद्भावना पार्टी नेपाल अगाडी रहेको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए ।
६ वटै क्षेत्रका समानुपातिकतर्फका मतगणना गत आईतबार दिउँसोदेखि सुरु भएको थियो । बुधबारसम्म सबै क्षेत्रको मतगणना सम्पन्न हुने अनुमान गरिएको छ ।
No comments:
Post a Comment