Sunday, November 17, 2013

निर्वाचनका लागि नेपाल–भारत सिमाक्षेत्र ‘सिल’

निर्वाचनका लागि नेपाल–भारत सिमाक्षेत्र ‘सिल’
सर्लाही समाचारदाता
मलंगवा, मङसिर २ । आगामी मङ्सिर ४ गते मंगलबार हुने संविधान सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यान दिदै भारतीय सिमा क्षेत्र ‘सिल’ (आवजावत बन्द) गरिएको छ ।
शनिबार राती १२ बजेदेखि सिमाक्षेत्र सिल भएको प्रमुख जिल्ला अधिकारी दिनेश घिमिरेले बताए । प्रजिअ घिमिरेका अनुसार आगामी मंगलबार राती १२ बजेसम्म सिमाक्षेत्र सिल हुनेछ । सिलका कारण सिमा क्षेत्र पूर्ण रुपले ठप्प भएको छ । नेपालतर्फ सशस्त्र प्रहरीले पहरा दिईरहेका छन् भने भारततर्फ भारतीय सिमा सुरक्षाबलका सुरक्षाकर्मीले रोक लगाईरहेका छन् ।
खुला सिमाका कारण निर्वाचनका क्रममा हात हतियार ओसारपसार हुनसक्ने, आपराधिक घटना हुन सक्ने लगायत कारणले सिमा क्षेत्र सिल गरिएको प्रजिअ घिमिरेले बताए । ‘‘निर्वाचनमा अप्रिय घटना गराउनका लागि आपराधिक व्यक्ति वा समूहले खुला सिमालाई उपयोग गर्न सक्ने भएकाले सिमा क्षेत्र सिल गरिएको हो ।’’ प्रजिअ घिमिरेले भने–‘‘शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नका लागि सिमा क्षेत्र सिल हुँदा धेरैहदसम्म सहयोग पुग्ने विश्वास लिएका छौं ।’’
प्रजिअ घिमिरेले सिमा क्षेत्र सिल हुँदा सर्वसाधारणलाई मार परेको भएपनि मुलुककै
महाअभियानको रुपमा रहेको संविधान सभा निर्वाचन सफलताका लागि केही कठिनाई व्यहोर्न आग्रह समेत गरे । सिमा क्षेत्रका बासिन्दा दैनिक उपभोग्य सामग्रीको खरिद विक्री समेत भारतीय बजारमा गर्ने गरेका छन् । भारतमा निर्वाचन हुँदा समेत दुई देशका सुरक्षा अधिकारीहरुको निर्णय अनुसार सिमा क्षेत्र सिल हुने गर्दछ ।
नेपाल र भारतका सुरक्षा अधिकारीहरुको गत कात्तिक १४ गते विहिबार भारतको सितामाढीमा भएको बैठकले निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै ७२ घण्टा सिमा क्षेत्र सिल गर्ने निर्णय गरेको थियो । बैठकमा सर्लाही सहित रौतहट र महोतरीका प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको थियो भने भारतकोतर्फबाट सितामाढी जिल्लाकी प्रमुख डा. प्रतिमाको नेतृत्वमा सुरक्षा अधिकारीहरुको प्रतिनिधित्व रहेको थियो ।

No comments:

Post a Comment