Saturday, November 16, 2013

छैठौं दिनपनि बन्द जारी

छैठौं दिनपनि बन्द जारी
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर ०१ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले आव्हान गरेको चक्काजामका कारण शनिबार छैठौं दिनपनि सर्लाहीमा पर्याप्त सार्वजनिक सवारी साधन चलेनन् ।
बन्दका कारण पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लामो दुरीका सार्वजनिक यातायात दिनभर ठप्प रहेको थियो । छोटा दुरीका माईक्रो, म्याजिक र टेम्पो भने फाट्टफुट्ट चलेका थिए । विभिन्न राजनैतिक दलका निर्वाचन प्रचारप्रसारका जीप लगायत चारपाङग्रे सवारी साधनहरु निर्वाध चलेका थिए भने मोटरसाईकलहरु गुडेका थिए ।
नवलपुर–मलंगवा, नयाँरोड–बरहथवा, पूmलजोर–इश्वरपुर लगायत पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी क्षेत्र जाने मुख्य सडकहरुमा समेत पार्टीका प्रचार प्रसार सवारी साधन र मोटरसाईकल बाहेक कुनै पनि सवारी साधन चलेका थिएनन् । सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम गराउन सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राहीहरु एवं कार्यालयमा काम गर्न जाने कर्मचारीहरु मर्कामा परेका थिए ।
सुरक्षाकर्मीको स्कर्टिङमा पूर्वपश्चिम राजमार्गमा भने केही लामो दुरीका सवारी साधनहरु चलेका थिए ।
सर्लाहीबाट राजधानी काठमाण्डौं लगायत जाने सहित अन्य जिल्लाबाट पूर्व–पश्चिम राजमार्गमा गुड्ने लामो दुरीका सवारी साधनलाई भने राती नै प्रहरीले स्कर्टिङ गरेर कटाउने गरेको छ । बन्दकर्ताहरु प्रदर्शनमा उत्रन नसकेको भएपनि सार्वजनिक सवारी साधन पर्याप्त रुपले चल्न सकेको छैन ।
आगामी संविधान सभाको निर्वाचन कथित र विदेशीको इसारमा हुन लागेको भन्दै नेकपा–माओवादी नेतृत्वको विभिन्न दलहरुको मोर्चाले गत कात्तिक २५ गते आमहड्ताल गरेको थियो भने त्यसपछि निर्वाचनको मिति तोकिएको दिनसम्म लगातार चक्काजाम आव्हान गरेको छ ।
सर्वोच्च अदालतले बिहीबार वैद्य माओवादी लगायत निर्वाचन वहिष्कार गर्ने दलीय मोर्चाविरुद्ध बन्द फिर्ता लिन अन्तरिम आदेश जारी गरेपनि नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले शुक्रबार पत्रकार सम्मेलन गरी अदालतको आदेश नमान्ने बताएका छन् ।
वैद्य समूहले बन्द गरेकै दिन २५ गते डेमोक्रेटिक लयर्स एसोसिएसनले त्यसलाई रोकी पाऊँ भनी हालेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्चका वरिष्ठतम न्यायाधीश रामकुमार प्रसाद शाहको इजलाशले यस्तो आदेश दिएको हो ।

No comments:

Post a Comment