Friday, November 29, 2013

न्यायाधिश र सिडिओले धन्यवाद दिए

न्यायाधिश र सिडिओले धन्यवाद दिए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १४ । संविधान सभा निर्वाचन २०७० का क्रममा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेका जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले सफल रुपले निर्वाचन सम्पन्न गराउनका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् ।
‘‘निर्वाचन सफल रुपले सम्पन्न भयो, प्रत्यक्ष र समानुपातिकको मतगणना समेत सकियो ।’’ जिल्ला न्यायाधिश अधिकारीले शुक्रबार सर्लाही दैनिकसँग कुरा गर्दै भने–‘‘सबै पक्ष, तह र तप्काको सहयोग एवं समन्वयमा मुलुककै महाअभियानको रुपमा रहेको निर्वाचन सफल रुपले सम्पन्न भएको हो ।’’ निर्वाचन सफल पार्नका लागि अहोरात्र खट्नुहुने कर्मचारी, सुरक्षाकर्मी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी, नागरिक समाज, शिक्षा सम्बद्ध संघ संगठनका प्रतिनिधि लगायत सरोकारवाला सबैमा  न्यायाधिश अधिकारीले धन्यवाद प्रकट गरे ।
निर्वाचन सामग्रीहरु सम्बन्धित कार्यालयमा बुझाउने कामहरु समेत सकिएको न्यायाधिश अधिकारीले बताए । ‘‘के हो–कसो हो भन्ने आशंकाका बीच निर्वाचन सफल रुपले सम्पन्न भयो ।’’ न्यायाधिश अधिकारीले भने–‘‘निर्वाचनका क्रममा छिटफुट बाहेक अपृय घटना भएन ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारी सहित निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला अदालत सर्लाहीका अन्य तीनजना न्यायाधिशले निर्वाचनको काम सकिएकाले शुक्रबारबाटै अदालती काम सुरु गरेका छन् ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले पनि निर्वाचनका क्रममा आ–आÇनो जिम्मेवारी अनुसार खटिएका राष्ट्र सेवक कर्मचारी र विभिन्न निकाय एवं गैर सरकारी क्षेत्रका व्यक्तित्वहरुलाई धन्यवाद प्रकट गरे । शुक्रबार सर्लाही दैनिकसँग कुरा गर्दै प्रजिअ घिमिरेले छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको समेत दावी गरे ।

No comments:

Post a Comment