Wednesday, November 13, 2013

सवारीमा आगजनी, आन्दोलनकर्ता बेखबर

सवारीमा आगजनी, आन्दोलनकर्ता बेखबर
सर्लाही समाचारदाता
हरवन, कात्तिक २७ । आसन्न संविधान सभाको निर्वाचन प्रचार–प्रसार मा प्रयोग भएको उम्मेद्वारका सवारी साधनहरुमा आगलागीका घटनाहरु वृद्धि हुन थालेका छन् ।
जिल्लामा दैनिक एकपछि अर्काे गरी उम्मेद्वारको सवारी साधनमा आगजनी भएतापनि आन्दोलनकारी नेतृत्व बेखबर छ ।
संघिय समाजवादी पार्टीका क्षेत्र नं. २ का उम्मेद्वार मो. रिजवान अन्सारीले निर्वाचन प्रयोजनका लागि बा. ३ च ६५५७ नम्बरको महेन्द्रा जीपमा मंगलबार राती आगजनी भएको छ । हरिवन गाविस–४ स्थित घरदैलोका क्रममा विग्रिएर बाटैमा राखिएको सो जीप राती अज्ञात समूहले आगजनी गरेका थिए । आगलागीबाट पछाडीका दुईवटा चक्का पड्किएर पछि स्थानिय बासिन्दाले आगो निभाएका थिए । चक्का पड्किएर आएको आवाजले स्थानिय बासिन्दा विउझिएर आगो निभाएपछि जीप थप क्षति हुनबाट जोगिएको थियो । यसअघि पार्टी सम्पर्क कार्यालय अगाडी राखिएको क्षेत्र नं. २ का एमाओवादी उम्मेद्वार राजकुमार राय यादव र जिविस चोकमा राखिएको क्षेत्र नं. ४ का एमाले उम्मेद्वार राजनारायण साहको जीपमा आगजनी भएको थियो । निर्वाचनमा प्रयोग भएका उम्मेद्वारका सवारी साधन राती नजिकैको प्रहरी कार्यालयमा राख्न समेत जिल्ला सुरक्षा समितिले आव्हान गरेको छ ।
निर्वाचन प्रति असन्तुष्ट भई निर्वाचन बहिस्कार गर्दै हड्ताल शुरु गरेको नेकपा–माओवादी (वैद्य) ले सवारी आगजनीमा आफुहरुको संलग्नता नरहेको जनाएको छ । माओवादी जिल्ला इन्चार्ज विश्वजित डिसीले आफुहरुले सैद्धान्तिक र बैचारिक रुपबाट निर्वाचनको विरोध गरेको तर हिंसात्मक गतिविधीहरु नगरेको बताए । डिसीले भने –‘आन्दोलनको नेतृत्व गरेको आफ्नो पार्टीको आवरणमा गलत तत्वले फाइदा उठाएको हुनसक्ने आशंका भएपछि आगजनीका घटना बारे आन्तरिक छानविन शुरु गरेका छौं ।’ आफुहरु भूमिगत भएको हल्ला सत्य नभएको उल्लेख गर्दै डिसीले बैचारिक रुपमा निर्वाचनको बहिस्कार गरिरहने जानकारी दिए ।

No comments:

Post a Comment