अनुदानको गहुँमा कालाबजारी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १५ । राष्ट्रिय बिउ विजन कम्पनी हेटौडाले सर्लाही जिल्लामा रहेको डिलरलाई उपलब्ध गराएको ७० मेट्रिक टन अनुदान प्राप्त गहँुको बिउमा कालाबजारी भएको छ ।
कम्पनीले ३६ रुपैया ५० पैसामा उपलब्ध गराएको बिउ जिल्लामा ढुवानी सहित ४० देखि ४२ रुपैयामा विक्रि गर्नुपर्नेमा डिलरहरुले ५५ देखि ६० रुपैया सम्म विक्रि वितरण गरेको कृषकहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय सर्लाहीका वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले डिलरले गहुँको बिउ भारतमा समेत चोरी निकासी गरेको जानकारी दिएका छन् । कृषि कार्यालयको सिफारिसमा उपलब्ध गराउनु पर्ने बिउ राष्ट्रिय बिउ विजन कम्पनी हेटौडाले डिलरहरुलाई मनोमानी ढंगले उपलब्ध गराउँदा यस किसिमको समस्या आएको होे । जिल्लामा गहुँको बिउ आएको खबर पाएपछि कृषि कार्यालयबाट डिलरको अनुगमनमा गएको टोलीले विक्रि गरेको बिउको बिल भरपाई नपाईएको र गहुँको बिउ भारतमा समेत निकासी गरिएको अनुगमन टोलीका एक सदस्यले जनाए ।
जिल्लाका अधिकांश ठाउँमा अहिले पनि खेतमै धान रहेकोले अब केहि दिन पछि गहुँ लगाउने बेलामा जिल्लाको बिउ भारतमा चोरी निकासी भएपछि यहाँ बिउको अभाव हुने कार्यालयले जनाएको छ । राष्ट्रिय बिउ विजन कम्पनीले यस वर्ष यस जिल्लालाई १ सय ५० मेट्रिकटन गहुँको बिउ उपलब्ध गराएको छ । जस मध्ये कम्पनीले डिलरहरुलाई ७० मेट्रिक टन उपलब्ध गराई सकेको छ भने बाँकी रहेको ८० मेट्रिकटन गहुको बिउ कृषि कार्यालयले कृषक समुह, डिलर र सहकारी संघ संस्था मार्फत वितरण गर्ने निर्णय गरेको कृषि प्रसार अधिकृत बिजय मण्डले जानकारी दिए ।
No comments:
Post a Comment