Thursday, November 14, 2013

आयो नुनमा कालाबजारी ः ३ व्यापारी पक्राउ

आयो नुनमा कालाबजारी ः ३ व्यापारी पक्राउ
सर्लाही समाचारदाता
मलंगवा २८ कात्तिक । एकाएक चलेको निराधार हल्लाका कारण जिल्ला स्थित विभिन्न बजारहरुमा विहिबार दिनभर नुनको भाउमा भारी वृद्धि भएको छ । अभाव हुने र मूल्य बढ्ने हल्ला चलेसँगै किन्ने उपभोक्ताहरुको लाइन लागेपछि व्यापारीहरुले झण्डै ७ गुणा बढीसम्म मूल्य लिएर नुन विक्री गरेका छन् । एक्कासी माग बढेपछि थोक एवं खुद्रा व्यापारीहरुले नुनको कालाबजारी गरेको उपभोक्ताहरुले बताएका छन् । १६ रुपैया पर्ने ‘आयोनुन’ एककिलोको प्रतिपोकालाई २०, ३०, ५० हुँदै सयरुपैयाँसम्ममा विक्री गरेको स्थानीय बासिन्दाले बताएका छन् । कालाबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयका अधिकृत नेतृत्वको सुरक्षा टोलीले सदरमुकाम मलंगवाबाट ३ जनालाई पक्राउ गरेको छ । ‘‘प्रतिकिलो सयरुपैयासम्म लिएको गुनासो आएपछि बजार अनुगमन गर्न पठाउँदा त्यस्तो भेटिएपछि केही कालाबजारी गर्ने व्यापारीलाई पक्राउ गरिएको छ ।’’ प्रजिअ घिमिरेले विहिबार राती सर्लाही दैनिकसँग भने–‘‘भोली अझ प्रभावकारी ढंगले बजार अनुगमन गर्छौं ।’’
नुनको कालाबजारी गरेको आरोपमा मलंगवा नगरपालिका–१०, बसपार्क स्थित अर्चना किराना पसलका २० वर्षिय विवेक मिश्र, मलंगवा नगरपालिका–४ स्थित नाम नलेखिएको किराना पसलका २२ वर्षिय अनिल पाण्डे र मलंगवा नगरपालिका–८ स्थित अम्बिका किराना पसलका ६२ वर्षिय शिवशंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए । उनीहरुलाई कालाबजारी नियन्त्रण ऐन अनुसार कार्वाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला स्थित विभिन्न क्षेत्रका उपभोक्ताबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रकाश पोखरेलको नेतृत्वमा प्रहरी सहितको टोलीले सदरमुकाम मलंगवाको बजार अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी घिमिरले बताए । मलंगवा–८ स्थित एक खुद्रा व्यापारीका अनुसार मध्यान्हबाट नुन किन्ने ग्राहकहरुको क्रमशः चाप बढेको थियो । ‘‘मैले त पसलमा भएको एक बोरा नुन साविककै मूल्यमा विक्री गरेर होलसेल पसलमा लिन जाँदा पो त्यस्तो हल्लाबारे थाहा पाँए ।’’ उनले भने–‘‘पहिला ७ सय रुपैयामा आउने बोरालाई १ हजार दिँदा पनि होलसेल पसलबालाले १ बोरा भन्दा बढी दिएनन् ।’’ सयौं बोरा नुन गोदाममा भएपनि एकहजार दिन्छु भनेर २ बोरा माग्दा समेत सँधै लिने गरेको होलसेल पसलका सञ्चालकले ‘नुन छैन, पैसाको कुरै नगर्नुस्’ भन्दै नदिएको उनले दावी गरे ।
सदरमुकाम मलंगवा, बरहथवा, हरिवन, इश्वरपुर, लालबन्दी लगायत जिल्लाका प्रमुख बजार एवं ग्रामीण भेकका पसलहरुमा समेत प्रतिपोका सयरुपैयासम्ममा किनबेच भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् । कतिपय खुद्रा पसलका सञ्चालकले भने हल्ला थाहा नपाएका कारण सहि मूल्य लिएरै नुन विक्री गरेर सकेका थिए भने कतिपय होलसेल एवं खुद्रा व्यापारीले अनावश्यक हल्ला चलेको र माग बढेको थाहा हुने वितिकै नुनको अभाव देखाएर ७ गुणासम्म बढी मूल्य लिएका थिए । ‘‘हामीलाई त केही थाहा थिएन, नुन किन्नेको ताँती लागेको थियो, सँधै विक्री गर्ने मूल्यमै दियौं ।’’ हरिवन स्थित थापा वैष्णव होटल एण्ड किराना पसलका सञ्चालक चन्द्रबहादुर थापाले विहिबार सर्लाही दैनिकसँग भने–‘‘१ बोरा नुन विक्री हुन १ महिना लाग्थ्यो तर आज एकै छिनमा सकियो र होलसेल पसलमा पूनः नुन लिन जाँदामात्र बल्ल त्यस्तो हल्ला सुनियो ।’’
अगामी मंसिर ४ गते हुने संविधान सभा निर्वाचनको पूर्व संध्यामा भएको चक्काजाम एवं निर्वाचन पूर्व ७२ घण्टा नेपाल भारत सीमामा हुने नाकाबन्दीका कारण नुनको अभाव हुने र भारतमा नुन उद्योगमा आगलागी समेत भएकाले नेपाली बजारमा लामै समय नून अभाव हुने एवं भाउ समेत बढ्ने निराधार हल्लाका कारण किन्ने उपभोक्ताहरुको लाइन लागेपछि होलसेल एवं खुद्रा पसलेहरुले कालाबजारी गरेको बताईएको छ । साल्ट टे«डिङमा पर्याप्त नुन ‘स्टक’ रहेको समेत बताईएको छ । हल्लाको पछि लागेर व्यापारीहरुले प्रतिकिलो १६ रुपैया पर्ने नूनको एक पोकालाई सय रुपैया पर्ने बताईरहेका छन् । जिल्ला स्थित प्रमुख व्यापारी केन्द्रका थोक व्यापारीहरुले प्रयाप्त मात्रामा नून रहेपनि आफुहरुसँग नून नभएको बताउने गरेको स्थानीय उपभोक्ताले दावी गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सर्लाहीका अध्यक्ष समेत रहेका युवा संघ नेपाल सर्लाहीका अध्यक्ष घुर्कौली निवासी उत्तर कुमार मैनालीले व्यापारीहरुले नुनमा कालाबजारी गरेर उपभोक्तालाई ठगी गरेको बताए । उनले कालाबजारी गर्ने व्यापारीहरुमाथि कडा कार्वाहीको माग समेत गरे ।
प्रमुख बजारहरुको हल्ला सुनेर गाउँघरमा समेत विहिबार नूनको भाउ सयरुपैया बताईरहेको औरहीका रबिन्द्र राउतले बताए । ग्राहकलाई भ्रममा पारेर कालाबजारी गर्ने दाउमा पसलेहरु रहेको मलंगवाका आनन्द मोहन यादवले बताए । सीमापारीको भारतीय बजार सोनवर्षामा भने नूनको भाउ विहिबार दिनभर भारतीय १२ रुपैया प्रतिकिलो मात्र रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले साल्ट ट्रेडिङको वीरगंज स्थित कार्यालयमा सम्पर्क हुँदा भाउ बढेको कुनै जानकारी नआएको बताए । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ मार्फत नेपाल भित्रिने नुनमा व्यापारीहरु आफैले भाउ बढाएर कालाबजारी गरेको जानकारहरु बताउँछन् । ‘‘नुनको भाउ बढ्ने र घट्ने काम साल्ट ट्रेडिङबाटै हुन्छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘व्यापारीहरुले त्यहीबाटै नुन किनेर विक्री गर्ने हुन् ।’’

No comments:

Post a Comment