Friday, November 15, 2013

‘नुनको अभाव छैन’–प्रजिअ घिमिरे

‘नुनको अभाव छैन’–प्रजिअ घिमिरे
सर्लाही समाचारदाता
मलंगवा २९ कात्तिक । नुनको अभाव सम्बन्धि हल्ला निराधार भएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताएका   छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको विरगंज स्थित कार्यालयमा सम्पर्क भईरहेको र नुनको अभाव नरहेको जानकारी आएको प्रजिअ घिमिरेले बताए । ‘‘मैले निरन्तर वीरगंज स्थित साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालयमा सम्पर्क गरिरहेको छु ।’’ प्रजिअ घिमिरेले शुक्रबार सर्लाही दैनिकसँग भने–‘‘नुन जति चाहिएपनि छ, भन्ने जानकारी आएको छ ।’’
एकाएक चलेको हल्लाका कारण विहिबार दिनभर सदरमुकाम मलंगवा सहित जिल्लाका प्रमुख व्यापारिक केन्द्र एवं ग्रामिण बजारहरुमा नुन किन्ने उपभोक्ताहरुको लाम लागेको थियो । नुन किन्ने उपभोक्ताको चाप शुक्रबार पनि रहेको व्यापारीहरुले बताएका छन् । उपभोक्ताहरुको चाप बढेपछि व्यापारीहरुले १५ रुपैया पर्ने आयो नुनको एकपोकालाई सय रुपैयासम्ममा विक्री गरेका थिए ।
अभाव हुने र मूल्य बढ्ने हल्ला चलेसँगै किन्ने उपभोक्ताहरुको लाइन लागेपछि व्यापारीहरुले झण्डै ७ गुणा बढीसम्म मूल्य लिएर नुन विक्री गरेका छन् । एक्कासी माग बढेपछि थोक एवं खुद्रा व्यापारीहरुले नुनको कालाबजारी गरेको उपभोक्ताहरुले बताएका छन् ।
नुनको कालाबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयका अधिकृत नेतृत्वको सुरक्षा टोलीले विहिबार साँझ  सदरमुकाम मलंगवाबाट ३ जना व्यापारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुलाई आगामी मंसिर ९ गते हाँजीर हुने शर्तमा शुक्रबार छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नुनको कालाबजारी गरेको आरोपमा मलंगवा नगरपालिका–१०, बसपार्क स्थित अर्चना किराना पसलका २० वर्षिय विवेक मिश्र, मलंगवा नगरपालिका–४ स्थित नाम नलेखिएको किराना पसलका २२ वर्षिय अनिल पाण्डे र मलंगवा नगरपालिका–८ स्थित अम्बिका किराना पसलका ६२ वर्षिय शिवशंकर साहलाई अनुगमन टोलीले पक्रउ गरेको थियो ।
अनावश्यक हल्ला चलाएर उपभोग्य सामानको कालाबजारी गर्नेलाई कानून अनुसार कडा कार्वाही गरिने प्रजिअ घिमिरेले बताए ।

No comments:

Post a Comment