यस्तो छ, सर्लाहीमा निर्वाचन सुरक्षा
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक २५ । आगामी मंसिर ४ गते हुने संविधान सभा निर्वाचनका लागि जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताएका छन् । सम्बन्धित सुरक्षा निकायहरुले गराएको जानकारी अनुसार निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी तीनहजार पाँचसय भन्दा बढी हतियारले सुसज्जीत सुरक्षाकर्मीहरु परिचालन भईसकेका छन् । मुलुककै महाअभियानको रुपमा रहेको निर्वाचन असफल पार्न हुने क्रियाकलाप विरुद्ध जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रजिअ घिमिरेले चेतावनी दिए । नेपाल प्रहरीको पहिलो घेरा, सशस्त्र प्रहरीको दोस्रो घेरा र नेपाली सेनाको तेस्रो घेरामा गस्ती भईरहेको र संवेदनशिल स्थानहरुलाई ध्यानमा राख्दै तीनवटै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ राखिएको समेत प्रअिज घिमिरेको कथन छ ।
वैद्य नेतृत्वको नेकपा–माओवादी सहितको निर्वाचन विरोधी दलहरुको मोर्चाबाट हुन सक्ने गतिविधी नियन्त्रणका लागि सुरक्षाकर्मीहरु सकृय रुपमा खटिईसकेको उल्लेख गर्दै प्रअिज घिमिरेले निर्वाचन विरोधी हड्ताल र बन्द निस्तेज पार्दै आ–आÇना व्यवसाय एवं काम निर्धक्कसँग सुचारु राख्न आम जिल्लाबासीसँग अनुरोध गरेका छन् । ‘‘तीनवटै सुरक्षा निकायबाट टोलीहरु खटिईसकेको छ ।’’ प्रजिअ घिमिरेले भने–‘‘आम जिल्लाबासीले निर्धक्कसँग आ–आÇना व्यवसाय र काम सुचारु राखे हुन्छ ।’’
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट एकहजार आठसय हाराहारीमा सुरक्षाकर्मीहरु खटिएका छन् । आठ सय ५३ जनाको दरबन्दी रहेको सर्लाहीमा आठ सय ६२ जना थप सुरक्षाकर्मीहरु माथिल्लो निकायबाट आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायण ओलीले बताए । उनका अनुसार संवेदनशिल मानिएका क्षेत्र नंं. १, २, ३ र ६ मा प्रहरी नायव उपरीक्षक (डिएसपी) कै नेतृत्वमा टोली खटाईएको छ । जसमध्ये ३ वटा क्षेत्रहरुमा डिएसपी खटिईसकेका छन् भने १ क्षेत्रमा मंगलबारसम्म खटिने जिल्ला प्रहरी कार्यालयले जनायो ।
डिएसपी कुशल रानाभाटले इलाका प्रहरी कार्यालय केशरगंज वा लालबन्दी मध्ये १ स्थानमा रहेर क्षेत्र नंं. १ को मोर्चा सम्हाल्नेछन् । जिल्ला प्रहरी कार्यालयमा आईसकेका रानाभाट मंगलबारसम्म त्यस त्यस क्षेत्रमा खटिने बताईएको छ । त्यस्तै डिएसपी राजाराम अधिकारीले इलाका प्रहरी कार्यालय हरिवनमा रहेर क्षेत्र नं. २ का लागि सुरक्षा मोर्चा सम्हाल्ने छन् ।
डिएसपी जगन्नाथ गौतमले भने ईलाका प्रहरी कार्यालय बरहथवामा रहेर क्षेत्र नंं. ३ को सुरक्षा मोर्चा सम्हाल्ने छन् भने डिएसपी कृष्ण पंगेनीले इलाका प्रहरी कार्यालय गडहियामा रहेर क्षेत्र नं. ६ को मोर्चा सम्हाल्ने छन् । यसअघि १ मात्र डिएसपी रहने जिल्ला प्रहरी कार्यालयको मातहतमा हाल ४ जना डिएसपी निर्वाचनकै सुरक्षाका लागि थपिएका छन् ।
यसबाहेक एकहजार चारसय ६५ जना म्यादी प्रहरी पनि परिचालन भईसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले जिल्लाको सुरक्षा व्यवस्था उच्च पारिएको दावी गर्दै आपराधिक घटना एवं निर्वाचन विरोधी क्रियाक्लाप गर्ने जो कसैलाई कडा कार्वाही गरिने बताए ।
त्यस्तै सशस्त्र प्रहरीले पनि निर्वाचन क्षेत्रलाई आधार मानेर ६ वटा क्षेत्रीय निर्वाचन सुरक्षा वेस अन्तर्गत डिएसपीकै नेतृत्वमा सुरक्षा व्यवस्था मिलाएको छ । सशस्त्र प्रहरीका ११ सय भन्दा बढी सुरक्षाकर्मीहरु निर्वाचन सुरक्षाका लागि परिचालन भएको बताईएको छ । जसअनुसार क्षेत्र न.ंं १ का लागि सागरनाथ बेस अन्तर्गत १ सय ३० जना, क्षेत्र नं. २ का लागि हरिवन बेस अन्तर्गत १ सय ३० जना, क्षेत्र नं. ३ का लागि धरहरा वेस अन्तर्गत १ सय ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भरतबहादुर बस्नेतले बताए ।
त्यस्तै क्षेत्र नं. ४ का लागि त्रिभुभवनगर वेस अन्तर्गत १ सय ३० जना, क्षेत्र नं. ५ का लागि सुन्दरपुर बेस अन्तर्गत १ सय ३० जना र क्षेत्र नं. ६ का लागि बाराउद्योरण वेस अन्तर्गत १ सय ७१ जना सशस्त्र प्रहरीहरु परिचालन भएका छन् । डिएसपी बस्नेतका अनुसार सदरमुकाम मलंगवामा डिएसपीकै नेतृत्वमा ८० जनाको जिल्ला निर्वाचन सुरक्षा वेस राखिएको छ भने ५० जनाको ‘स्ट्याण्डबाई’ टोली राखिएको छ ।
त्यस्तै नेपाली सेनाले पनि पाचसय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिसकेको जनाएको छ । रिपुमद्र्धन गण नवलपुरका गणपति मनोज वैदवारले जिल्लाको ६ वटै क्षेत्रमा सेनाको टोलीले गस्ती लगाएतका कामहरु सुरु गरिसकेको बताए ।
सेनाले हरेक निर्वाचन क्षेत्रमा कम्तीमा ४० जनाको दरले रहने गरी निर्वाचन सुरक्षाका लागि क्याम्प खडा गरिसकेको छ । जसमा क्षेत्र नं. १ अन्तर्गत इश्वरपुरको वयलबास बजारमा, २ नं. क्षेत्रका लागि नेत्रगंज स्थित पाँचकुमारीमा, ३ नं. क्षेत्र अन्तर्गत कर्मैया गुल्म, ४ नं. क्षेत्रका लागि मलंगवा सेमु, ५ नं. क्षेत्रका लागि सुन्दरपुर र ६ नं. क्षेत्रका लागि खैर्वामा क्याम्प खडा गरेर सेनाको टोली परिचालन गरिएको गणपति वैदवारले बताए । गणपति वैदवारका अनुसार संवेदनशिलताका कारण क्षेत्र नं. ६ मा भने दुई स्थानमा क्याम्प राखिने छ । वेल्वाजब्दीमा पनि सेनाको क्याम्प हुनेछ ।
पाँचकुमारी, कर्मैया र मलंगवामा सेनाको टोली यसअघि नै कार्यरत रहेको भएपनि सुन्दरपुर, खैर्वा, वेल्वाजब्दी र बयलवासमा भने नयाँ क्याम्प खडा गरिएको हो ।
त्यस्तैगरी दुईसयजनाको ‘स्ट्याण्डबाई’ टोली समेत राखिएको गणपति वैदवारले बताए । गण अन्तर्गत नेत्रगंजको पाँचकुमारीमा र मलंगवामा सय–सय जनाको दरले स्ट्याण्डबाई टोली राखिएको र कतै केही हुनेवितिकै उक्त टोली तुरुन्त परिचालन हुने नेपाली सेनाले जनाएको छ ।
गत शनिबार सदरमुकाम मलंगवामा आएका क्षेत्रीय प्रशासक सहित तीनवटै सुरक्षा निकायका क्षेत्रीय प्रमुखहरुले सुरक्षा व्यवस्था उच्च बनाउन कुनै कञ्जुस्याँई नगर्न र चुस्त दुरुस्त ढंगले कामकार्वाही अगाडी बढाउन जिल्ला स्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका
थिए । सुरक्षा व्यवस्था सहित समग्र निर्वाचनको गतिविधी अनुगमन गर्ने गरी निर्वाचन आयोगले खटाए अनुसार प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्ल गत शुक्रबार नै सर्लाही आईसकेका छन् ।
मुलुकमै अति संवेदनशिल जिल्लाको रुपमा रहेकाले सर्लाहीमा अन्य जिल्लाको तुलनामा बढी सुरक्षाकर्मीहरु आएका छन् । जिल्ला भित्र समेत अति संवेदनशिल क्षेत्रहरुमा विशेष निगरानीका साथ बढी नै सुरक्षाकर्मीहरु खटाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वैद्य नेतृत्वको आमहड्ताल सहितको बन्दको कार्यक्रमलाई ध्यानमा राख्दै सोमबारबाट नेपाली सेनाको टोलीले समेत थप सकृयताका साथ गस्ती सुरु गरेको छ ।
जिल्ला स्थित सुरक्षा स्रोतका अनुसार निर्वाचन विरोधी मोर्चाले केही गर्न सक्ने अनुमानका साथ क्षेत्र नं. १, २ र ३ मा तथा पहिलादेखिकै अति संवेदनशिल क्षेत्रको रुपमा परिचित ६ नं. मा सुरक्षाकर्मीहरुको संख्या बढाईएको छ । हरेक निर्वाचन क्षेत्रमा ‘आईपरे गोली नै प्रहार गर्ने’ सम्मको अधिकार दिएर ३ वटा विशेष सुरक्षा टोली खटाइएको एक सुरक्षा अधिकारीले बताए ।
No comments:
Post a Comment