सर्लाही समाचारदाता
हरिवन, कात्तिक २३ । आगामी संविधान सभा निर्वाचनका क्रममा आचारसंहिता उल्लंघन गर्ने जो कसैलाई कानून अनुसार कडा कार्वाही गरिने निर्वाचन आयोगका अनुगमनकर्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लले बताएका छन् ।
शनिबार सदरमुकाम मलंगवामा पत्रकारहरुसँग कुरा गर्दै सचिव मल्लले आचारसंहिता उल्लंघन गर्ने जो कसैलाई तत्काल पाँचसय देखि १० हजार रुपैयासम्म जरिवाना गरिने बताए । ‘‘आचारसंहिता उल्लंघन गर्ने राजनैतिक दल र उम्मेद्वार एवं विभिन्न सरकारी एवं अद्र्धसरकारी निकाय तथा संचारक्षेत्र सहित सम्बन्धित सबैपक्षलाई समेत निर्वाचन कसुर र सजाय ऐन २०६३ अनुसार कार्वाही गरिन्छ ।’’ सचिव मल्लले भने–‘‘अनुगमनका क्रममा घुम्दै गर्दा आचार संहिता उल्लंघन गरेको फेला परे तत्काल कार्वाही गर्नेछु र देख्नुहुने जोकसैले मलाई सोझै खबर गर्न समेत सक्नुहुनेछ।’’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय वा निर्वाचन कार्यालय मार्फत आएका उजुरीमा पनि कार्वाही गरिने मल्लको प्रतिबद्धता थियो ।
मल्लका अनुसार जिल्लाको सुरक्षा अवस्थाको अनुगमन गर्ने र आवश्यक पर्ने सहयोग माथिल्लो निकायमा माग गर्ने लगायतका कामहरु समेत उनले हेर्नेछन् । निर्वाचनका क्रममा मतदान कार्य सम्पन्न नभएसम्म सर्लाही र रौतहटको अनुगमन गर्ने सचिव मल्लले सर्लाहीका केही भागमा देखिएको तत्कालिन अवस्थाहरु हेर्दा सुरक्षा अवस्था, आचारसंहिता उल्लंघन लगायतमा सामान्य देखिएको र आईतबारदेखि दक्षिणी क्षेत्र सहित विस्तृतमा जिल्लाको स्थलगत अनुगमन गरिने जानकारी दिए ।
शुक्रबार साँझ सर्लाही आइपुगेका मल्ललाई निर्वाचन आयोगले १ सदस्यीय अनुगमन टोलीको रुपमा खटाएको हो । स्वच्छ, निश्पक्ष र भयरहित ढंगले संविधान सभाको आगामी निर्वाचन सम्पन्न गर्नका लागि राज्य नै होमिएकाले यसमा सहयोग पु¥याउन समेत सचिव मल्लले सम्बन्धित सबैपक्षसँग आग्रह गरे ।
निर्वाचन आयोगले सिंहलाई अनुगमन गरी यथार्थ विवरण पेश गर्ने, जिल्ला स्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरु, राजनैतिक दलका नेताहरु, उम्मेद्वार, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुसँग आवश्यक समन्वय गरी निर्वाचनको वातावरण तयार पार्ने, आचार संहिता उल्लंघन गर्नेलाई स्थलगत रुपमै कार्वाही गर्ने लगायत अधिकार प्रत्यायोजन सहित पठाएको हो । आइतबार बिहान सर्वदलीय बैठक राखिएको र दिउँसो क्षेत्र नं. ६ लगायत दक्षिणी क्षेत्रको स्थलगत अनुगमन गरिने सचिव मल्लले बताए ।
उनी नेत्रगंज गाविस स्थित उष्णप्रदेशिय वागवानी केन्द्रको अतिथि गृहमा बसेर सर्लाही र रौतहटको अनुगमन गर्नेछन् । यसअघि हरिवन स्थित इन्दु शंकर चिनी उद्योगको अतिथि गृहमा बस्ने तयारी भएपनि शनिबारबाट उनी बस्ने स्थान परिवर्तन गरिएको हो ।
No comments:
Post a Comment