Tuesday, November 12, 2013

बन्दका कारण यातायात ठप्प

बन्दका कारण यातायात ठप्प
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २६ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले आव्हान गरेको चक्काजामका कारण मंगलबार सर्लाहीको जनजिवन प्रभावित भएको छ ।
बन्दका कारण पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा यातायात दिनभर ठप्प रहेको थियो । विभिन्न राजनैतिक दलका निर्वाचन प्रचारप्रसारका जीप लगायत चारपाङग्रे सवारी साधनहरु भने निर्वाध चलेका थिए ।
नवलपुर–मलंगवा, नयाँरोड–बरहथवा, पूmलजोर–इश्वरपुर लगायत पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी क्षेत्र जाने मुख्य सडकहरुमा समेत पार्टीका प्रचार प्रसार सवारी साधन र मोटरसाईकलबाहेक कुनै पनि सवारी साधन चलेका थिएनन् । सवारी साधन नचलेका कारण उत्तरी क्षेत्रबाट सरकारी काम गराउन सदरमुकाम मलंगवा जानुपर्ने सेवाग्राहीहरु एवं कार्यालयमा काम गर्न जाने कर्मचारीहरु मर्कामा परेका थिए ।
खिलराज रेग्मी नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोर्चाले चुनाव विथोल्न सोमबार आमहड्ताल आव्हान गरेको थियो भने मंगलबारबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि यातायात बन्दको आव्हान गरेको छ ।
बन्द गराउन भन्दै कोही नहिडेको भएपनि यातायात स्वतः स्फूर्त बन्द भएका थिए ।

No comments:

Post a Comment