Sunday, November 10, 2013

‘कांग्रेस बुढो र एमाले अवसरवादी’–प्रचण्ड

‘कांग्रेस बुढो र एमाले अवसरवादी’–प्रचण्ड
सर्लाही दैनिक समूह
हरिवन, कात्तिक २२ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेस बुढो र नेकपा एमाले अवसरवादी भएको आरोप लगाएका छन् । पार्टीले गत बुधबारदेखि सुरु गरेको मेची–महाकाली जागरण अभियान अन्तर्गत शुक्रबार सर्लाही आईपुगेका एमाओवादी अध्यक्ष प्रचण्डले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी, हरिवन र कर्मैयामा सम्बोधन गर्ने क्रममा सो आरोप लगाएका हुन् । ‘‘नेपाली कांग्रेसको रुख धोद्रो पसेर बुढो भईसकेको छ ।’’ चुनावी सभाहरुमा सम्बोधन गर्ने क्रममा उनले भने–‘‘नेकपा एमाले अवसरवादी र वेईमान हो, जसका राष्ट्रिय अध्यक्ष सर्लाहीबाटै चुनावमा उठेका छन्, तपाईहरुले निधार खुम्च्याएर विचार गर्नुहोला ।’’
नेपाली कांग्रेसलाई २००७ सालदेखि जनताले विश्वास गरेर पटक–पटक जिताए पनि उसले मुलुकमा आमुल परिवर्तन गर्न नसकेको अध्यक्ष प्रचण्डको आरोप थियो । ‘‘राणा शासनको अन्त्य गर्ने नेतृत्व गरेका कारण कांग्रेसलाई २००७ सालमा जनताले दुईतिहाई मत दिएर जिताए, २०४६ सालमा पनि गणेशमान, गिरीजा लगायत नेता सहित कांग्रेसकै नेतृत्वमा परिवर्तन भएकाले ०४८ सालको चुनावमा कांग्रेसलाई नै झिनो बहुमत प्राप्त भयो ।’’ प्रचण्डले दावी गरे–‘‘तर कांग्रेसले मुलुकमा कुनै आमुल परिवर्तन गर्न सकेन र जुन पार्टी बुढो पनि भईसक्यो ।’’
धोद्रो पसेको बुढो रुखले थिचेर कांग्रेस कमजोर बनिसकेको र गिरिजा प्रसाद कोइरालाका निधन पश्चात कांग्रेस भन्ने शक्ति हराईसकेको प्रचण्डको दावी थियो ।
त्यस्तै नेकपा एमाले अवसरवादी र वेइमान पार्टी भएको उनले आरोप लगाए । विगतमा प्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणमा एमालेले आफूलाई ठूलो धोका दिएकोप्रति आक्रोशित हुँदै प्रचण्डले भने–‘‘एमाले रुख चढाएर फेद् काट्ने बेइमान र अवसरवादी पार्टी हो ।’’ उनले कटुवाल प्रकरणमा एमाले अध्यक्ष खनालले चिन भ्रमणमै रहेका बेला कार्वाही गर्न उक्साए पनि नेपाल प्रवेश गर्ने वितिकै त्यसको विरोधमा राष्ट्रपतिसमक्ष विन्ति पत्र हाल्न अगाडी पुगेको आरोप लगाए । ‘‘एमाले अवसरवादी र वेइमान हो, उसको कुनै अडान र नीति नै छैन ।’’ अध्यक्ष प्रचण्डको आरोप थियो–‘‘उसले देश र जनताप्रति कुनै जिम्मेवारी बहन गर्नै सक्दैन ।’’ आÇनै पार्टीका लोकप्रीय एवं जनप्रीय नेता मदन भण्डारीलाई नै जोगाउन नसक्ने एमालेको त्यहीबाट पतन सुरु भएको समेत अध्यक्ष प्रचण्डको दावी थियो ।
एमालेका नेताहरु मुलुकलाई अग्रगमनतर्फ लैजान विचार र नीति विहिन रहेको समेत अध्यक्ष प्रचण्डको आरोप थियो । ‘‘विगतमा पूर्वराजा ज्ञानेन्द्रको कदमलाई आदि प्रतिगमन सच्चियो भनेर भेटी चढाउने एमालेकै नेताहरु हुन् ।’’ प्रचण्डले प्रतिप्रश्न गरे–‘‘अनि कसरी एमाले लोकतान्त्रिक र अग्रगामी शक्ति हुन्छ ?’’ विगतको चुनावमा एमाओवादीले बहुमत नपाएकै कारण एमाले लगायत अवसरवादी शक्तिहरुको साथ लिएर सरकार चलाउन बाध्य भएको र जसका कारण राजनैतिक अस्थिरताका कारण ५ वटा सरकार बनेको तथा मुलुकले नयाँ संविधान पाउन नसकेको प्रचण्डको प्रश्टोक्ति थियो ।
निश्चित कालखण्डमा जसको नेतृत्वमा परिवर्तन हुन्छ, सोही शक्तिलाई जनताले जीत दिलाएको उदाहरण पेश गर्दै अध्यक्ष प्रचण्डले संविधान सभाको माग प्रमुख रुपमा एमाओवादीकै भएकाले आगामी निर्वाचनमा एमाओवादीलाई नै जनताले रुचाउने विश्वास व्यक्त गरे । ‘‘जसको नेतृत्व र नीतिमा परिवर्तन हुन्छ, सोही शक्तिलाई जीत दिलाउनु आवश्यक छ ।’’ उनले आग्रह गरे–‘‘त्यसैले तपाईहरुले विचार गरेर मतदान गर्नुहोला, जसको नीति र नेतृत्वमा मुलुकको भाग्य कोर्ने संविधान सभाको निर्वाचन हुँदैछ, उसैलाई चुन्नुहोस् ।’’
मुलुक संविधान सभाको निर्वाचनमा प्रवेश गर्ने परिवर्तन कांग्रेस र एमालेले सिंहदरवार एवं राजामहाराजाले नारायणहिटीबाट ल्याएको नभई जनताको संघर्षका कारण प्राप्त भएको उनको भनाई थियो । ‘‘माओवादीले जातियतामा लग्यो भन्ने लगायत अन्य दलका नेताहरुले अनेकथरी आरोप लगाएका छन् ।’’ अध्यक्ष प्रचण्डले भने–‘‘सबै भाषाभाषी र जातजातीको पहिचान र सम्मान सहितको संघीयता अनि संघीयता सहितको संविधानका लागि एमाओवादी अनवरत रुपमा लडिरहेको छ, जातिय रुपमा मुलुक टुक्र्याउने लगायत आरोप मिथ्या हुन् ।’’ हरेक मुलुकमा एकपटक मात्र संविधान सभाको चुनाव हुने गरेको भएपनि नेपालमा भने अपवादका कारण दोस्रोपटक हुन लागेको उनको भनाई थियो । यसै निर्वाचन मार्फत बन्ने संविधान सभाबाटै मुलुकले नयाँ संविधान पाउने ठोकुवा समेत अध्यक्ष प्रचण्डले गरे ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच पूर्व महोत्तरीबाट आउने क्रममा झण्डै ११ बजे लालबन्दी प्रवेश गरेका प्रचण्ड हरिवनको सभा हुँदै १ बजे दिउँसोतिर कर्मैया छाडेर पश्चिमतर्फ लागेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डको वरीपरी दर्जनौं सुरक्षाकर्मी अनि उनीहरुको सवारीसाधनको लर्को (काफिला) हेर्दा उनले जनताबाटै असुरक्षीत महसुस गरेका छन् की भन्ने भान जो कसैले गर्न सक्थ्यो । जिल्ला स्थित तीनवटै चुनावी सभामा एमाओवादी अध्यक्ष प्रचण्डले आफू एवं आÇनो पार्टीको गुनगान र कांग्रेस तथा एमालेको बद्ख्वाई गर्नमै मन्तव्यको सम्पूर्ण समय खर्चीएका थिए । अध्यक्ष प्रचण्डसँगै एमाओवादी उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, मधेश ब्यूरो इन्चार्ज रामचन्द झा, मिथिला राज्यका नेता विश्वनाथ साह लगायत नेताहरु समेत रहेका थिए । सभाहरुमा अध्यक्ष प्रचण्ड बाहेक अन्य केन्द्रीय नेताहरुले भने बोलेका थिएनन् ।
एमाओवादी सर्लाही क्षेत्र नं. १ का इन्चार्ज धु्रव ढकालको सभापतित्व रहेको लालबन्दीको सभामा सोही पार्टीका क्षेत्र नं. १ का उम्म्देवार शम्भुलाल श्रेष्ठले प्रतिबद्धता मन्तव्य राखेका थिए । द्वन्द्वकालिन समयमा सर्लाही इन्चार्ज रहेका र हाल सर्लाही हेडक्वाटर सदस्य लुमणी धिमाल (लोचन) को सञ्चालन रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता एमाओवादीमा प्रवेश गरेको सो पार्टीले दावी गरेको छ । केही कार्यकर्तालाई भने अध्यक्ष प्रचण्डले नै अविर लगाएर स्वागत गरेका थिए ।
त्यस्तै हरिवनमा २ नं. क्षेत्रका इन्चार्ज अर्जुन पन्तको सभापतित्वमा चुनावी सभा भएको थियो । कार्यक्रममा एमाओवादी क्षेत्र नं. २ का उम्मेद्वार राजकुमार राय यादवले प्रतिबद्धता मन्तव्य राखेका थिए । हरिवनमा पनि विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको एमाओवादीले जनाएको छ । त्यस्तै कर्मैयामा पनि चुनावी सभा भएको र अध्यक्ष प्रचण्डले सम्बोधन गरेको जनाईएको छ ।

No comments:

Post a Comment