गिट्टी चोरीमा कार्वाही जारी
सर्लाही समाचारदाता
मलंगवा, पुस ४ । नवलपुर–मलंगवा सडकखण्ड पूनर्निर्माण गर्ने भारतीय ठेकेदारले थुपारेको ढुंगा–गिट्टी चोरी घटनामा कार्वाही प्रकृया अगाडी बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गिट्टी चोरी गर्दा गर्दै पक्राउ परेका दुईजनालाई दोस्रो पटक म्याद थप भएको र थप अनुसन्धान प्रकृया चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनायो । गत मंसिर २६ गते हरिपुर गाविस–९ निवासी ३१ वर्षिय मनोहरी कँडेल र २० वर्षिय अनिल साहलाई प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक नेतृत्वको टोलीले पक्राउ गरेको थियो । टोलीले राती साँढे ९ बजे उनीहरुसँगै ना. ३ ख ९६६८ नम्बरको १० चक्के एक टिफर तथा एक स्काभेटर समेत नियन्त्रणमा लिएको हो । दुईवटै सवारीसाधन हाल घटनास्थलमै रहेका छन् ।
हरिपुर स्थित सिद्धि विनायक एग्रिगेट गिट्टी–ढुंगा क्रसर उद्योग नजिक थुपारेर राखेको थुप्रोबाट स्काभेटरमार्फत ढुंगा गिट्टी चोरी गर्दै गरेको अवस्थामा दुईजना चालक सहित एक स्काभेटर र एक टिफर पक्राउ परेका हुन् । हरिपुरमा पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मलंगवामा नै राखेर सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाईएको छ ।
झण्डै दुईसाता अघिदेखि चोरी भईरहेपनि स्थानीय इलाका प्रहरी कार्यालय हरिपुरले कुनै कार्वाही अगाडी बढाएको थिएन । ईप्रका हरिपुरकै मिलेमतोमा उक्त चोरी भएको अनुमान स्थानीय बासिन्दाले गर्दै आएका थिए । नजिकै सञ्चालित सिद्धिविनायक एग्रीगेट ढुंगा गिट्टी क्रसर उद्योगबाट आफूहरुलाई पठाएको पक्राउ परेका चालकले बताएका छन् । उक्त क्रसर उद्योग हरिपुरका चन्द्रीका साहको हो । प्रहरी उपरीक्षक धानुकले कसले भनेर तिमीहरुले गिट्टी उठाएको भनेर सोध्दा साहुले अह्राएका कारण उठाएको भन्ने जवाफ चालकहरुले दिएका थिए । अनि तिमिहरुको साहु को हो भन्ने एसपी धानुकको प्रश्नमा उनीहरुले चन्द्रीका साह भनेर जवाफ दिएका थिए । प्रहरीले ढुंगा गिट्टी चोरी गरी प्रयोग गर्ने मुख्य मान्छेलाई भने हालसम्म पनि पक्राउ गर्न सकेको छैन । पक्राउ परेका अभियुक्तहरु भने कामदार हुन् ।
प्रहरी उपरीक्षक धानुकले सम्बन्धित निकायहरुसँगबाट कति गिट्टी थुपारिएको हो र कति चोरी भयो भन्ने बारेमा विस्तृतमा अनुसन्धान भईरहेको र दोषि देखिएका जो कोहीलाई कार्वाही गरिने बताए । प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले पनि दोषिमाथि कानून अनुसार कार्वाही गरिने बताउँदै आएका छन् ।
भारत सरकारसँग नेपाल सरकारको सम्झौता अनुसार उक्त ढुंगा गिट्टी भारतीय ठेकेदार कम्पनी भिष्वा कन्स्ट्रक्सनलाई कर विना नै उपलब्ध गराइएको हो । जिल्ला अनुगमन समितिको निर्णय अनुसार भारतीय ठेकेदारले बागमति, लखन्देही, फूलजोर र कालिञ्जोर खोलाबाट १ लाख ९० हजार घनमिटर ढुंगागिटी संकलन गर्न अनुमति पाएको थियो । हाल सम्पर्क विहिन अवस्थामा रहेको भारतीय ठेकेदार कम्पनीले केही समयअघि जुटपानी, हरिपुर र हरैया नजिक नवलपुर–मलंगवा सडक पुनर्निर्माणमा प्रयोग हुने ढुंगा गिटी थुपारेर राखेको छ ।
No comments:
Post a Comment