बालबालिकालाई पोलियो थोपा खुवाईयो
सर्लाही समाचारदाता
मलंगवा, पुस ६ । राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत शनिबार जिल्लाभरका ५ वर्ष मुनीका बालबालिकालाई पोलियो थोपा खुवाईएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सर्लाहीमा १ लाख ५१ हजार ८ सय १५ जना पाँच वर्ष मुनीका बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सचिदानन्द देवले बताए । जसमा १ वर्ष मुनीका २१ हजार ९ सय ४७ तथा सोभन्दा माथि पाँचवर्ष मुनीका १ लाख २९ हजार ८ सय ६८ बालबालिका रहेका छन् । शनिबार विहानैदेखि दिनभर महिला स्वास्थय स्वयंसेविकाले गाउँ–गाउँमा बालबालिकालाई पोलियो थोपा खुवाएका थिए ।
शनिबार कतिपय बालबालिका छुटेका हुनसक्ने भएकाले आइतबार पनि महिला स्वयंसेवीकाले छुटपुट बालबालिकालाई पोलियो थोपा खुवाउने प्रमुख देवले बताए । जिल्ला स्थित ९९ वटै गाविस र मलंगवा नगरपालिकामा बालबालिकालाई पोलियो थोपा खुवाउन शनिबार १ हजार ३ सय ५१ महिला स्वास्थ्य स्वयंसेविका सहित जनस्वास्थ्यका कर्मचारीहरु खटिएका थिए ।
कति बालबालिकालाई पोलियो थोपा खुवाईयो भन्ने एकिन तथ्यांक भने दुईचार दिनपछि मात्र आउने जनस्वास्थ्य प्रमुख देवले बताए । ‘‘कोही बालबालिका जिल्ला बाहिर गएका हुन सक्छन् भने कतिपय बालबालिका बाहिरबाट जिल्लामा आएको समयमा पोलियो थोपा खाएका हुन सक्छन् ।’’ जनस्वास्थ्य प्रमुख देवले भने–‘‘त्यसैले भोलीपनि महिला स्वयंसेवीकाहरुले छुटेका हुन सक्ने गाउँहरुमा बालबालिकालाई पोलिया थोपा खुवाउने छन् ।’’
आगामी माघ ११ गते दुईपटक गरेर जिल्लाका सम्पूर्ण बालबालिकालाई पोलियो थोपा खुवाईने जनस्वास्थ्य प्रमुख देवले बताए । मुलुकभर पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको बताईएको छ ।
सन् २०१० यता पोलियो रोगका विरामी देखा नपरेकाले यहि चरण नै पोलियो थोपा खुवाउने अभियान अन्तिम पटक हुने सरकारले जनाएको छ । हिमाली क्षेत्रका ७ जिल्लामा भने पहिलो चरणमा आगामी चैत ८ र ९ तथा दोस्रो चरणमा २०७१ वैशाख १३ र १४ गते पोलियो थोपा खुवाईने छ ।
No comments:
Post a Comment