Sunday, December 22, 2013

जसको ‘मोष्टवाण्डेट’, उनैको सभासद्

जसको ‘मोष्टवाण्डेट’, उनैको सभासद्
शम्भुलाल श्रेष्ठ

–राजु केसी
काठमाडौं, पुस ७ । २०६० को वरिपरी जतिबेला तत्कालिन नेकपा        (माओवादी) को ‘जनयुद्व’ उत्कर्षमा थियो । त्यहि पार्टीको सर्लाही जिल्ला कमिटिको ‘मोष्टवाण्डेट’ सूचीमा थिए, शम्भुलाल श्रेष्ठ ।
कस्तो सूची भने यदि माओवादीका जनसेनाले शम्भुलाई भेटे भने हत्या गरिहाल्नुपर्ने, त्यसका लागि कसैको आदेश कुर्नु नपर्ने । ‘जनयुद्व’ विरुद्ध गतिविधि गरेको माओवादीको निष्कर्षमा उनलाई भौतिक कारबाहीका लागि खोजिभइरहेको थियो । उनी माओवादीलाई छक्काउँदै लुकेर हिड्थे । ‘धेरै दिन घरमा बास पनि बस्न आइन’ शम्भुले सम्झिए ।
उनी त्यसै माओवादीको तारो भएका थिएनन् । उनी पञ्चायती पृष्ठभूमि बोकेको परिवारका ‘खरो काँग्रेस’ थिए । सर्लाहीको पत्थरकोट गाउँ विकास समितिमा पञ्चायतकाल भरी प्रधानपञ्च रहेका गोपिलाल श्रेष्ठका छोरा शम्भु पछिल्ला दुवै स्थानीय निर्वाचनमा सोही गाविसमा काँग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए । विगत २५ वर्ष देखि काँग्रेसमा सक्रिय, उनी संविधानसभा निर्वाचन–२०७० को उम्मेदवारी दर्ता नगर्दासम्म पार्टीको महासमिति सदस्य थिए ।
अब कथाले नयाँ मोड लियो, शम्भु सभासद् भए त्यो पनि हिजो आफैलाई मार्न खोजी गर्ने पार्टी एमाओवादीबाट । चानचुन हैन एमालेको ‘लाल किल्ला’ मा त्यही पार्टीका राष्ट्रिय अध्यक्ष झलनाथ खनाललाई हराएर । सो क्षेत्रमा ०४८ सालमा कांग्रेसले जीत हाँसिल गरेपनि त्यस यताका सबै निर्वाचनमा एमालेले पकड जमाएको थियो ।
२०५६ साल देखि २०७० को संविधानसभा निर्वाचनसम्म सर्लाहीको क्षेत्र नम्बर १ मा क्षेत्रीय कमिटिले उनलाई टिकटका लागि एकनम्बरमा सिफरिस गर्दै आयो । तर केन्द्रले कहिल्यै पत्याएन । ‘यसपटक चाँही मेरो नाममा केन्द्रले निर्णय गरिसक्यो भन्ने सूचना मलाई साथीहरुले दिनुभएको थियो । तर पछि झलनाथ खनालले लड्ने भएपछि पार्टी सभापतिको अपवित्र गठबन्धनबाट मेरो नाम हटाइए छ ।’ उनले भने, ‘झलनाथले शम्भु उठे मलाई गाह्रो हुन्छ भनेकोले सभापतिले मेरो नाम टिकट लिष्टबाट हटाएछन् ।’
टिकट चटारोमा उनी काठमाडौंमै थिए । काँग्रेसबाट टिकट नपाएको कुरा क्षेत्रमा पनि पुग्यो । त्यहाँका शुभेच्छुकबाट काँग्रेस छोडेर भएपनि यसपटक टिकट लिएर आउन शम्भुलाई सुझाव आयो । धेरैले स्वतन्त्र उम्मेदवार हुन भनेका थिए । तर झलनाथसँग प्रतिस्पर्धा गर्न संगठन भएकै पार्टी चाहिन्छ भन्ने उनको मनमा थियो । फोन गरे एमाओवादीका पार्टी कार्यालय सचिव तथा केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीलाई ।
‘पछिल्लो समय एमाओवादीलाई आर्थिक तथा केही अन्य सहयोग समेत गर्ने भएकोले उक्त पार्टीसँग मेरो राम्रो थियो ।’ शम्भुले भने ‘टिकट माग गर्न मैले आफुले राम्रोसँग चिनेका बुढाथोकीमार्फत कुरा राखें । उहाँले सहयोग गर्ने भन्नुभयो ।’
एमाओवादीले सर्लाही क्षेत्र–१ बाट लालबहादुर माझी ‘मनिष’ लाई टिकटका लागि पक्का गरिसकेको थियो । मनिषले पनि शम्भु आउने भए मैले छोड्छु भनेपछि एमाओवादीले उनलाई टिकट दिनेभयो । काँग्रेसको टिकट लिन आएका शम्भु एमाओवादीको उम्मेद्वार भएर गाउँ फर्के ।
‘द्वन्द्वकालमा माओवादीसँग मेरो सम्बन्ध राम्रो हुने कुरा भएन । उहाँहरु मलाई सफाया नै गर्ने अभियानमा हुनुहुन्थ्यो । म लुकेर हिँड्थे ।’ उनले विगत सम्झिए ‘पछि म व्यवसायी पनि भएकोले अलिअलि सहयोग गर्न थालेपछि सम्बन्ध राम्रै हुन पुग्यो । तर राजनीतिमा स्थायी रुपमा कोही शत्रु वा मित्रु नहुँदो रहेछ ।’
जितेपछि काँग्रेसको टिकट वितरण गर्न बनेको समितिका एक सदस्यले शम्भुलाई फोन गरेर बधाई दिए । उनले जवाफ दिए ‘काँग्रेस पार्टी तपाईहरुनै चलाउनुस् म अर्काे पार्टीमा लागे ।’ बधाई दिनेले टिकट नदिएर गल्ती गरेको स्वीकार गरे । ‘अर्काे पार्टीमा जाँदा मनमा जे जस्तो भएपनि अब इमान्दारिताका साथ लाग्ने सोच बनाएको छु’ उनले सभासद् पदसँग गाँस्सीएको योजना सुनाए ‘मेरो पार्टी तेस्रो पार्टी भएको छ । यही ‘पोजिसन’बाट भएपनि एमाओवादीले जनताको हितमा काम गर्नुपर्छ ।’
चुनावमा धाँधली भएको बन्ने कुरालाई मुख्यरुपमा उठाउन नहुने उनको विचार छ । ‘अब नयाँ ढंगले अघि बढ्नुपर्छ । चुनावमा धाँधली भएको भन्दै मतगणना स्थलबाट बाहिरिन त्यतिबेला मलाई पनि हेडक्वाटरको सर्कुलर आएको थियो’ शम्भुले भने ‘मैले मानिन चुनाव जितेको प्रमाणपत्र पनि लिए ।’
विगतको यथार्थ वर्तमानको समस्या
पार्टी नीति नै फरक भएपछि कांग्रेस र कम्युनिष्ट बिचको ब्यबहार, जनताका बिचमा बोल्ने भाषा पनि फरक पर्ने नै भयो । विगतमा लामो समय कांग्रेसको ‘स्कूलिङ’ बाट राजनीतिमा होमिएका श्रेष्ठलाई अहिले कम्युनिष्ट शैलीमा प्रस्तुत हुन कहिले काँही समस्या पनि पर्छ । कार्यकर्ता भेट्दा जय नेपाल भन्ने अभिवादन हात उठाउन समेत श्रेष्ठ झुक्कीने गर्छन् । उनी माओवादी शैलीमा मुठ्ठी उठाउनुको सट्टा जय नेपाल गर्छन् । संघियताको नीतिगत विषयमै श्रेष्ठलाई पटक–पटक झुक्याएको छ । ‘पहिचान सहितको संघियता भन्ने कि सामथ्र्य भन्ने म पटक पटक झुक्कीने गरेको छु ।’ श्रेष्ठले भने‘अब जे भएपनि नयाँ पार्टीमा आएपछि नयाँ सिद्धान्त मान्नै प¥यो बानी पार्दैछु ।’ (ओएनएसबाट)

No comments:

Post a Comment