शीतलहर सुरु, जनजीवन प्रभावित
सर्लाही समाचारदाता
हरिवन, पुस ११ । सर्लाही सहित तराईमा शीतलहर सुरु भएको छ । शीतलहरका कारण सर्लाहीलगायत तराईको जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।
दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन । कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
चिसोबाट बच्न अहिले घरघरमा घुर (आगो) ताप्न थालिएको छ । शीतलहर चल्न थालेपछि चिसोबाट बच्न अहिले स्थानीयवासीलाई दिनभरी घरमा नै आगो तापेर बस्न बाध्य हुनु परेको बताइएको छ । चिसो बढेसँगै बजारमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले विशेषगरीे मजदुरहरु बढी मकामा परेका छन् । विद्यालयमा बालबालिकाको संख्या पनि जाडोकै कारण घटेको पब्लिक मावि मलंगवाका शिक्षक कौशल रायले जानकारी दिए ।
जाडोका कारण बजारमा बाक्लो कपडा किन्नेको संख्या ह्वात्तै बढेको छ । सर्लाहीको मलंगवा, गैरबजार, नवलपुर, लालबन्दी, हरिवन बयलबास, बरहथवालगायतका बजारका कपडा पसलमा आजभोलि दिनभर बाक्लो कपडा किन्नेको भीड रहन्छ ।
चिसोका कारण मनिसहरुमा रुघाखोकी, कोल्डडायरियालगायतका बिरामीको चाप बढेको हरिवनका स्वास्थ्यकर्मी श्याम कुशवाहाले बताए ।
No comments:
Post a Comment