Sunday, December 15, 2013

दाताको पर्खाईमा द्वन्द्वपीडित वालगृह

दाताको पर्खाईमा द्वन्द्वपीडित वालगृह
सर्लाही समाचारदाता
घुर्कौली, मङ्सिर ३० । ‘‘११ वर्षदेखि स–साना बालबालिकालाई दुःखसुख संरक्षण दिदै आएका छौं, जेनतेन अहिलेसम्म धानीरहेका छौं, सबै क्षेत्र, तह र तप्काबाट सहयोग पाएनौं भने कहिलेसम्म यसरी धान्ने होला ?’’ यो चिन्ता मिश्रित दुःखेसो हो चेतना सन्देश नेपालद्वारा घुर्कौलीमा सञ्चालित द्वन्द्वपीडित बालगृहकी प्रिन्सिपल बेचि लुंगेलीलेको । वार्षिक ३० लाखभन्दा बढी खर्च हुने बालगृह सञ्चालनमा अत्यन्त कठिनाई व्यहोर्नु परिरहेको सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले बताए ।
द्वन्द्वपीडित परिवारका ११ जना बालबालिकालाई जिम्मा लिएर २०५९ सालदेखि सञ्चालनमा आएको घुर्कौली गाविस–२ स्थित बालगृहमा आश्रित झण्डै एकदर्जन बालबालिकाहरु हाल काठमाण्डौ स्थित विभिन्न कलेज तथा केही विद्यार्थी सर्लाहीकै विभिन्न नीजि विद्यालयहरुमा अध्ययनरत छन् । प्रिन्सिपल लुंगेलीका अनुसार अहिलेपनि उक्त बालगृहमा ३४ जना बालबालिका आश्रीत रहेका छन् । जसमा १९ जना बालिका र १५ जना बालक रहेका छन् । सुरुमा द्वन्द्वपीडित परिवारका बालबालिका मात्र संरक्षणमा लिएको संस्थाले हाल अनाथ बालबालिकालाई पनि आश्रय दिने गरेको छ ।
चेतना सन्देश नेपालका संरक्षक पञ्च लामा र श्रबण लामाले वार्षिक झण्डै १० देखि १५ लाख रुपैया हाराहारीमा वालगृहलाई सहयोग पठाउने गर्दछन् । सांगीतिक क्षेत्रमा क्रियाशिल जापानमा रहेका लामा दाजुभाईले आÇनो एल्बम विक्री, सांगीतिक कन्सर्ट लगायतबाट आएको आम्दानीको १० प्रतिशत रकम बालगृहलाई सहयोग पठाउने गरेको सुरेन्द्र लामाले बताए । ‘‘कुनै वर्ष १५ लाखपनि पुग्छ, कुनै वर्ष १० लाख पनि पुग्दैन ।’’ सुरेन्द्रले भने ।
द्वन्द्वपीडित बालगृहमा आश्रीत बालबालिकाको सम्पूर्ण भरणपोषण एवं संस्थाद्वारा सञ्चालित पञ्च इशाका प्राविका शिक्षकको पारिश्रमिक, विद्यालयको भवन व्यवस्थापन लगायतमा चेतना सन्देश नेपालले अभिभावकत्व बहन गर्नुपर्दछ । ७ कक्षासम्म अध्यापन हुने विद्यालयमा ४ सय भन्दाबढी विद्यार्थीहरु अध्ययनरत छन् अनि एकदर्जन हाराहारीमा शिक्षकशिक्षीका कार्यतर छन् । तर जिल्ला विकास समितिको कार्यालयबाट वार्षिक रुपमा पाउने १ देखि डेढ लाखबाहेक निश्चित सहयोग कुनै सरकारी निकायबाट नपाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले गुनासो गरे ।
‘‘हरेक वर्ष उदारोबाट काम चलाउने गरिएको छ ।’’ विद्यालयकी प्रिन्सिपल लुंगेलीले भनिन्–‘‘दाताबाट बेलाबेलामा आउने सहयोगबाट उदारो तिर्ने गरिएको छ र वर्षेनी एवं रितले ‘रनिङ’ मा काम चलाईराखिएको छ ।’’ आश्रीत विद्यार्थीलाई बसोबास एवं कार्यालय सहित हाल ४ वटा कोठामा बालगृहको काम चलाईएको छ । थप ४ वटा कोठा निर्माण गर्नका लागि तयारी गरिएपनि आर्थिक अभावमा नसकिएको प्रिन्सिपल लुंगेलीले बताईन् । ‘‘यसवर्षका लागि गएको दशैंमा जिविसबाट ५० हजार ल्याईसकियो, बाँकी १ लाख पछि दिने आश्वासन दिईएको छ ।’’ बालगृहकी प्रिन्सिपल लुंगेलीले भनिन्–‘‘त्योपनि चाँडै दिए, बालबालिका बस्ने भवन बनाउने थियौं ।’’ हाल जाडोयाममा बालबालिकालाई राती बस्नका लागि साह्रै समस्या भएकाले कम गुणस्तरको इट्टा झारेर भएपनि काम सुरु गर्ने तयारी भएको लामाले बताए । ‘‘भवनको भाथि ढलान गरिसकिएको छ, अब पर्खाल लगाउन पाए बालबालिकालाई बास बस्न साह्रै सजिलो हुनेथियो ।’’ लामाले आशा गरे ।
बालगृहमा सर्लाहीका विभिन्न गाविस एवं बाहिरी जिल्लाबाट समेत द्वन्द्वपीडित बालबालिकाहरु आश्रीत रहेका छन् । मुलुककै भावि कर्णधार मानिने बालबालिकाको शिक्षा दिक्षा देखि भरणपोषणसम्मको जिम्मेवारी लिएर सञ्चालन भएको द्वन्द्वपीडित बालगृहमा सरकारी तथा गैरसरकारी क्षेत्रका सरोकारवाला निकाय एवं दाताले उचित सहयोग नगरे उक्त बालगृहको अवस्था संकटपूर्ण हुने देखिन्छ ।

No comments:

Post a Comment