Wednesday, December 18, 2013

सर्लाहीको शिक्षामा १ अर्ब खर्च गरिने

सर्लाहीको शिक्षामा १ अर्ब खर्च गरिने
सर्लाही समाचारदाता
मलंगवा, पुस ३ । जिल्ला शिक्षा कार्यालयले चालु आर्थिक वर्ष ०७०÷०७१ का लागि भण्डै १ अर्व अर्थात ९९ करोड ८० लाख ७६ हजार बजेट आएको जनाएको छ । शिक्षा कार्यालयले बुधबार सदरमुकाम मलंगवामा ‘वार्षिक कार्यक्रम तथा बजेट अभिमुखिकरण गोष्ठी’ को आयोजना गरेर बजेट सार्वजनिक गरेको हो । कार्यक्रममा जानकारी गराईए अनुसार जिल्लाको शिक्षा क्षेत्रका लागि चालु कार्यक्रमतर्फ ९९ करोड २६ लाख ९६ हजार तथा पूँजीगत कार्यक्रमतर्फ ५३ लाख ८० हजार बजेट खर्च हुने भएको छ ।
जस अनुसार विद्यालय क्षेत्र सुधार कार्यक्रमतर्फ ४० करोड ४१ लाख ७१ हजार रहेको छ । जसमा चालु खर्च तर्फ ३९ करोड ८७ लाख ९१ हजार तथा पूँजीगत खर्चतर्फ ५३ लाख ८० हजार बजेट रहेको छ ।
त्यस्तै अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान शिर्षकमा चालुखर्चतर्फ १ करोड ६० लाख २९ हजार, जिल्ला शिक्षा कार्यालयतर्फ चालु खर्चमा ७१ लाख ९६ हजार, शिक्षकहरुको तलब भत्ता शिर्षकमा चालु खर्चतर्फ प्रावि तहमा ३७ करोड ५६ लाख, ३४ हजार, निमावि र मावि तहमा १८ करोड १० लाख ६९ हजार तथा उमावि तहमा १ करोड ३९ लाख ७६ हजार खर्च हुने भएको छ ।
जानकारी गराईए अनुसार जिल्लामा ४ सय ४७ वटा वालविकास केन्द्र सञ्चालित छन् भने ५ सय ४१ वटा प्रावि, ५९ वटा निमावि, ७५ वटा मावि र ३८ वटा उमावि तहका विद्यालय रहेका छन् एवं ९४ वटा निजी विद्यालय रहेका छन् । त्यस्तै धार्मिक विद्यालयतर्फ १ सय १० वटा गुरुकुल, ८५ वटा मदरसा र ५ वटा गुम्बा रहेका छन् ।
यी सबै शैक्षीक संस्थाहरुमा २ लाख ५ हजार ९ सय ९१ जना विद्यार्थी अध्ययनरत छन् भने बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता सहित २ हजार ३ सय २० जना शिक्षकहरुले अध्यापन गराईरहेका छन् ।
शाखा अधिकृत कर्णबहादुर बुढाथोकीले स्वागत गरेको कार्यक्रममा प्राविधिक सहायक सुनिल कुशवाहाले बजेट सार्वजनिक गरेका थिए । जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले सबै पक्ष, तह र तप्काको सहयोग पाएमा आएको बजेट प्रभावकारी ढंगले कार्यान्वयन हुने विश्वास व्यक्त गरे । आगामी दिनमा अनुगमन प्रकृयालाई अझ प्रभावकारी ढंगले अगाडी बढाईने र सञ्चालनमा नरहेका विद्यालयलाई बजेट निकासा नगर्ने प्रतिबद्धता जनाए ।
नेपाल शिक्षक युनियनका अध्यक्ष नवलकिशोर रायले विद्यार्थी नभएको विद्यालयमा  बजेट जाने गरेको र बढी विद्यार्थी भएका विद्यालयमा बजेट नै नजाने गरेको गुनासो गर्दै आगामी दिनमा सुधार हुनुपर्ने बताए । कतिपय विद्यालयहरुमा हालसम्म पनि पाठ्यपुस्तकको रकम नआउँदा समस्या देखिएको उनले बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष कौशल किशोर रायले आएको बजेट मात्र सार्वजनिक गर्ने र खर्च गरिएका बजेटबारे पारदर्शिता नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उल्लेख्य विद्यार्थी भएका विद्यालयहरु बजेट अभावमा समस्या झेल्ने अवस्थामा रहेका र झोले विद्यालयहरुमा पैसा गईरहेकाले अविलम्ब त्यस्तो निकासा रोकिनुपर्ने अध्यक्ष रायले माग गरे । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मी चौधरीले झोले विद्यालयलाई तत्काल कार्वाही थाल्न माग गर्दै आगामी दिनमा झोले विद्यालय जस्ता शब्दहरुको चर्चाको अन्त्य गरिनुपर्ने बताए ।
त्यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरेन्द्र प्रसाद यादवले आयमात्र सार्वजनिक गर्ने र व्ययबारे पारदर्शीता नगर्ने परम्पराको अन्त्य हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा व्ययको सार्वजनिक नगरिए आफूहरु यस्ता कार्यक्रममा सहभागि नहुने चेतावनी दिए ।
शिक्षिका मिना देवीले बाल विकास केन्द्रको कोटा फ्रिज गराएर महिलाहरुमाथि अन्याय गरिएको बताईन् । अपांग अधिकारकर्मी देवनारायण पण्डितले विद्यालयहरुमा अपांगमैत्री वातावरण तयार पार्न आग्रह गरे । रामदरेश रायले बजेट सार्वजनिक गरिनु सकारात्मक भएको उल्लेख गर्दै धार्मीक विद्यालयहरुमा पनि उचित बजेट निकासाको माग गरे । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, विभिन्न शिक्षक संघ संगठनका प्रतिनिधि, गैर सरकारी क्षेत्रका व्यक्तित्वहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment