सुरक्षाकर्मीमाथि हातपात ः दुई पक्राउ
सर्लाही समाचारदाता
नवलपुर, पुस ४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोकमा विहिबार अपरान्ह ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात भएको छ । सर्वसाधारणहरुको चहलपहल भईरहेको अवस्थामा दिनदहाडै ड्यूटीमा रहेका प्रहरीमाथि कुटपीट भएको हो । विपरित दिशाबाट आईरहेको साईकललाई ठक्कर दिने मोटरसाईकलको कागजपत्र माग्दा त्यसमा सवार दुईजनाले वादविवाद एवं हातपात गरेका हुन् । पक्राउ परेका दुईजनामाथि कडा कार्वाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सिराहा जिल्ला करजाना गाविस–६ का २० वर्षिय संजय कुमार महतो र सर्लाहीकै अत्रौली गाविस–६ का १९ वर्षिय रामखेलावन महतोले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् । उनीहरुलाई पक्राउ गरी कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत हबल्दार दुर्गा श्रेष्ठ र जवान राजीव सिंह तथा इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत हबल्दार रेखबहादुर तामाङमाथि हातपात गरेका थिए । पक्राउ परेका दुईजनालाई आवश्यक कार्वाही प्रकृयाका लागि विहिबार अपरान्ह नै इलाका प्रहरी कार्यालय हरिपुर पठाईएको छ ।
अत्रौलीहुँदै उत्तरतर्फबाट आउने क्रममा महतोद्वय चढेको मोटरसाईकलले नवलपुर चोकबाट उत्तरतर्फ गईरहेको साईकललाई ठक्कर दिएपछि ड्यूटीमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीले कागजात माग्ने क्रममा उनीहरुसँग विवाद भएको थियो । सवारी चालक अनुमतिपत्र र ‘ब्लुबुक’ नदिएपछि कुटाई खाने तीनजना सुरक्षाकर्मीले उनीहरुको मोटरसाईकल नियन्त्रणमा लिएका थिए । ट्राफिक हबल्दार श्रेष्ठले नियन्त्रणमा लिएको मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर भित्र लिएर गएपछि चोकमा रहेको ट्राफिक पोष्टमा एक्लै बसिरहेको मौका छोपेर प्रहरी हबल्दार तामाङमाथि महतोद्वयले हातपात गरेका थिए ।
‘‘म मोटरसाईकल कार्यालय भित्र राखेर बाहिर आउँदा तामाङ हबल्दार साबमाथि हेल्मेटले प्रहार गर्दै रहेछन् ।’’ ट्राफिक प्रहरी हबल्दार श्रेष्ठले भने–‘‘छुट्ट्याउने क्रममा मलाई पनि आँखामा चोट लाग्यो ।’’ साईकललाई ठक्करदिएपछि कागजपत्र माग्ने क्रममै उनीहरुले ‘हामी कागजपत्र दिदैनौं, के गर्न सक्छौं गर’ भन्दै दुईजनाले धम्की दिएको श्रेष्ठले बताए । ‘‘मोटरसाईकल नियन्त्रणमा लिएपछि पनि उनीहरुले ‘यो मोटरसाईकल ५ मिनेट भित्र बाहिर ल्याईदिनुपर्छ, तिमिहरुले हामीलाई चिनेकै छैनौ’ भनेर समेत धम्की दिएको श्रेष्ठले बताए ।
ड्यूटीमै रहेका सुरक्षाकर्मीमाथि नै हातपात गरेपछि स्थानीय बासिन्दाको सहयोगमा इलाका प्रहरी कार्यालय नवलपुरले महतोद्वयलाई पक्राउ गरेको थियो । उनीहरु विरुद्ध कुटाई खाने तीनै जना सुरक्षाकर्मीले उजुरी दिएका छन् । प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले पक्राउ परेका दुवैजनालाई कडा कार्वाही गरिने बताए । ‘‘ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि हातपात गर्ने जो सुकै भएपनि कानून अनुसार कडा कार्वाही हुन्छ ।’’ प्रनाउ भट्टराईले भने ।
No comments:
Post a Comment