चिनी उद्योग चल्ने ः मूल्य अझै टुंगीएन
सर्लाही समाचारदाताहरिवन, पुस ९ । उखुको मूल्य तय गर्ने विषयमा उद्योगपति र कृषक प्रतिनिधिबीच मंगलबार राती सम्पन्न तेस्रो पटकको वार्ताले पनि मूल्य तय गर्न सकेन । वीरगंज स्थित भिश्वा होटलमा झण्डै साँढे ९ घण्टा चलेको वार्तामा उद्योगी र किसान प्रतिनिधिहरुले आ–आÇनै अडान राखेपछि मूल्यका विषयमा सहमति जुटाउन नसकेको हो । राती साँढे ११ बजे सम्पन्न वार्ताले नेटपूर्जीमा शुन्य मूल्य लेखेर किसानले उखु दिने र तत्काल उद्योग सञ्चालन गर्ने निर्णय भने गरेको छ ।
नेपाल उखु उत्पादक किसान संघका राष्ट्रिय अध्यक्ष राजकुमार उप्रेतीले उद्योगपति र किसान प्रतिनिधिबीचको वार्तामा लामो विवादपछि तत्काल उद्योग सञ्चालनमा ल्याउने सहमति भएको बताए । ‘‘किसानको उखु खेतमै सुक्ने अवस्था उत्पन्न भएकाले मूल्यका विषयमा पछि सहमति गर्ने गरी तत्काल उद्योग सञ्चालनमा ल्याउनका लागि उद्योगपतिहरुलाई बाध्य बनाएका छौं ।’’ वार्ता स्थलबाटै उप्रेतीले सर्लाही दैनिकसँग भने–‘‘माघ मसान्त भित्र पून वार्ता गरी मूल्यका विषयमा निश्कर्ष निकाल्ने सहमति भएको छ ।’’
साँढे ९ घण्टे वार्ताले मूल्यदरमा शुन्य राखेर तत्काल उद्योग सञ्चालन गर्ने र मिलगेट क्षेत्रका किसानलाई प्रति क्वीन्टल ४ सय तथा अन्य क्षेत्रका किसानलाई ३ सय ७५ रुपैंयाको दरले पेश्की भुक्तानी लिनेदिने सहमति गरेको छ । उद्योगपतिहरुले शुन्य मूल्य राखेर उद्योग चलाउन नमानेका कारण बैठक लम्बिएको समेत उप्रेतीले बताए । ‘‘हामीले सुरुमै उद्योग तत्काल सञ्चालनमा ल्याऔं, मूल्यका विषयमा पछि सहमति गरौंला भनेका थियौं ।’’ उप्रेतीले भने–‘‘तर उद्योगपतिहरुले शुन्य मूल्य राखेर उद्योग नचलाउने भन्ने अड्डी लिएकाले बैठक लम्बियो ।’’
शुन्य मूल्य राखेर उद्योग चलाउने, मिलगेट क्षेत्रलाई प्रति क्वीन्टल ४ सय र अन्य क्षेत्रका किसानलाई ३ सय ७५ रुपैया पेश्की भुक्तानी दिने र मूल्यका विषयमा तय गर्नका लागि सरकारको मध्यस्थतामा वार्ता गर्ने लगायतमा दिउँसै सहमति भएपनि किसानहरुको एक समूहले सरकारी मध्यस्थताको बारेमा असहमति जनाएपछि पूनः वार्ता लम्बिएको थियो । भ्याट बाहेक गतवर्षको मूल्य प्रति क्वीन्टल ४ सय ३३ रुपैयामा उद्योगपतिहरु पनि करिब–करिब सहमति भएको उप्रेतीले बताए । सरकारी भ्याट सहित गतवर्षको मूल्य ४ सय ८१ रुपैंया प्रति क्वीन्टलमा नघट्ने गरी आधार मानेर सहमति गरिएको उप्रेतीको दावी छ । उप्रेतीले मंगलबारको सहमति अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका चिनी उद्योगहरु सञ्चालनमा आउने दावी गरे ।
मंगलबारको वार्तामा उद्योगपतिहरुको तर्फबाट चिनी उद्योगीहरु इन्दु शंकर चिनी उद्योगका राजेश केडिया, रिलायन्स सुगर मिल्स बाराका विरेन्द्र संघाई र एभरेष्ट सुगर मिल्स रामनगरका मुन्ना सहभागि थिए । त्यस्तै किसानहरुको तर्फबाट उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनाली, मिलगेट उखु उत्पादक समितिका अध्यक्ष बेदबहादुर बुढाथोकी, डिल्ली उप्रेती सहित सर्लाहीका विभिन्न उखु किसान सम्बद्ध संघ संगठनका प्रतिनिधि, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी, कैलाली लगायत जिल्लाबाट किसान प्रतिनिधिहरु सहभागि रहेका थिए ।
यसअघि पनि काठमाण्डौमा मंसिर २१ गते र हेटौंडामा पुस ३ गते बुधबार उद्योगपति र किसान प्रतिनिधिहरुबीच दुईचरणमा वार्ता भएको थियो । मंगलबार बीरगंजमा भएको तेस्रो चरणको वार्तामा तत्काल उद्योग चलाउने सहमति गरेपनि मूल्यका विषयमा भने निश्कर्ष निकाल्न सकेन । वार्तामा किसान प्रतिनिधिहरुले उखुको उत्पादन लागतमा वृद्धि एवं हरेक उपभोग्य सामग्रीको मूल्यवृद्धि भएकाले उखुको मूल्य गतवर्षको भन्दा कममा विक्री गर्न नसकिने र उद्योगपतिहरुले चिनीको मूल्य घटेकाले उखुको मूल्य गतवर्षको जतिपनि दिन नसकिने आ–आÇनो अडान राख्दै आएका छन् ।
पुस दोस्रो साता लाग्दा समेत उखु मूल्यको विवाद नसल्टिदा चिन्तित बनेका किसानहरुलाई मंगलबार भएको वार्ताबाट तत्काल उद्योग सञ्चालन गर्ने भन्ने सहमतिले केही राहत दिलाएको छ । तेस्रो वर्षको खुट्टी (उल्टाएर अर्को बाली लगाउनुपर्ने) उखु सुकेर नष्ट भई पीडित बन्ने अवस्थामा पुगेका किसान तत्काल उद्योग सञ्चालनमा ल्याउने सहमतिबाट बढी लाभान्वित हुने छन् । जतिसक्दो चाँडो उद्योग सञ्चालनमा आए त्यस्ता उखु काटेर विक्री गर्न किसानहरु हतारिएका छन् । हरेक वर्ष उखुको मूल्य विषयमा उद्योगपतिहरुसँग कुरा नमिल्दा उद्योग सञ्चालनमा ढिलाई हुने गरेकाले किसानहरु मर्कामा पर्दै आएका छन् । जिल्लाको दक्षीणी क्षेत्रका किसानहरुले त स्थानीय सख्खर उद्योगहरुमा प्रति क्वीन्टल ३ सयमै उखु विक्री सुरु गरिसकेका छन् ।
इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उद्योग सञ्चालनका लागि तयारी अवस्थामा रहेको दावी गरे । उक्त उद्योगले बुधबार नै डोंगा पूजा गरिसकेको छ । हाल मजदुरहरु आन्दोलनमा रहेकाले उक्त समस्या समाधान हुने वितिकै उद्योग सञ्चालन गरिने उद्योग प्रशासनले जनाएको छ । गतवर्ष पुष ३ गतेदेखि इन्दु शंकर चिनी उद्योग सञ्चालनमा आएको थियो । सर्लाहीमा मुलुकभरीमा सबैभन्दा बढी अर्थात १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । इन्दु शंकरले गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
No comments:
Post a Comment