Saturday, December 21, 2013

वन परियोजनाको दुईकरोड त्यसै थन्कियो

वन परियोजनाको दुईकरोड त्यसै थन्कियो

सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखा अन्तर्गतको वन क्षेत्रको जग्गामा लगाईएको गोलभेडा (टमाटर) खेती । (फाईल तस्बीर)
–टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
सागरनाथ, पुस ६ । सागरनाथ वन विकास परियोजनाको मूर्तिया वन व्यवस्थापन शाखा अन्तर्गतको अतिक्रमित जग्गामा वृक्षारोपण लगायत कार्यका लागि आएको करोडौं बजेट ५ महिनादेखि त्यसै थन्कीएर बसेको छ । गत असारमै वन तथा भू–संरक्षण मन्त्रालयबाट निकास भएको २ करोड बजेट परियोजनालाई परिचालन गर्ने निकाय वन पैदावार विकास समिति काठमाण्डौमा नै थन्केर बसेको हो । सुरक्षा निकायहरुसँग समन्वय लगायतका कामहरु भईनसकेकाले उक्त बजेट प्रयोग विहिन अवस्थामा रहेको परियोजनाले जनाएको छ ।
परियोजनाका प्रमुख हेम अर्यालले गत असारमै मूर्तिया क्षेत्रमा वृक्षारोपण लगायतका लागि २ करोड रुपैया निकासा भएको बताए । ‘‘गत असारमै २ करोड निकासा भएको हो ।’’ उनले भने–‘‘त्यसमध्ये ३५ लाख खर्च भयो र बाँकी बजेट त्यसै थन्किएर बसेको छ ।’’ तारबार लगायत केही सामग्री खरिद गर्न र केही क्षेत्रमा वृक्षारोपण गर्दा ३५ लाख खर्च भएको र बाँकी बजेट त्यसै बसेको अर्यालले बताए ।
‘‘गत असोजतिर सोल्टी क्षेत्रको १५ हेक्टर जग्गामा वृक्षारोपण गरियो ।’’ उनले भने–‘‘सबै अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्न सुरक्षा निकायहरुसँग उचित समन्वय नभई हुदैन ।’’ केन्द्रीय स्तरमै सुरक्षा लगायत सरोकारवाला निकायहरुको प्रतिनिधित्व हुने गरी समन्वय एवं कार्यान्वयन समिति रहेको र सोही समितिको निर्णयको पर्खाईमा आफूहरु रहेको परियोजना प्रमुख अर्यालले बताए ।
‘‘पहिला बजेट थिएन, अहिले बजेट आयो ।’’ उनले भने–‘‘सुरक्षाको कारणले काम अड्केर बसेको छ ।’’ अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्दा रोपिएका विरुवाको संरक्षणका लागि सुरक्षाको आवश्यक्ता पर्ने भएकाले बजेट भएपनि आÇनो जग्गामा वृक्षारोपण गर्न नसकिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले परियोजनाले सहयोग मागेका खण्डमा अतिक्रमित भएको सरकारी जग्गामा वृक्षारोपणका लागि उचित सहयोग गर्न आफूहरु तयार रहेको बताए । ‘‘खै परियोजनाको बजेट आएर त्यसै थन्किएको कुरा थाहा नै छैन ।’’ उनले भने–‘‘औपचारिक रुपमा कुरा आयो भने जस्तोसुकै सहयोग दिन हामी तयार छौं ।’’
सागरनाथ वन विकास परियोजना मूर्तिया वन व्यवस्थापन शाखा अन्तर्गतको २७ सय हेक्टर अर्थात ४१ सय विगाह भन्दा बढी जग्गा विगत पाँच वर्षभन्दा बढी समयदेखि अतिक्रमणको चपेटामा परेको छ । मसला, सिमल, टिक लगायत जातका रुखहरुले हरियाली हुनुपर्ने वन परियोजनाको जग्गामा हाल व्यक्तिगत खेतीपाती लहलह झुलेका छन् । उक्त क्षेत्रमा हाल स्थानीय बासिन्दा सहित जिल्लाको विभिन्न गाविस एवं सिन्धुली, मकवानपुर, सिराहा तथा छिमेकी मुलुक भारतका बासिन्दाले समेत खेतीपाती गरिरहेका छन् भने घर बनाउने क्रम समेत बढिरहेको छ । उक्त वन क्षेत्रको जग्गा स्थानीय भू–माफियाहरुले किनबेच गराउने गरेको समेत बताईएको छ ।
उक्त वन क्षेत्रमा हुर्किएका ठूला–ठूला मसला, सिमल, टिक लगायत जातका रुखहरु दिनदहाडै चोरी तस्करी भएर सकिएपछि वन क्षेत्र खेतीपातीका लागि उर्वर भूमिका रुपमा प्रयोग हुँदै आएको छ । रुख तस्करीमा सागरनाथ वन विकास परियोजनाकै कर्मचारीहरुको समेत मिलेमतो रहेको आरोप लाग्दै आएको छ ।
स्थानीय राजनैतिक दलका नेताहरुले भने उक्त वन क्षेत्रमा वृक्षारोपण गर्ने सवालमा ठोस निर्णय एवं पहल गर्न सकेका छैनन् । जसका कारण वषौंदेखि सरकारलाई करोडौं राजश्व गुमेको छ भने अर्कोतिर भू–माफियाहरुको चलखेलका कारण सरकारी जग्गा किनबेच समेत भईरहेको छ ।
स्थानीय जनमुखी भू–हक मूल संघर्ष समितिले भने उक्त वन क्षेत्रमा भईरहेको खेतीपाती नष्ट गरी वृक्षारोपण गर्न एवं बसोबास गरिरहेका परिवारलाई उठाउन नहुने माग गरिरहेको छ । विगतमा भएका सहमति एवं सम्झौता अनुसार मात्र वृक्षारोपण गर्न उक्त समितिले माग गर्दै आएको छ ।

No comments:

Post a Comment