Friday, December 20, 2013

मेची–महाकाली विद्युतीय रेलको काम सर्लाहीबाट

मेची–महाकाली विद्युतीय रेलको काम सर्लाहीबाट
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
जब्दी, पुस ५ । मेची–महाकाली विद्युतीय रेल सेवा सञ्चालनको लागि प्रथम चरणको काम सर्लाहीबाट सुरु भएको छ । फूलजोर खोलाबाट पश्चिमतर्फ ५ हजार २ सय मिटरमा रेलको कोरिडोर निर्माण पूर्वको सर्भे (नापजाप) सुरु भएको हो । सर्भेको काम विगत केही दिनदेखि भईरहेको नेपाल सरकार रेल्वे विभाग अन्तर्गत बर्दिबास स्थित साइट कार्यालयले जनाएको छ । जनकपुर–जयनगर रेल्वे सेवालाई विस्तार गरी बर्दिबाससम्म ल्याउने गरी छुट्टै योजना पनि अगाडी बढिरहेको अवस्थामा पूर्व काँकड्भिट्टा देखि पश्चिम महेन्द्रनगरको गड्डाचौकीसम्म विद्युतीय रेल सेवाका लागि छुट्टै काम सुरु भएको हो ।
प्रथम चरण अन्तर्गत सर्लाहीको फूलजोर खोलादेखि पश्चिम ५ हजार २ सय मिटर पूर्वसम्मका लागि जग्गा अधिग्रहण प्रकृया एवं रेल्वे सेवाको कोरिडोर निर्माण पूर्वको सर्भे गर्ने काम भईरहेको रेल्वे विभाग अन्तर्गत बर्दिबास स्थित साइट कार्यालयका प्रमुख मोहन भट्टले बताए । ‘‘डिटेल सर्भेको काम पहिला नै भैसकेको छ ।’’ उनले शुक्रबार सर्लाही दैनिकसँग भने–‘‘अहिले विद्युतीय रेल्वे सेवाको कोरिडोर निर्माणका लागि सर्भेको काम भईरहेको छ ।’’
पूर्व–पश्चिम राजमार्गबाट ३ सय मिटरदेखि ३ किलोमिटर भित्र दक्षीणतर्फबाट विद्युतीय रेल सेवा सञ्चालन गर्नेगरी काम सुरु भएको भट्टले बताए । ‘‘रेल्वे सेवा कोरिडोरको चौंडाई ५० मिटर हुन्छ ।’’ उनले भने–‘‘पूर्व–पश्चिम राजमार्गबाट कतै सय मिटर भित्रैमा पर्छ भने कतै ३ किलोमिटर दक्षीणसम्ममा रेलसेवाको कोरिडोर रहनेछ ।’’
भट्टका अनुसार रेल्वे सेवाको कोरिडोर निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीको नाममा गत मंसिर २६ गते जब्दी गाविस लगायत क्षेत्रका जग्गा अधिग्रहण गर्ने ३५ दिने सूचना प्रकाशित भएको छ । उल्लेखित जग्गाधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आÇनो हकदावी पेश गर्नुपर्ने समेत उनले बताए ।
मेची–महाकाली विद्युतीय रेल्वे सेवाका लागि चालु आर्थिक वर्षमा छुट्टयाईएको बजेट अन्तर्गत प्रथम चरणमा सर्लाहीको जब्दी लगायत गाविस स्थित जग्गाहरुको अधिग्रहणका लागि सूचना प्रकाशित भएको प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले बताए ।
रेलसेवाको काम गर्न रेल्वे विभागले बर्दिबासमा साईट कार्यालय समेत स्थापना गरिसकेको छ । काँकडभिट्टाबाट गड्डाचौकी सम्मको विद्युतीय रेलसेवा अन्तर्गत प्रथम चरणमा बर्दिबास–सिमरा खण्डमा प्रथम चरणको काम सुरु भएको साइट इन्चार्ज भट्टले बताए ।
ब्रोडगेल रेल्वे अन्तर्गत काम सुरु भएको मेची–महाकाली विद्युतीय रेल सेवामा पूर्वबाट काँकडभिट्टा–इटहरी, बर्दिबास–सिमरा–बुटवल–कोहलपुर–अतरिया हुँदै पश्चिम महेन्द्रनगरको गड्डाचौकीको रुट रहेको बताईएको छ ।
मेची–महाकाली विद्युतीय रेल सेवामा भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिबासको अर्को रेलसेवा समेत जोडिने भएको छ । त्यस्तै भारतको जलपाईगुरीबाट–काँकडभिट्टा, भारतको जोगवनीबाट विराटनगर हुँदै इटहरी, भारतको रक्सौलबाट वीरगंज हुँदै सिमरा, भारतको नौतनवाबाट भैरहवा हुँदै बुटवल, भारतको रुपैडियाबाट नेपालगंज हुँदै कोहलपुर स्थित मेची–महाकाली विद्युतीय रेल सेवामा लिंक जोडिने बताईएको छ ।

No comments:

Post a Comment