Wednesday, December 18, 2013

दोस्रो वार्ता पनि विना निश्कर्ष टुंगीयो

उखु मुल्य विवाद
दोस्रो वार्ता पनि विना निश्कर्ष टुंगीयो
सर्लाही समाचारदाता
हरिवन, पुस ३ । उखुको मूल्य तय गर्ने विषयमा उद्योगपति र कृषक प्रतिनिधिबीच बुधबार भएको दोस्रो वार्ता पनि विना निश्कर्ष टुंगीएको छ ।
हेटौडा स्थित रियल रिसोर्टमा झण्डै ६ घण्टा चलेको वार्तामा उद्योगपतिहरुले गतवर्षको जतिपनि मूल्य दिन नसक्ने अडान पूनः राखेपछि बैठक विना निश्कर्ष टुगिएको हो । आगामी पुस ९ गते मंगलबार बीरगंज, हेटौडा वा काठमाण्डौ मध्ये कुनै एकठाउँमा पूनः वार्तामा बस्ने गरे बुधबारको बैठक टुंगीएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।
‘‘गतवर्षको भन्दा झण्डै दोब्बर बढी लागतमा उत्पादन भएको उखुको मूल्य बढाउन त परै जाओस्, गतवर्षको मूल्यबाट पनि घटाउनुपर्छ भनेर उद्योगपतिहरुको तर्फबाट फेरीपनि माग आयो ।’’ मैनालीले भने–‘‘हामीले मूल्य पछि सहमतिमा तय गरौंला, उद्योगचाँही चलाउनोस् भन्यौं तर उहाँहरुले मान्दै मान्नु भएन ।’’ मैनालीका अनुसार उद्योगपतिहरुले चिनीको मूल्य घटेकाले गतवर्षको उखु प्रवद्र्धनबापत थप भएको २५ रुपैया यसवर्ष दिन नसकिने बताएका थिए ।
गतवर्ष नै किसानहरुले सरकारी भ्याट सहित प्रति क्वीन्टल ४ सय ८१ रुपैयाको दरले उखुको मूल्य पाएका थिए । ‘‘किसानहरुले गतवर्ष ४ सय ८१ रुपैयामा नै उखु किनेर तथा मलखाद, जोताई जस्ता कुरामा विगत वर्षहरु भन्दा झण्डै दोब्बर मूल्य तिरेर उखु उत्पादन गरेका छन् ।’’ अध्यक्ष मैनालीले भने–‘‘तर उद्योगपतिहरुले भने चिनीको भाउ नबढेको दलिल दिएर गतवर्षको भन्दा पनि मूल्य घटाउनुपर्ने लाजमर्दो कुरा राखे, जसले गर्दा थप कुराहरु अगाडी बढ्न पाएन ।’’
गतवर्षपनि शुन्य मूल्य राखेर उद्योग चलाएको र पछि सहमतिमा मूल्य तय भएको दृष्टान्त दिदै उद्योग तत्काल चलाउन आग्रह गर्दा पनि उद्योगपतिहरुले मूल्य तय नभई उद्योग नचलाउने अड्डी लिएकोे मैनालीले बताए । ‘‘उद्योगपतिहरुले उद्योग ढिला सञ्चालन गरि किसानलाई अत्याएर उखुको भाउ घटाउने नियत राखेको देखियो ।’’ मैनालीले आक्रोश व्यक्त गरे–‘‘हामी कुनैपनि हालतमा पोहोरको भन्दा कममा उखु दिन सहमति गर्दैनौं ।’’ हरेक चिजमा १०÷१५ प्रतिशतले मूल्य वृद्धि भएको अवस्थामा उखुको मूल्यचाँही घटाउने कुरा सह्य नहुने मैनालीले बताए ।
नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले उद्योगपतिहरुको एकोहोर अडानका कारण वार्तामा कुनै सहमति हुन नसकेको बताए । उद्योगपतिहरुले पोहोरको जती मूल्य कुनैपनि हालतमा दिन नसकिने अडान लिएपछि पोहोरको भन्दा नघट्ने गरी तत्काल उद्योग चलाउनोस् अथवा पछि सहमति गरौला उद्योग तत्काल चलाउनोस् अथवा तत्काल अर्को वार्ता गरेर मूल्य तय गरिहाल्नोस् भन्ने तीनवटा विकल्प दिन आफूहरु बाध्य भएको उप्रेतीले बताए । जसमध्ये उद्योगपतिहरुले आगामी मंगलबार वार्ता गर्ने विकल्प रोजेको र सोही वार्ताबाट मूल्य तय हुने उप्रेतीले विश्वास व्यक्त गरे ।
उद्योगपतिहरुले पोहोरको भन्दा पनि मूल्य घटाउन खोजे आन्दोलनको विकल्प नभएको उप्रेतीले बताए । उद्योग ढिला सञ्चालन गरि किसानलाई अत्याएर उखुको भाउ घटाउन खोज्ने उद्योगपतिहरुको षडयन्त्र देखिएको बताउँदै उप्रेतीले आफूहरुलाई त्यस्तो कुरा कुनैपनि हालतमा मान्य नभएको र सडक आन्दोलनको विकल्प नभएको चेतावनी दिए । उप्रेतीका अनुसार बुधबारको वार्तामा सर्लाही सहित रौतहट, बारा, पर्सा, महोत्तरी, मोरङ, सुनसरी लगायत जिल्लाबाट किसान प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यस्तै बारा र महोत्तरीका किसान प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । मिलगेट उखु उत्पादक समिति हरिवनले गत कात्तिकमै उखुको मूल्य प्रति क्वीन्टल ६ सय २५ रुपैया हुनुपर्ने माग सहित इन्दुशंकर चिनी उद्योगमा ज्ञापन पत्र दिईसकेको छ ।
गतवर्ष पुस ३ गते चिनी उद्योगहरु सञ्चालनमा आएका भएपनि यसवर्ष भने पुस पहिलो साता वित्न लाग्दा समेत उखु मूल्यकै विवाद नसल्टिदा उद्योग नचलेका कारण किसानहरु भने मर्कामा परेका छन् । तेस्रो वर्षको खुट्टी (उल्टाएर अर्को बाली लगाउनुपर्ने) उखु सुकेर नष्ट हुने अवस्थामा पुगेकाले किसानहरु पीडित बनिरहेका छन् । जतिसक्दो चाँडो उद्योग सञ्चालनमा आए त्यस्ता उखु काटेर विक्री गर्न किसानहरु हतारिएका छन् । हरेक वर्ष उखुको मूल्य विषयमा उद्योगपतिहरुसँग कुरा नमिल्दा उद्योग सञ्चालनमा ढिलाई हुने गरेकाले किसानहरु मर्कामा पर्दै आएका छन् । जिल्लाको दक्षीणी क्षेत्रका किसानहरुले त स्थानीय सख्खर उद्योगहरुमा प्रति क्वीन्टल ३ सयमै उखु विक्री सुरु गरिसकेका छन् । इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उद्योग सञ्चालनका लागि तयारी अवस्थामा रहेको दावी गरे । उक्त उद्योगले गत मंसिर १९ गते नै डोंगा पूजा गरिसकेको छ । गतवर्ष पुष ३ गतेदेखि इन्दु शंकर चिनी उद्योग सञ्चालनमा आएको थियो । सर्लाहीमा मुलुकभरीमा सबैभन्दा बढी अर्थात १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । इन्दु शंकरले गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।

No comments:

Post a Comment