उखुको वार्ता बुधबार हुने
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर ३० । उखुको मूल्य तय गर्ने विषयमा उद्योगपति र कृषक प्रतिनिधिबीच आगामी बुधबार दोस्रो पटक वार्ता हुने भएको छ ।
उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले बुधबार हेटौडामा वार्ता गर्ने तय भएको बताए । गत मङ्सिर २० गते विहिबार काठमाण्डौमा भएको वार्ता विना निश्कर्ष टुंगीएको थियो । आगामी बुधबार हुने वार्ताले भने उद्योग सञ्चालन लगायतमा टुंगो लगाउने मैनालीले बताए । ‘‘मूल्यका विषयमा मतभेद भए बरु भारतको विहार स्थित उद्योगहरुमा तयभएपछि तोक्ने गरी उद्योग सञ्चालन हुनुपर्छ भन्नेमा हाम छौं ।’’ उनले भने–‘‘विगत केही वर्षदेखि भारतको विहार स्थित चिनी उद्योगहरुमा तय भएको मूल्यमै यहाँपनि सहमति भएकाले सोही अनुसार अगाडी बढेर उद्योग तत्काल सञ्चालन गर्नुपर्छ, नत्र किसानको उखु खेतमै सुक्न थाल्छ ।’’
गतवर्षको जति पनि मूल्य दिन उद्योगपतिहरु तयार नभएपछि गत विहिबारको वार्ता विना निश्कर्ष टुंगीएको थियो । गतवर्ष किसानहरुले प्रति क्वीन्टल ४ सय ८१ रुपैयाको दरले उखुको मूल्य पाएका थिए ।
‘‘किसानहरुले गतवर्ष ४ सय ८१ रुपैयामा नै उखु किनेर तथा मलखाद, जोताई जस्ता कुरामा विगत वर्षहरु भन्दा झण्डै दोब्बर मूल्य तिरेर उखु उत्पादन गरेका छन् ।’’ अध्यक्ष मैनालीले भने–‘‘तर उद्योगपतिहरुले भने चिनीको भाउ नबढेको दलिल दिएर गतवर्षको भन्दा पनि मूल्य घटाउनुपर्ने लाजमर्दो कुरा राखे, जसले गर्दा थप कुराहरु अगाडी बढ्न पाएन, अबको वार्तामा भरसक मूल्यकै विषयमा तय गर्नेगरी हामी अगाडी बढ्नेछौ, नभएपनि उद्योग सञ्चालन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’’ गतवर्षको भन्दा कम्तिमा १० प्रतिशत मूल्य बढ्नुपर्ने आफूहरुको माग रहेको मैनालीले बताए ।
उत्पादनमा झण्डै दोब्बर बढी लागत भएकाले बढी मूल्य दिईनुपर्ने मैनालीको कथन छ । ‘‘चिनीको मूल्य बढेको र नबढेकोमा किसानलाई मतलब हुदैन ।’’ उनले भने–‘‘लागत चाँही बर्षेनी बढ्दै जाने अनि मूल्यचाँही घटाएर विक्री गर्न कदापी सकिदैन ।’’ उद्योगपतिहरुको विचार किसानलाई सिधै भँडखालोमा जाक्ने जस्तो नकारात्मक देखिएको समेत मैनालीले बताए ।
पुस लाग्दा समेत उखु मूल्यको विवाद नसल्टिदा किसानहरु भने मर्कामा परेका छन् । तेस्रो वर्षको खुट्टी (उल्टाएर अर्को बाली लगाउनुपर्ने) उखु सुकेर नष्ट हुने अवस्थामा पुगेकाले किसानहरु पीडित बनिरहेका छन् । जतिसक्दो चाँडो उद्योग सञ्चालनमा आए त्यस्ता उखु काटेर विक्री गर्न किसानहरु हतारिएका छन् । हरेक वर्ष उखुको मूल्य विषयमा उद्योगपतिहरुसँग कुरा नमिल्दा उद्योग सञ्चालनमा ढिलाई हुने गरेकाले किसानहरु मर्कामा पर्दै आएका छन् । जिल्लाको दक्षीणी क्षेत्रका किसानहरुले त स्थानीय सख्खर उद्योगहरुमा प्रति क्वीन्टल ३ सयमै उखु विक्री सुरु गरिरहेका छन् ।
इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उद्योग सञ्चालनका लागि तयारी अवस्थामा रहेको दावी गरे । उक्त उद्योगले गत मङ्सिर १९ गते नै डोंगा पूजा गरिसकेको छ । गतवर्ष पुष ३ गतेदेखि इन्दु शंकर चिनी उद्योग सञ्चालनमा आएको थियो । सर्लाहीमा मुलुकभरीमा सबैभन्दा बढी अर्थात १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । इन्दु शंकरले गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
No comments:
Post a Comment