गृहमन्त्री ताक्दै नेपाली ‘अक्टोपस’
काठमाडौं, मङ्सिर ३० । युरो कप २००८ र विश्वकप २०१० का कुल १३ खेलमध्ये ११ खेलको परिणामबारे सही भविष्यवाणी गर्ने अक्टोपस ‘पाउल’को चर्चा त हामीले सुनेकै छौं । सन २०१० को अक्टोबरमा यो संसारबाट बिदा भएपनि अक्टोपस पाउलकोे भविष्यवाणी विश्वभर चर्चीत छ । यहाँ भने नेपाली राजनीतिका अक्टोपसको चर्चा गर्न लागिएको हो, जसको भविष्यवाणी पनि करिब–करिब मिल्दै आएको देखिन्छ । नेपाली राजनीतिका अक्टोपसका रुपमा प्रख्यात छन, अमरेशकुमार सिंह । र, यिनै अक्टोपसको नयाँ भविष्यवाणी छ, ‘अब यो देशको गृहमन्त्री मै हुन्छु ।’
सत्ता समीकरणको नयाँ नयाँ खेलमा अमरेशले भने आफूलाई भावी गृहमन्त्रीको स्थानमा राखेका छन । यसका लागि उनले विभिन्न शक्तिकेन्द्र, निकाय, व्यक्तित्व र दलमा लबिङ गरिरहेका छन । राज्यले सिंहलाई दिएको सुविधा हेर्ने हो भने उनी अहिले पनि कुनै गृहमन्त्रीभन्दा कम छैनन । सशस्त्र, जनपद र गुप्तचर तिनवटै निकायका सुरक्षाकर्मी उनको सुरक्षामा खटिएका छन । गाडी र तेलको सुविधा छ । उनी आफुलाई काँग्रेसका कृष्ण सिटौलाभन्दा पनि ‘पावरफुल’ ठान्छन ।
यसपाली गृहमन्त्री बन्ने अभियानमा जुटेका सिंहले यसैसाता राष्ट्रपति रामवरण यादवलाई भेटेर आफुलाई सहयोग गर्न आग्रह गरेका छन । ‘हेर्नुस्, तपाईंलाई राष्ट्रपति पदमा यति लामो अवधिसम्म टिकाइराख्ने को हो, त्यो नभुल्नु होला । बात बुझिहाल्नुहोला । यहाँ खेल धेरै छ । फेरि पनि तपाईलाई नै राष्ट्रपति बरकरार राख्न पनि कुनै दिक्कत छैन । मलाई गृहमन्त्री बनाउनुप¥यो’, सिंहको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
अमरेशले अबको गृहमन्त्री आफू नै भएको दावी गर्न थालेपछि गृहमन्त्री बन्न मुख मिठयाइरहेका अन्य नेताको मुटुमा भने ढयांग्रो ठोकिएको छ । किनकी, नेपाली अक्टोपस सिंहको भविश्यवाणी मिल्दै आएको छ । जस्तै, काँग्रेस नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पदमा खडा हुँदा अमरेशले ‘पौडेलजी तनहुँको मात्र प्रधानमन्त्री हुनुहुन्छ, देशको हैन’ भनेका थिए । नभन्दै त्यो मिल्न पुग्यो । पछिल्लो समय उनले ‘प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्दै छ’ भन्ने भविष्यवाणी एक महिना पहिले नै गरेका थिए । धुलिखेलको एक कार्यक्रममा उनले भनेका थिए, ‘अबको प्रधानमन्त्री खिलराजजी नै हो ।’ नभन्दै त्यो सही साबित भयो । त्यसैले यसपाली आफै गृहमन्त्री बन्ने उनको भविष्यवाणी पनि मिल्ने त हैन भनेर गृहमन्त्रीका अन्य दावेदार चिन्तित छन् ।
अचेल अमरेश आफै भन्दै हिंड्छन, ‘सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्दैछन् भनेर मैले सुरुमै भनेको थिएँ, मिल्यो की मिलेन ? लोकमानसिंह कार्कीलाई कसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनायो ? त्यसमा मेरै भूमिका छ ।’ अमरेश सिंह २०५९ साल असोज १८ मा राजा ज्ञानेन्द्रले शाही कदम चाले यताका हरेक राजनीतिक घटनाक्रममा शक्रिय भूमिका निर्वाह गर्दै आएको बताइन्छ ।
अमरेश स्वयं पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफुले ठूलो भूमिका निर्वाह गरेको दावी गर्छन । नेपाली काँग्रेसका एक नेताका अनुसार गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्ने अरु कोही नभएर अमरेश नै हुन । ‘अमरेशकै चलखेलका कारण कांग्रेसलाई सरकारको नेतृत्व लिन वञ्चित गरियो । उनैले माओवादी र मधेसी मोर्चालाई एक ठाउँमा ल्याए । उनले नै बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण गर्न भूमिका खेले’, ती काँग्रेसी नेताको दावी छ ।
हुन त अमरेशको हैसियत भनेको कांग्रेस महासमितिका सदस्य र सभासद्को मात्र हो । उनले संविधानसभाको चुनावमा सर्लाहीबाट प्रत्यक्षतर्फ जितेका हुन । तैपनि यिनी नेपाली राजनीतिको हरेक घटनाक्रममा हस्तक्षेपकारी भूमिका राख्छन् भन्ने चर्चा छ । अमरेशको मुल थलो सर्लाही हो । भारत, नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘राइज अफ इथ्निक कन्फिलक्ट इन नेपाल’ शीर्षक शोधपत्रका साथ एमफिल गरिरहेकै बेला उनको विभिन्न शक्तिकेन्द्रहरुसँग सम्पर्क भयो । त्यसपछि उनी पनि नेपाली राजनीतिमा आए ।
२०६२ जेठमा एमाओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईलाई दिल्लीमै भेटेका अमरेशले १२ बुँदे समझदारी गराउनमा आफुले विशेष भूमिका निर्वाह गरेको दावी गर्दै आएका छन् । कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्डवीच भेट गराएकै आफुले भएको उनी आफु निकटका कार्यकर्तासामु बताउने गर्छन् । ‘कृष्ण सिटौला, शेखर कोइराला त पछि मात्र आएका हुन्’, अमेरेशको दावी हुने गर्छ, ‘सम्पूर्ण बातावरण तयार पार्ने काम मैले नै गरेको हुँ ।’
पछिल्लो जनआन्दोलनपछि शान्ति प्रकृया सुरु हुनासाथ सिंह पनि नेपाली राजनीतिमा होमिए । उनलाई दक्षिणको विशेष दूतका रुपमा हेर्न थालियो । सोही कारण दलहरुबीचका महत्वपूर्ण बैठक, वार्ता र राजनीतिक प्रकृयामा अमरेशको शक्रियता बढ्यो । अन्तरिम संविधान बनेपछि एमाले महासचिव माधवकुमार नेपालले बालुवाटारमा खिचेको एउटा सामुहिक तस्वीरमा एउटा नौलो मानिसलाई पनि देखेर आम नेपाली चकित परेका थिए । अन्तरिम संविधान निर्माताहरुकै लाइनमा उभिएका ति व्यक्ति अमरेश कुमार सिंह नै थिए ।
२०६३ सालमा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सिंहलाई अन्तरिम व्यवस्थापिका संसदमा मनोनीत गरेपछि पो सबैलाई थाहा भो, उनी शक्तिशाली नै रहेछन् । अब साँच्चै उनले गृहमन्त्री भएर देखाउलान् की नदेखाउलान्, त्यो भने भविष्यले बताउने छ ।
(रातोपाटीबाट)
No comments:
Post a Comment