सभासद्बाट विद्यालय उद्घाटन
सर्लाही समाचारदाता
गैर, मङ्सिर २६ ।कविलासी स्थित निमावि गैरको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ ।
क्षेत्र नं. २ बाट निर्वाचित सभासद् रामचन्द्र चौधरीले एक समारोहकाबीच भवनको उद्घाटन गरेका हुन् । उनले भवन परिसरमा बाँधिएको रिवन काटेर तथा विद्यालयको नाम लेखिएको व्यानर प्रदर्शन गरेर उद्घाटन गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजनीकान्त झाको सभापतित्वमा विहान भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा, स्थानीय शान्ति समिति सर्लाहीकी संयोजक भवानी कोइराला, भवन निर्माणमा सहयोगी संस्थाकी मिना थापा, कविलासी गाविसका सचिव मोहम्मद् अस्फाक, विद्यालयका प्रधानाध्यापक जयनारायण महतो, नेपाली कांग्रेस कविलासी बुथ समितिका अध्यक्ष राजकुमार साह लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाहीका अध्यक्ष हरिकान्तलाल कर्णले सञ्चालनमा भएको थियो ।
आरएनएन संस्थाको १० लाख तथा गाविस कार्यालय कविलासीको १ लाख ७५ हजार तथा बाँकी विद्यालय र स्थानीय स्तरमा संकलित गरी जम्मा १८ लाख २६ हजार रुपैयाँ लागतमा अपांगमैत्री पक्की भवन निर्माण गरिएको कार्यक्रम सञ्चालक कर्णले बताए । कार्यक्रमममा सहयोगी संस्था आरएनएनकी थापा र गाविस सचिव अस्फाकलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि सभासद् चौधरीलाई कांग्रेस कविलासी बुथ समितिका अध्यक्ष साहले दोसल्ला ओडाएर सम्मान समेत गरेका थिए ।
No comments:
Post a Comment