Wednesday, December 11, 2013

गिट्टी चोर्नेलाई सार्वजनिक मुद्दा

गिट्टी चोर्नेलाई सार्वजनिक मुद्दा
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २६ । नवलपुर–मलंगवा सडकखण्ड पूनर्निर्माण गर्ने भारतीय ठेकेदारले थुपारेको ढुंगा–गिट्टी चोरी गरिरहेको अवस्थामा पक्राउ परेका दुईजनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाएको छ ।
हरिपुरमा थुपारेर राखेको
थुप्रोबाट स्काभेटरमार्फत ढुंगा गिट्टी चोरी गर्दै गरेको अवस्थामा प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक नेतृत्वको प्रहरी टोलीले मंगलबार राती हरिपुर गाविस–९ निवासी ३१ वर्षिय मनोहरी कँडेल र २० वर्षिय अनिल साहलाई पक्राउ गरेको थियो । टोलीले राती साँढे ९ बजे उनीहरुसँगै ना. ३ ख ९६६८ नम्बरको १० चक्के एक टिफर तथा एक स्काभेटर समेत नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुईजनालाई बुधबार सार्वजनिक अपराध ऐन अन्तर्गत म्याद थप गरेर कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले बताए । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेले पक्राउ परेका दुई अभियुक्तलाई ७ दिने म्याद दिएर प्रहरीलाई अनुसन्धान गर्न आदेश दिएका छन् । ‘‘सार्वजनिक सम्पति चोरी गर्दागर्दै फेला परेकाले उनीहरुलाई तत्काल सार्वजनिक अपराध ऐन अन्तर्गत कार्वाही अगाडी बढाईएको छ ।’’ प्रहरी उपरीक्षक धानुकले भने–‘‘अनुसन्धानका क्रममा चोरी कार्यको मुख्य योजनाकारको पहिचान गरी नियन्त्रणमा लिने छौं ।’’
पक्राउ परेका दुवै अभियुक्त हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् भने सवारीसाधनहरु घटनास्थलमै रहेका छन् । प्रजिअ दिनेशकुमार घिमिरेले सार्वजनिक सडकमा प्रयोग गर्नका लागि भारतीय ठेकेदारले थुपारेको गिट्टी चोरीमा संलग्न जो सुकैलाई कडा कार्वाही गरिने बताए । हाल झण्डै दुईसाता अघिदेखि चोरी भईरहेपनि स्थानीय इलाका प्रहरी कार्यालय हरिपुरले कुनै कार्वाही अगाडी बढाएको थिएन । ईप्रका हरिपुरकै मिलेमतोमा उक्त चोरी भएको अनुमान स्थानीय बासिन्दाले गर्दै आएका थिए ।
भारतीय ठेकेदारले राखेको ढुंगा गिट्टीको थुप्रो नजिकै सञ्चालित सिद्धिविनायक एग्रीगेट ढुंगा गिटी क्रसर उद्योगबाट आफूहरुलाई पठाएको पक्राउ परेका अभियुक्तले बताएका छन् । उक्त क्रसर उद्योग हरिपुरका चन्द्रीका साहको हो । प्रहरी उपरीक्षक धानुकले कसले भनेर तिमिहरुले गिट्टी उठाएको भनेर सोध्दा साउले अह्राएका कारण उठाएको भन्ने जवाफ चालकहरुले दिएका थिए । अनि तिमिहरुको साहु को हो भन्ने एसपी धानुकको प्रश्नमा उनीहरुले चन्द्रीका साह भनेर जवाफ दिएका थिए ।
भारतीय ठेकेदारले थुपारेको हरिपुर स्थित ढुंगागिट्टीको थुप्रोबाट विगत दुईसाताअघिदेखि दिनदहाडै स्काभेटर लगाएर नै चोरी भईरहेको स्थानीय बासिन्दाले बताएका छन् । गत सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा समेत भारतीय ठेकेदारले थुपारेको ढुंगा गिट्टी चोरी भईरहेको गुनासो आएको थियो ।
भारत सरकारसँग भएको सम्झौता अनुसार उक्त ढुंगा गिट्टी नेपाल सरकारको तर्फबाट कर विना नै उपलब्ध गराएको छ । जिल्ला अनुगमन समितिको निर्णय अनुसार भारतीय ठेकेदारले वागमति, लखन्देही, फूलजोर र कालिञ्जोर खोलाबाट १ लाख ९० हजार घनमिटर ढुंगागिट्टी संकलन गर्न अनुमति पाएको थियो । हाल सम्पर्क विहिन अवस्थामा रहेको भारतीय ठेकेदार कम्पनीले केही समयअघि जुटपानी, हरिपुर र  हरैया नजिक नवलपुर–मलंगवा सडक पुनर्निर्माणमा प्रयोग हुने ढुंगा गिट्टी थुपारेर राखेको छ ।
उक्त सडक निर्माणका कार्यको रेखदेख गर्ने सरकारी निकाय हुलाकी राजमार्ग आयोजना अन्तर्गत योजना कार्यालय जनकपुरका प्रमुख किशोरी रायले हालसम्म थुपारिएको ढुंगागिट्टीको परिमाण बताउन पटक–पटक ताकेता गर्दा पनि भारतीय ठेकेदारले जानकारी नदिएको बताए । ‘‘भारतीय ठेकेदारले थुपारिएको ढुंगागिट्टीको परिमाणबारे कुनै जानकारी नदिनु र त्यहाँँबाट चोरी हुन थाल्नुले ठेकेदार स्वयंको नियतमाथि शंका देखिएको छ ।’’ उनले भने–‘‘जसले गर्दा कति थुपारिएको थियो र कति चोरी भयो भन्ने बारेमा थाहा हुन गाह्रो हुन्छ ।’’
ढुंगागिट्टी थुपार्न परिमाण सहित अनुमति दिने जिल्ला अनुगमन समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी उमेश बस्नेतले भारतीय ठेकेदारले सुरुमा १ पटकमात्र जानकारी गराएको र त्यसपछि कहिल्यै जानकारी नदिएको बताए । प्रअिज घिमिरे उक्त समितिका अध्यक्ष हुन् भने प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक पनि सो समितिका सदस्य हुन् । नवलपुर–मलंगवा सडक पुनर्निर्माणको काम सम्पन्न गर्ने भारतीय ठेकेदारसँगको सम्झौता गत नोभेम्बर १२ अर्थात कात्तिक २६ गते नै सकिएकाले उक्त ढुंगागिट्टीको मुख्य संरक्षणकर्ता एवं हकदार जिल्ला अनुगमन समिति नै हुने जानकारहरु बताउँछन् ।
पक्राउ परेका अभियुक्तहरुको बयान अनुसार ढुंगागिट्टी चोरीमा कामदार खटाउने र सवारी साधन पठाउने मुख्य व्यक्ति चन्द्रिका साहले भने बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे लगायत अन्य सरकारी अधिकारी र सुरक्षा अधिकारीहरुलाई फोन गरेर एवं भेटेर प्रभाव पार्ने प्रयास गरेको बताईएको छ ।

No comments:

Post a Comment