उखु मूल्यमा बार्ता, विना निश्कर्ष टुंगीया, किसान चिन्तित
सर्लाही समाचारदाता
हरिवन, मङ्सिर २० । उखुको मूल्य तय गर्ने विषयमा उद्योगपति र कृषक प्रतिनिधिबीच विहिबार भएको वार्ता विना निश्कर्ष टुंगीएको छ । काठमाण्डौ स्थित अर्कीड होटलमा झण्डै ६ घण्टा चलेको वार्ता मूल्य तय गर्ने विषयमा विना निश्कर्ष टुगिएको हो । उद्योगपतिहरुले गतवर्षको मूल्य पनि दिन तयार नभएपछि वार्ता विना निश्कर्ष टुंगीएको उखु उत्पादक संघका अध्यक्ष कमिलमुनी मैनालीले बताए । ‘‘गतवर्षको भन्दा झण्डै दोब्बर बढी लागतमा उत्पादन भएको उखुको मूल्य बढाउन त परै जाओस्, गतवर्षको मूल्यबाट पनि घटाउनुपर्छ भनेर उद्योगपतिहरुको माग आयो ।’’ मैनालीले भने–‘‘त्यसैले मूल्यको विषयमा थप कुरा अगाडी बढ््नै पाएन र एकसाता भित्र पूनः बैठक बस्ने सहमतिमा वार्ता टुंगीयो ।’’
गतवर्ष नै किसानहरुले प्रति क्वीन्टल ४ सय ८१ रुपैयाको दरले उखुको मूल्य पाएका थिए । आगामी सिजनका लागि उखुको मूल्य तय गर्नेगरी बसेको दुईपक्षीय बैठकमा उद्योगपतिहरुले गतवर्षको जति पनि मूल्य दिन नसकिने मनसाय राखेपछि बैठकले मूल्यको विषयमा कुनै सहमति गर्न सकेन । ‘‘किसानहरुले गतवर्ष ४ सय ८१ रुपैयामा नै उखु किनेर तथा मलखाद, जोताई जस्ता कुरामा विगत वर्षहरु भन्दा झण्डै दोब्बर मूल्य तिरेर उखु उत्पादन गरेका छन् ।’’ अध्यक्ष मैनालीले भने–‘‘तर उद्योगपतिहरुले भने चिनीको भाउ नबढेको दलिल दिएर गतवर्षको भन्दा पनि मूल्य घटाउनुपर्ने लाजमर्दो कुरा राखे, जसले गर्दा थप कुराहरु अगाडी बढ्न पाएन ।’’ गतवर्षको भन्दा कम्तिमा १० प्रतिशत मूल्य बढ्नुपर्ने आफूहरुको माग रहेको मैनालीले बताए ।
आफूहरुले तत्काल उद्योग सञ्चालन गरौं र भारतको विहारका उद्योगहरुले जति मूल्य तय गर्छन् त्यसैलाई आधार मानेर पछि सहमति गरौला भन्दा पनि उद्योगपतिहरुले नमानेको मैनालीले बताए । ‘‘हाम्रोमा विगत ४ वर्षदेखि भारतको विहार स्थित रिगा लगायत चिनी उद्योगमा तय भएको भन्दा २४ रुपैया बढी मूल्य तय भईरहेको छ ।’’ अध्यक्ष मैनालीले भने–‘‘सोही आधारमा मूल्य पछि तय गर्नेगरी उद्योगचाँही तत्काल सञ्चालन गरौं भन्दा उद्योगपतिहरुले मूल्यमा सहमति भएपछिमात्र चलाउने कुरा गरे ।’’ भारतमा भन्दा नेपालमा उखु उत्पादनमा झण्डै दोब्बर बढी लागत भएकाले बढी मूल्य दिईनुपर्ने मैनालीको कथन छ । ‘‘चिनीको मूल्य बढेको र नबढेकोमा किसानलाई मतलब हुदैन ।’’ उनले भने–‘‘लागत चाँही बर्षेनी बढ्दै जाने अनि मूल्यचाँही घटाएर विक्री गर्न कदापी सकिदैन ।’’ उद्योगपतिहरुको विचार किसानलाई सिधै भँडखालोमा जाक्ने जस्तो नकारात्मक देखिएको समेत मैनालीले बताए ।
उद्योगपतिहरुले मूल्य कुनैपनि हालतमा बढाउन नसकिने बरु घटाउनुपर्ने माग राखेकाले वार्ता नमिलेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेदबहादुर बुढाथोकीले बताए । ‘‘उद्योगपतिहरुले किसानलाई अत्याएर भाउ घटाउने प्रपञ्च रचेको जस्तो देखियो ।’’ बुढाथोकीले आरोप लगाए–‘‘मजदुरहरुसँग बुझ्दा उद्योग चल्न अझै १५–२० दिन लाग्ने बताउँछन्, प्रशासनले भने उद्योग तयार भइसकेको हल्ला फिजाएर किसानहरुलाई अत्याउन खोजेको छ ।’’ मिलगेट उखु उत्पादक समितिले केही दिनअघि नै उखुको मूल्य प्रति क्वीन्टल ६ सय २५ रुपैया हुनुपर्ने माग सहित इन्दुशंकर चिनी उद्योगमा ज्ञापन पत्र दिईसकेको छ ।
वार्तामा उद्योगपतिहरुको तर्फबाट चिनी उद्योग संघका अध्यक्ष एवं एभरेष्ट सुगर मिल रामनगर महोत्तरीका सञ्चालक शशि अग्रवाल, उपाध्यक्ष एवं श्रीराम सुगर मिल गरुढा र इष्टर्न सुगर मिल मोरङका सञ्चालक दिवाकर गोल्छा, इन्दु शंकर चिनी उद्योग हरिवनका सञ्चालक राजेश केडिया र रिलायन्स चिनी उद्योग बाराका सञ्चालक राजकुमार अग्रवाल सहभागि थिए भने किसानहरुको तर्फबाट उखु उत्पादक संघका अध्यक्ष मैनाली, मिलगेट समिति हरिवनका अध्यक्ष बुढाथोकी, कोकिलानन्द उप्रेती लगायतको सहभागिता रहेको थियो । त्यस्तै बारा र महोत्तरीका किसान प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
मंसिर तेस्रो साता वित्न लाग्दा समेत उखु मूल्यको विवाद नसल्टिदा किसानहरु भने मर्कामा परेका छन् । तेस्रो वर्षको खुट्टी (उल्टाएर अर्को बाली लगाउनुपर्ने) उखु सुकेर नष्ट हुने अवस्थामा पुगेकाले किसानहरु पीडित बनिरहेका छन् । जतिसक्दो चाँडो उद्योग सञ्चालनमा आए त्यस्ता उखु काटेर विक्री गर्न किसानहरु हतारिएका छन् । हरेक वर्ष उखुको मूल्य विषयमा उद्योगपतिहरुसँग कुरा नमिल्दा उद्योग सञ्चालनमा ढिलाई हुने गरेकाले किसानहरु मर्कामा पर्दै आएका छन् । जिल्लाको दक्षीणी क्षेत्रका किसानहरुले त स्थानीय सख्खर उद्योगहरुमा प्रति क्वीन्टल ३ सयमै उखु विक्री सुरु गरिसकेका छन् ।
इन्दु शंकर चिनी उद्योगका महाप्रबन्धक विजयकान्त झाले उद्योग सञ्चालनका लागि तयारी अवस्थामा रहेको दावी गरे । उक्त उद्योगले बुधबार नै डोंगा पूजा गरिसकेको छ । गतवर्ष पुष ३ गतेदेखि इन्दु शंकर चिनी उद्योग सञ्चालनमा आएको थियो । सर्लाहीमा मुलुकभरीमा सबैभन्दा बढी अर्थात १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । इन्दु शंकरले गतवर्ष साँढे २६ लाख क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
No comments:
Post a Comment