एसपीले समाते गिटी चोर्ने स्काभेटर
सर्लाही समाचारदाता
हरिपुर, मङ्सिर २५ । नवलपुर–मलंगवा सडकखण्ड पूनर्निर्माण गर्ने भारतीय ठेकेदारले थुपारेको ढुंगा–गिटी चोरी गर्न प्रयोग भईरहेको दुईवटा सवारी साधन प्रहरीले मंगलबार राती नियन्त्रणमा लिएको छ ।
हरिपुर स्थित सिद्धि विनायक एग्रिगेट गिटी–ढुंगा क्रसर उद्योग नजिक थुपारेर राखेको थुप्रोबाट स्काभेटरमार्फत ढुंगा गिटी चोरी गर्दै गरेको अवस्थामा दुईजना चालक सहित एक स्काभेटर र एक टिफर पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुक नेतृत्वको प्रहरी टोलीले मंगलबार राती साँढे ९ बजे उक्त सवारीसाधन सहित
त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । चालकलाई प्रहरी उपरीक्षक धानुक आफैले लगेका छन् भने सवारीसाधनलाई इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक गोपाल प्रसाद पोखरेललाई फोन गरेर नियन्त्रणमा लैजान निर्देशन दिएका थिए । झण्डै दुईसाता अघिदेखि चोरी भईरहेपनि स्थानीय इलाका प्रहरी कार्यालय हरिपुरले कुनै कार्वाही अगाडी बढाएको थिएन । ईप्रका हरिपुरकै मिलेमतोमा उक्त चोरी भएको अनुमान स्थानीय बासिन्दाले गर्दै आएका थिए ।
नजिकै सञ्चालित सिद्धिविनायक एग्रीगेट ढुंगा गिटी क्रसर उद्योगबाट आफूहरुलाई पठाएको पक्राउ परेका चालकले बताएका छन् । उक्त क्रसर उद्योग हरिपुरका चन्द्रीका साहको हो । प्रहरी उपरीक्षक धानुकले कसले भनेर तिमीहरुले गिटी उठाएको भनेर सोध्दा साहुले अह्राएका कारण उठाएको भन्ने जवाफ चालकहरुले दिएका थिए । अनि तिमिहरुको साहु को हो भन्ने एसपी धानुकको प्रश्नमा उनीहरुले चन्द्रीका साह भनेर जवाफ दिएका थिए । भारतीय ठेकेदारले थुपारेको हरिपुर स्थित ढुंगागिटीको थुप्रोबाट विगत दुईसाताअघिदेखि दिनदहाडै स्काभेटर लगाएर नै चोरी भईरहेको स्थानीय बासिन्दाले बताएका छन् । त्यहाँबाट एकसय टिफरभन्दा बढी गिट्टी चोरी भएको अनुमान गरिएको छ । गत सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा समेत भारतीय ठेकेदारले थुपारेको ढुंगा गिटी चोरी भईरहेको गुनासो आएको थियो ।
भारत सरकारसँग नेपाल सरकारको सम्झौता अनुसार उक्त ढुंगा गिट्टी भारतीय ठेकेदार कम्पनी भिष्वा कन्स्ट्रक्सनलाई कर विना नै उपलब्ध गराइएको हो । जिल्ला अनुगमन समितिको निर्णय अनुसार भारतीय ठेकेदारले बागमति, लखन्देही, फूलजोर र कालिञ्जोर खोलाबाट १ लाख ९० हजार घनमिटर ढुंगागिटी संकलन गर्न अनुमति पाएको थियो । हाल सम्पर्क विहिन अवस्थामा रहेको भारतीय ठेकेदार कम्पनीले केही समयअघि जुटपानी, हरिपुर र हरैया नजिक नवलपुर–मलंगवा सडक पुनर्निर्माणमा प्रयोग हुने ढुंगा गिटी थुपारेर राखेको छ ।
No comments:
Post a Comment